शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मेस्सी र जारालाई पछि छाड्दै रोनाल्डोको नयाँ किर्तिमान

आइतबार, २३ फागुन २०७२, १५ : ३४
आइतबार, २३ फागुन २०७२

काठमाडौं – रियल म्याड्रिडका फ्यानहरु जहिले पनि आफ्नो टिमले उपाधि जितोस् भन्ने चाहन्छन् । टिम उपाधिविहिन बने आफ्नै टिमविरुद्ध खनिन पछि पर्दैनन् । शनिबार रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा त्यस्तै माहोल थियो । लिगमा शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा निकै पछि परेपछि सँधै भरिभराउ हुने स्टेडियममा लगभग २० हजार सिट खाली थियो । केही समर्थकहरुले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजविरुद्ध ब्यानर नै बोकेका थिए । खेलको पहिलो हाफमा खासै राम्रो प्रदर्शन गर्न नसकेको आफ्नो टोलीविरुद्ध समर्थकहरु लगातार सिठ्ठी फुकिरहेका थिए । सबैको निसानामा थिए, क्रिस्टियानो रोनाल्डो । सेल्टाभिगो विरुद्धको पहिलो हाफमा । रोनाल्डोले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । रियलले एक मात्र गोल गर्न सकेको थियो, त्यो पनि पेपेले । तर, दोस्रो हाफमा रोनाल्डोले आफ्ना आलोचकहरुलाई गतिलो जवाफ फर्काए । १५ मिनेटको अन्तरालमा ३ गोल गर्दै, त्यसपछि अर्को एक गोल गर्दै एकै खेलमा ४ गोल गरे । पहिलो गोलगरेपछि रोनाल्डोले उक्त गोल आफ्ना आलोचक समर्थकहरुलाई टक्राए ।

दोस्रो गोलसँगै उनले लिगमा आफ्नो व्यक्तिगत गोल संख्या २ सय ५० पुर्याए । उनीभन्दा अघि एथ्लेटिको बिल्बाओका स्ट्राइकर टेल्मो जारा (२५१ गोल) र बार्सिलोनाका लियोनेल मेस्सी (३०४) गोल अघि थिए । तर, त्यसपछि थप दुई गोल गर्दै जारालाई पनि पछि छाड्दै आफ्नो व्यक्तिगत गोल संख्या २ सय ५२ पुर्याए । लिगमा सबैभन्दा चाँडो २ सय ५० गोल पुग्ने किर्तिमान पनि रोनाल्डोले बनाए । मेस्सीलाई २ सय ५० गोल गर्न २ सय ८९ खेल तथा जारालाई २ सय ६९ खेल लागेको थियो तर रोनाल्डोले यो उपलब्धि मात्र २ सय २८ खेलमा पुरा गरे । लिगमा यो उनको १६ औं ह्याट्रिक थियो । उनले यसमा पनि मेस्सीलाई पछि पारे । मेस्सीको १५ ह्याट्रिक रहेको छ । रियल म्याड्रिडको करियरमा रोनाल्डोले एकै खेलमा ४ गोल गरेको यो छैटौं अवसर हो । उनले यस सिजन गोल संख्याको आधारमा लुइस सुवारेजलाई पनि पछि छाडेका छन् । रियलले अब च्याम्पियन्स लिगमा एएस रोमाको सामना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप