शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बार्ता निष्कर्षविहिन भएपछि वीरगन्ज बजार फेरि ठप्प

मङ्गलबार, ०५ माघ २०७२, १५ : १०
मङ्गलबार, ०५ माघ २०७२

वीरगन्ज– सरकारसँगको वार्ता निष्कर्षविहिन भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज बजार ठप्प पारेको छ । मंलवार विहानैदेखी मोर्चाका नेता कार्यकर्ताहरुले वीरगंजको घण्टाघर, माइस्थान, मुर्ली र पावहाउस चोकमा टायर बाले प्रदर्शन गरेका छन् । वीरगन्जमा करिब दुइ साता देखि खुकुलो देखिएको आन्दोलनलाई मोर्चाले आजबाट फेरी शसक्त बनाएको हो । मंगलबार विहान गौतम स्कुलका बस चालकहरुलाई रोकेर बस नचलाउन मोर्चाको कार्यकर्ताले धम्कि दिएका थिए । मोर्चाको कार्यकर्ताको धम्कीपछी गौतम स्कुलका विद्यार्थिहरु अलपत्र परेका छन् । अन्य विद्यालयका गाडी निर्वाध चलेपनी गौतम माविको लाई गाडी चलाउन धम्कि दिईएको उल्लेख गर्दै शिक्षक रमेश शर्माले भने, ‘हाम्रो विद्यालयको बस नचलाउन भनिएको छ, अब विद्यार्थिहरु कसरी स्कुल आउँछन् ?’ स्कुलबस चल्न नदिएपनी पठन–पाठन बन्द नगरिएको शर्माले जानकारी दिए । सरकारसंगको वार्ता निष्कर्ष बिहिन भएकाले आन्दोलन शसक्त पारिएको मोर्चाका नेता एंव सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले जानकारी दिए । मोर्चाको प्रदर्शनका कारण वीरगन्ज बजारमा विहानैदेखी जिप, कार , स्कुल बस , सिटिराइड बस र टाटासुमो जस्ता सवारी साधन गुडेका छैनन् । उनिहरुले बिहान घण्टाघर चोकमा ना १ च २३५५ नम्बरको जिपमा सामान्य तोडफोड गरेका थिए । दुइ साता पहिले स्थानीय व्यपारीहरुको सहमतिमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले दिउसो दुइ बजे देखि बजार खुल्न दिने निर्णय गरेपछि वीरगन्जका बजार र पसलहरु नियमित रुपमा खुल्दै आएको थियो । सीमाङ्कन र संविधान प्रति असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको आज एक सय ५७ दिन पुगेको छ । यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी आज एक सय १८ औं दिन पनि जारी रहेको छ । मधेसी दलहरुले गत असोज ७ गतेदेखि वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् । मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधान वीरगन्ज छिर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप