सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप

प्रधानमन्त्री कार्यालयसहित ४ ठाउँमा उजुरी
शनिबार, ०९ साउन २०८३, २१ : ०९
शनिबार, ०९ साउन २०८३

सारांश

  • गौशालाको रासबिता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रालिमा एक व्यक्तिले प्रहरी हुँ भन्दै कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप छ ।
  • साउन ७ मा आरिफ रहमानले प्रहरी हुँ भन्दै कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै ट्राभल्सले विभिन्न निकायमा उजुरी दिएको छ ।
  • उजुरीमा आरिफले अनुमति बिना कार्यालयमा प्रवेश गरी महिला कर्मचारीलाई हातपात, गालीगलौज र डर त्रास देखाएको आरोप छ ।

काठमाडौँ । गौशालामा रहेको रासबिता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रालिमा एक जना व्यक्तिले ‘प्रहरी हुँ’ भन्दै कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोप छ । साउन ७ मा आरिफ रहमानले ‘प्रहरी हुँ’ भन्दै आफ्ना कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै ट्राभल्सले विभिन्न निकायमा उजुरी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र आईजीपीको सचिवालय ट्राभल्सले उजुरी दिएको हो । रासबिता ट्राभल्ससँगै आनन्द लोक नामको लज छ । साउन ७ मा लज सञ्चालक कैमुला आलमले लजको कोठामा उडुस मार्ने औषधी छर्किएका थिए ।

उडुस मार्ने औषधीको असरबाट सँगै रहेको ट्राभल्समा कार्यरत कर्मचारीहरूलाई असर गरेको भन्दै लज सञ्चालकलाई त्यस्तो औषधी रातिको समयमा मात्र प्रयोग गर्न अनुरोध गर्दा आरिफ आएर धाकधम्की दिएको ट्राभल्सले आफ्नो उजुरी पत्रमा उल्लेख गरेको छ ।

उजुरीमा उल्लेख भएअनुसार उडुसको औषधी राति छर्किन अनुरोध गर्दा लज सञ्चालक कैमुला आलम घुनियाले उनका छोराहरू आयुष रहमान र आरिफ रहमान सहित धेरै सङ्ख्यामा मानिसहरू बोलाएर कार्यालयमा प्रवेश गरेर कर्मचारीहरूलाई धाकधम्की दिएका थिए।

आरिफले अनुमति बिना आपराधिक रूपमा कार्यालयमा प्रवेश गरेर ‘नेपाल प्रहरीको सदस्य हुँ’ भनेर महिला कर्मचारीलाई हातपात गरी गालीगलौज र डर त्रास देखाएको आरोप छ । उजुरकर्ता कम्पनीले आरिफलाई आफ्नो पदको दुरुपयोग गरेर मुलुकी फौजदारी संहिता २०७४ को दफा २८४ अनुसार आपराधिक प्रवेश गर्न नहुने, २८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने र दफा ११८ अनुसार अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गर्न माग गरेको छ।

प्रहरी स्रोतका अनुसार आरिफ रहमान प्रहरीको प्राविधिक समूहतर्फका कर्मचारी हुन् । ट्राभल्स र लजका सञ्चालकको बिचमा विवाद भएकै दिन प्रहरी वृत्त गौशालाले दुवै पक्षलाई राखेर छलफल गराएको बताइएको छ।

Rasbita 1 (2083)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप