शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजन मुकारुङबारे खगेन्द्र संग्रौला : ‘कुनै जातिलाई मार्नु छ भने भाषा मारे हुन्छ’

मङ्गलबार, २५ फागुन २०७२, १२ : ०५
मङ्गलबार, २५ फागुन २०७२

व्यक्तिको बारेमा बोल्न धेरै अफ्ठ्यारो हुन्छ । त्यसमा पनि एउटा विशिष्ट संस्थाले, विशिष्ट प्रतिभा रोजेर पुरस्कृत गरेको दिन, शिर उठाएको दिन बोल्न झन् गाह्रो हुन्छ । जसले पुरस्कार पाउँदैछ, उसको जति प्रशंसा गरे पनि उसलाई के लाग्छ भने प्रशंसा त पुगेन । उसको प्रशंसा गरिरहँदा, उसले जति नै योगदान गर्ने, अगाडि बसिरहनेलाई के लाग्छ भने प्रसंशा जति जम्मै त्यता खन्याएपछि हाम्रो भागमा त बाँकी नै रहेन । त्यसैले बडो सतर्कतासाथ म केही कुरा भन्छु । राजन मुकारुङ । घर भोजपुर । सँगै श्रवण मुकारुङ आउँछ । श्रवण मुकारुङले एकचोटि पहिचानको कुरा गर्दा बडो मार्मिक र रोचक कुरा गर्नुभो । श्रवण घर जानुभएछ । घर यसो हेरेको, बाउले बनाएको घर त छैन । भत्काइसक्यो भाइले । त्यो घरमा अर्को पक्की घर बनेको छ । बाउबाजेले रोपेका ठूल्ठूला रूखहरू थिए बारीमा । रूख हेर्यो, सबै नाश गरेको छ । घरमुन्तिर ठूलो ढुंगा थियो, ढुंगा पनि छैन । श्रवण मुकारुङलाई के लाग्यो भने मेरो भाइले सबै नाश गर्यो । बाउबाजेले आफ्नो पौरखको रूपमा निर्माण गरेको घर, भुइँचालोले थङ्थिलो पारेको भए पनि घर त थियो, भत्कियो । अर्को सन्दर्भमा राजन मुकारुङलाई भेटेँ । र, भनें, ‘दाजु त यसो भन्छन् नि ।’ राजनको आफ्नै मन्तव्य छ । उहाँले भन्नुभो, ‘पुस्तक लेखेँ । संजोगले, दुर्घटनाले, काकतालीले, भाग्यले मदन पुरस्कार पाएँ । पुस्तक खुब बिक्यो । २५–३० लाख रोयल्टी आयो । त्यसले घर बनाएँ । घर बन्नुभन्दा अगाडि यो घर मेरो बाउको नाम लिएर फलानुको घर भनिन्थ्यो । मैले घर बनाएपछि अहिले गाउँका मान्छेले भन्छन्– यो राजन मुकारुङको घर हो ।’ सामान्यतः सानो गाउँको मान्छे अलिकति नजिकको बजारमा सर्छ । बजारको मान्छे जिल्ला सदरमुकाम सर्छ । सदरमुकामको मान्छे काठमाडौं आउँछ । काठमाडौं आएपछि ब्रिटेन, क्यानडा, अमेरिका वा अष्ट्रेलिया जान्छ । राजन मुकारुङ त्यो मान्छे हो, जो साहित्यमा नाम कमाइसकेपछि, योगदान गरिसकेपछि, पुरस्कार पाएर पैसा लिइसकेपछि बाहिर ताकेन, भोजपुर फर्केर गयो । किन गयो होला ? त्यसको केही गम्भीर अर्थ छ भन्ने मलाई लाग्छ । राजन मुकारुङले सिर्जनशील अराजकताको आन्दोलन प्रारम्भ गर्नुभो । सिर्जनशील अराजकतासँग नश्लबोध भन्ने शब्द जोडिएको थियो । उहाँले कविता लेख्नुभो, वैचारिक कर्म गर्नुभो । जस पाउनुभो, अपजस पाउनुभो, जीवनको लामो समय लडिरहनुभो । त्यो सम्पूर्ण लडाईं के थियो ? खसआर्यको केन्द्रीकृत समाजले दमन गरेको, विकासको प्रतिष्पर्धामा पछि परेको कारण सधैँ हेपिएको, ठगिएको एउटा जाति र संस्कृतिको सामूहिक मनोविज्ञान निर्माण गर्ने प्रयत्न सिर्जनशील अराजकताले गर्यो । त्यसैकारण राजन मुकारुङले आफ्नो जिल्लामै बस्ने संकल्प गर्नुभो । जिल्लामा घर बनाउनुभो । त्यसको ठूलो अर्थ छ भन्ने मलाई लाग्छ । त्यो ठाउँप्रतिको प्रेम, जातिप्रतिको प्रेम अर्थात पुख्र्यौलीप्रतिको प्रेम हो । इतिहासमा जे जे कुरा दमन भएका छन्, त्यसलाई माटोमुनिबाट खनेर निकाल्दै, चिहानमुनिबाट खनेर निकाल्दै, मेरो पुर्खा कहाँबाट कहाँ आइपुग्यो, त्यसले शासकहरूले जति नै अवसर पाएको भए त्यो कहाँ पुग्न सक्थ्यो भन्ने चिन्ता गर्नु नै जनजातिको पहिचानको चिन्ता हो । जनजातिको पहिचानको अभियान हो । त्यसैले राजनको ‘ गाउँ फर्क’ स्तुत्य छ । मलाई लाग्छ, त्यो अनुकरणीय छ । एक समयमा राजन मुकारुङ र म सैनिक आवाजमा सँगै काम गथ्र्यौैं । ०५५/५६ सालको कुरा हो । राजन त्यसको सम्पादकको रूपमा काम गर्नुहुन्थ्यो । उहाँको अभियानप्रति मेरो समभाव र सहानुभूति भएकाले म त्यसमा लेख्थेँ । उहाँसँग मेरो भेटघाट, चिनजान त्यहाँबाट भएको हो । नेपथ्यमा, खम्बुवानले बम पड्काएको थियो । त्यो बमको आवाज, प्रतिध्वनीको प्रभाव राजन मुकारुङमा परेकै हो । त्यसैताका तीन जना (राजन मुकारुङ, उपेन्द्र सुब्बा, हाङयुग अज्ञात) ले सिर्जनशील अराजकता भन्ने अभियान प्रारम्भ गर्नुभो । सिर्जनशील अराजकता सुन्दाखेरि असजिलो लाग्छ । त्यसमा अराजकता भन्ने शब्द छ । सँगै त्यसमा नश्लवाद पनि जोडियो । दक्षिण अफ्रिकामा नेल्सन मण्डेला लामो समयदेखि गोराहरूको अत्याचारविरुद्ध, गोराहरूले कालाहरूमाथि थोपेरेको नश्लवादविरुद्ध लडिरहेका थिए । नेपालमा के बुझियो भने नश्लवाद भनेको जातिवाद हो । नश्लवाद भनेको विखण्डन हो । नश्लवाद भनेको घृणाको खेती हो । राजन मुकारुङहरूलाई लखेटियो । लेखक दुईथरिको हुन्छ । एउटा, मालअड्डाको लेखन्दास हुन्छ । अर्को, सिर्जनशील लेखक । मालअड्डाको लेखन्दास सधैँ अनुशासित हुन्छ । त्यसको एउटा फम्र्याट हुन्छ । फम्र्याटभन्दा एक इन्च, एक सुता पनि बाहिर जाँदैन । त्यसले सिर्जना गर्नुपर्दैन । कल्पना गर्नुपर्दैन । आफ्नो लेखमा सपनाहरू राख्नुपर्दैन । सुरु गर्छ– लिखितम् धनीका नाम... । तीन पुस्ते दियो । जग्गाको चारकिल्ला ठोकिदियो । त्यो सबै लेखेर गतेबार के–के लेखेर शुभम् लेख्छ र लामो धर्को तान्छ । फड्के किनारामा साक्षी हुन्छ । त्यो अनुशासित लेखन हो । तर सिर्जनशील लेखन सधैँ अराजक हुन्छ । त्यसैले राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङयुग अज्ञातले यो शब्दचयन सगजताका साथ गर्नुभएको छजस्तो लाग्छ । त्यहाँ अराजकतामात्र छैन, सिर्जनशीलता छ । प्रत्येक सिर्जनशील लेखक अराजक हुन्छ । त्यसले स्थापित परम्परा, परम्पराले निर्धारण गरेका रुढीहरू, कुसंस्कारहरू, अन्धविश्वासहरू, दमनका सम्पूर्ण उपकरणहरूमाथि प्रश्न गर्छ । प्रत्येक सिर्जनशील लेखक या स्रष्टा त्यो बागी हुन्छ । त्यो विद्रोही हुन्छ । त्यसले विवाद गर्छ, प्रतिवाद गर्छ । आवश्यक पर्यो भने त्यसले प्रतिरोध पनि गर्छ । सिर्जनशील अराजकता भनेको विवादको चेतना हो, प्रतिरोधको चेतना हो । त्यो प्रतिरोधको चेतना, विवादको चेतना उहाँहरूले प्रारम्भ गर्नुभो । अहिले पहिचानवादी हुन सजिलो छ । माओवादीको जनयुद्धपछि र जनजातिको विभिन्न समूहहरूले नेपालको इतिहास परिवर्तन गर्न नेपालको राज्यअन्तर्गत समानताको अधिकार प्राप्त गर्नको निम्ति सशस्त्र संघर्षसमेत सुरु गरेपछि अहिले पहिचानको बारे बोल्न सजिलो छ । त्योबेला सजिलो थिएन । सजिलो अवस्थामा समाजका धेरै मान्छेहरू ठूला–ठूला कुरा गर्छन् । क्रान्तिकारी कुरा गर्छन् । बलिदानका कुरा गर्छन्, हस्तक्षेपका कुरा गर्छन् । तर संकटका बेलामा अत्यन्त अल्पमतमा रहेर ठूला बहुमतको आक्षेप सहँदै, तिनका आरोपहरू सहँदै, तिनका लखेटाइहरू सहँदै कुनै विचारको पक्षमा उभिनु, विचारको कुरा गर्नु सजिलो छैन । राजन मुकारुङ त्यो अप्ठ्यारो छिचोलेर यहाँसम्म आउनुभएको छ ।

अराजक भनियो, केमा अराजक ? भाषामा, संस्कृतिमा, परम्परा र संहिताहरूमा ? केमा ? यो अराजकता वास्तवमा सत्तामाथि गरिएको प्रश्न थियो । त्यो प्रश्न के हो ? पृथ्वीनारायणले नेपाल एकीकरण गरेपछि तथाकथित एकीकरण प्रक्रियाको विरुद्धमा सबैभन्दा बढी लिम्बू राई नै लडेका हुन् । तिनको राज्य अपहरण गरियो । तिनको भूमि अपहरण गरियो । ब्रिटिस साम्राज्यअन्तर्गत बन्दुक बोकाएर तिनलाई आफूले नचिनेको देशको विरुद्धमा लड्न पठाइयो । त्यो प्रक्रियामा तिनको धर्ममाथि दमन भो । संस्कृति तिनीहरूमाथि लादियो । बाहिरबाट फर्कदाखेरि हिन्दू परम्पराअन्तर्गत तिनको पतिया गरियो । तिनले आफूले नचिनेको शत्रुका विरुद्धमा ठूलो वीरता प्रदर्शन गरे । र, ठूला वीरगाथा निर्माण गरियो । त्यो वीरगाथा शासकहरूले बेचेरै खाए । वीर गोर्खाली भनियो । वीर गोर्खालीको फलमासु कसले खायो ? त्यसले खायो, जो सत्तामा थियो । त्यसैले इतिहासमा भाषा दमनमा परेको, सभ्यता दमनमा परेको, राज्यबाट बहिष्कृत भएको जुन एउटा जाति छ, त्यो जातिको परम्पराको उत्खनन, उसको सभ्यताको अन्वेषण, जे जे कुराहरू थिचिए र मिचिए, तिनलाई पुनर्जीवन दिने, तिनमा सञ्जिवनी भर्ने प्रयत्न जनजाति महलका चिन्तकहरूले, स्रष्टाहरूले गरिरहेका छन् । तीमध्येमा एकजना राजन मुकारुङ एकजना हुनुहुन्छ । सत्ता सधैँ मान्छेको मुख थुन्छ । राजतन्त्र, गणतन्त्र, पुँजीवाद, समाजवाद, फासीवाद । सत्ताको नाम जेसुकै भए पनि सत्ताले सामान्यतः मान्छेको मुख थुन्ने चेष्टा गर्छ । सत्ताले लेखकलाई आज्ञाकारी बनाउन चाहन्छ । भन्छ, ‘म जे भन्छु, त्यो मान । मलाई जे मन पर्दैन, त्यो नगर । मसँग आँखा नजुधाऊ, मसँग प्रश्न नगर । मेरो राज्यका नीतिहरु र नियमहरू जे छन्, त्यसलाई चुपचाप पालना गर ।’ तर प्रत्येक वैज्ञानिकले, प्रत्येक चिन्तकले, प्रत्येक स्रष्टाले ती सबै कुराको अवज्ञा गर्छ । आदेशको अवज्ञा गर्छ । शासकसँग आँखा जुधाउँछ । तानाशाहसँग संवाद गर्छ । त्यसले जोखिम उठाउँछ । जसले जोखिम उठाउँदैन, त्यसले न त विज्ञानको क्षेत्रमा कुनै नयाँ कुराको आविष्कार गर्छ, न कलाको क्षेत्रमा कुनै सिर्जना गर्न सक्छ । नेपालको अहिलेको इतिहासमा सबैभन्दा रोचक कुरा के छ भने अहिलेको सौन्दर्य चिन्तनमा र कलाको सिर्जनमा जनजाति महलका युवाहरू अगाडि छन् । तिनले हस्तक्षेप गरेका छन् । खसआर्यको काठमाडौंको एकात्मक केन्द्रीकृत शासनअन्तर्गत अभिव्यक्ति तिनको बन्देजमा थियो । तिनको नियन्त्रणमा थियो । त्यसमाथि हस्तक्षेप गरिएको छ । नेपाली साहित्यमा सबैभन्दा जीवन्त, सबैभन्दा स्पन्दनशील, सबैभन्दा स्मरणीय चिज कसैले लेखिरहेको छ भने जनजाति महलका स्रष्टाहरूले लेखिरहेका छन् । यो सुन्दाखेरि मेरो जातका खसआर्यहरूलाई असजिलो लाग्न सक्छ । तिनले भन्दा हुन्–हामी त मनुका सन्तान, शास्त्र हाम्रो ठेक्कामा छ, यिनको काम त बन्दुक चलाउने हो । यिनको काम आदेश मान्ने हो । यो परम्परा संस्कृति बसेको समाजमा मैले यसो भनिरहँदा शासक वर्गको लेखकलाई अप्ठेरो लाग्छ । तर म शासक वर्गकै लेखक हुँ । नेपालको इतिहासको शल्यक्रिया भइरहेकोे समाजमा मैले यसो भनिरहँदा शासक वर्गको लेखकलाई अप्ठेरो लाग्छ । नेपालको इतिहासको शल्यक्रिया भइरहेको छ । टाउको टेकाइएको इतिहासलाई खुट्टा टेकाएर उभ्याउने चेष्टा भइरहेको छ । नेपाल केन्द्रीकृत परिपाटीबाट संघीयतामा गइरहेको छ । राज्यबाट बाहिर परेको प्रत्येक व्यक्ति र समुदायले केही कुरा खोजेको छ । त्यसले पहिचान खोजेको छ, त्यसले अस्तित्व खोजेको छ, त्यसले अस्मिता खोजेको छ । त्यसले स्वराज, स्वायत्तता र आत्मनिर्णयको अधिकार खोजेको छ । जनजातिहरूले विभिन्न नाममा साहित्य कलामा जे आन्दोलन गरिरहेका छन्, त्यो आन्दोलनको प्रयोजन त्यही हो । पहिचान, अस्तित्व त विषय प्रवेशमात्रै हो । त्यसको गन्तव्य के हो ? इतिहासमा भएका गल्तीहरू गल्ती गर्नेहरूले सच्याऊ । तिमी पश्चाताप गर । तिमी हामीलाई क्षतिपूर्ति देऊ । दावी त्यो हो पहिलो ।

आखिरमा म एउटा कुरा भन्छु, श्रवण मुकारुङ, राजन मुकारुङ मेरा प्रिय लेखकहरू हुन् । श्रवण मुकारुङ कांग्रेसमा गए । मैले टिप्पणी गरेँ । मैले लेखेँ, ‘मेरो प्रिय कवि नर्कमा गयो ।’ म त देखेको कुरा टिप्ने, टिपेको कुरा लेख्ने । कोही रिसाओस्, खुसाओस्, मलाई त्यत्रो चिन्ता हुँदैन । मेरो काम यथार्थ भन्ने हो । मसँग खुब रिसानुभो श्रवण । लेख्नुभो, ‘आफूचाहिँ प्रचण्डको पुच्छर भएर चुनावको प्रचार गर्दै हिँड्ने ।

दोस्रो, तिनीहरूले अब राज्य मागेका छन् । यो राज्य एउटा जातका केही हजार मानिसहरूले कब्जा गरे । राज्यको शक्ति, सत्ता, साधनस्रोत, संस्कृति र सुख तिनको एकलौटी भयो । सारा मानिसहरू ठगिए । त्यसरी ठगिनेहरूमा दलित, उत्पीडित, महिला, जनजाति, मधेसी, सिमान्तकृत स–साना मानिसहरू सबै पर्छन् । यो पहिचान र अस्तित्वको दावी राजन मुकारुङसम्बद्ध सानो समुदायको दावीमात्रै होइन । यो ती सबैको दावी हो, जो राज्यबाट पाखा परिएका छन् । इतिहासमा जो ठगिएका छन् । विकासका प्रतिष्पर्धामा जो पछाडि परेका छन् । त्यसले यो पहिचानको प्रश्न एउटा समुदाय, क्षेत्रको प्रश्न होइन । यो नेपालको नयाँ पहिचानको खोजी हो । नेपालको नयाँ पहिचानको प्रश्न हो । म आफ्नाबारे अलिकति कुरा गर्छु । म पाँचथरमा जन्मेको, पाँचथरमा हुर्केको । मैले एसएलसी आइएसम्म त्यहीँ पढेको । सानो छँदाखेरि मेरो क्लासमा पाँच–सात जना बाहुन थिए, तीन–चार जना जनजाति थिए । एउटा सार्की थियो । म सधैँ पहिला हुन्थेँ क्लासमा । म धेरै प्रतिभाशाली भएर पहिला भएको होइन । म धेरै मिहिनेती भएर पहिला भएको होइन । म पहिला भएँ, पाठ्यपुस्तक मेरो भाषामा थियो । देशको कानुन मेरो भाषामा थियो । गोरखापत्र मेरो भाषामा थियो । राजपत्र मेरो भाषामा थियो । चण्डी, रुद्री, रामायण, महाभारत सबै मेरो भाषामा थिए । पाठ्यपुस्तक बुझ्न मलाई असजिलो भएन । यद्यपि पाठ्यपुस्तकमा लेखिएका कुराहरू मेरो गाउँको अर्थनीति, संस्कृति, सभ्यता र जीवनसँग धेरै सम्बन्धित थिएन । तर त्यो मेरो भाषा भएकाले मलाई पास हुन सजिलो भयो । सबै फेल भए । मेरो पुस्ताको उपेन्द्र सुब्बा त्यहीँ छुट्यो, हरायो । मेरो पुस्ताको स्वप्निल त्यहीँ छुट्यो, हरायो । मेरो पुस्ताका श्रवण मुकारुङ, राजन मुकारुङ, राबत, आहुति सबै छुटे, हराए । म त यहाँ आइपुगेँ । मलाई केले ल्याइपुर्यायो ? भाषाले ल्याइपुर्यायो । कुनै जातिलाई मार्नु छ भने त्यसको भाषामा मारे पर्याप्त हुन्छ, केही पनि गर्नुपर्दैन । तर अहिले आफ्नो दबिएको भाषालाई ब्यूँझाउनका निम्ति, सतहमुनि गाडिएको सभ्यतालाई सतहमा ल्याउनको निम्ति नेपाल राज्यको छाताअन्तर्गत समान अधिकार प्राप्त गर्नका निम्ति धेरै मानिस आन्दोलित भएका छन् । तिनको आन्दोलनलाई आवाज दिनका निम्ति कविहरू, चिन्तकहरू, लेखकहरू कटिबद्ध भएका छन् । संग्राममा भिडिरहेका छन् । त्यसरी भिड्नेमध्येमा एक जनामा राजन मुकारुङ हुनुहुन्छ । सामान्यतः धेरै स्रष्टाहरू सिर्जना गर्छन् । ती मौरीजस्तै हुन्छन् । मौरी फूलमा बस्छ, ढलमा बस्छ, सरस ठाउँमा बस्छ, रुखो ठाउँमा पनि बस्छ । त्यसले कूट बटुल्छ । अन्तःचेतनाद्वारा रासायनिक प्रक्रियाबाट त्यसले कूटलाई महमा परिणत गर्छ । सामान्यतः सर्जकहरू त्यस्ता हुन्छन् । राजन मुकारुङ सर्जकमात्र हुनुहुन्न, चिन्तक पनि हुनुहुन्छ । उहाँले नेपालका इतिहास पढ्नुभएको छ । नेपाली साहित्यका प्रवृत्तिहरू ठम्याउनुभएको छ ।समकालीन विश्व साहित्यका अनेक कुरा यति धेरै पढ्नुभएको छ कि उहाँले उल्लेख गरेका धेरै लेखकहरूको बारे मैले केही पनि पढेको छैन । मलाई मान्छेहरू कति न पढेको, खसआर्य समाजको पढ्ने अवसर पाएको ठूलो विद्वान भन्छन् । उहाँले यो पुस्तकमा जति नामहरू लिनुभएको छ, धेरै त मैले पढेका छैनन् । उहाँले व्यापक पढ्नुभएको छ । त्यसैले उहाँ एकसाथ चिन्तक हुनुहुन्छ । आफ्नो लेखनको जे अभिप्राय छ, जे अभिष्ट छ, जे लक्ष्य छ, त्यसलाई उनले तथ्य र तर्कको आधारमा उहाँले भन्न सक्नुहुन्छ । धेरै स्रष्टाहरू त्यो काम गर्न सक्दैनन् । त्यसैले एक अर्थमा राजन मुकारुङ भनेको अहिलेको नेपाली साहित्यमा जुन नयाँ सौन्दर्यको खोजी भइरहेको छ, नयाँ सौन्दर्यको खोजी प्रक्रियामा नयाँ सौन्दर्यचेतनाको प्रक्षेपण गर्ने, स्थापित गर्ने र प्रचार गर्ने एकजना पात्र पनि हुनुहुन्छ । आखिरमा म एउटा कुरा भन्छु, श्रवण मुकारुङ, राजन मुकारुङ मेरा प्रिय लेखकहरू हुन् । श्रवण मुकारुङ कांग्रेसमा गए । मैले टिप्पणी गरेँ । मैले लेखेँ, ‘मेरो प्रिय कवि नर्कमा गयो ।’ म त देखेको कुरा टिप्ने, टिपेको कुरा लेख्ने । कोही रिसाओस्, खुसाओस्, मलाई त्यत्रो चिन्ता हुँदैन । मेरो काम यथार्थ भन्ने हो । मसँग खुब रिसानुभो श्रवण । लेख्नुभो, ‘आफूचाहिँ प्रचण्डको पुच्छर भएर चुनावको प्रचार गर्दै हिँड्ने । आफूचाहिँ माओवादीको झण्डा बोकेर हिँड्न मिल्ने । मचाहिँ खुत्रुक्क कांग्रेसमा जाँदाचाहिँ यत्रो बबाल हुने ?’ पछि कसैले उहाँलाई खुब गाली गर्यो, ‘तँ खानै गाको होस् । तँ थोडै कांग्रेसमा गाको होस् र, तँ त खान गाको होस् ।’ अर्कोले मैलेभन्दा कठोर टिप्पणी गरेपछि मेरो टिप्पणी माफ भयो । श्रवण मुकारुङले के लेख्नुभयो थाहा छ ? ‘कमसेकम चाबेलको खगेन्द्र संग्रौलाले मेरो प्रिय कवि त भनेको थियो नि ! तँ यति पनि नभनी नाशै गर्ने ?’ राजन मुकारुङले मदन पुरस्कार पाउनुभो । बढी फुर्किनुभो के ! अब पुरस्कार पाएपछि, मान्छे हो, फुर्किन्छ होला । उहाँले लेख्नुभो, ‘मैले मदन पुरस्कार पाएँ । यो मदन पुरस्कारप्रति बढी आग्रही पो भइएछ कि कसो हो ?’ मलाई के लाग्यो भने मदन पुरस्कार दमिनी भीरको मायाले दिएको होइन । मदन पुरस्कार दमिनी भीर अथवा राजन मुकारुङको चिन्तन प्रवृत्तिले जे जे कुरा उठाएको छ, पहिचानको मुद्दा, अस्तित्वको मुद्दा, स्वराजको मुद्दा, मुक्तिको मुद्दा जे जे उठाएको छ, त्यसलाई दिएको पनि होइन । पसल खोलेपछि बाना मिलाउनुपर्छ । पसलमा बाना मिलाउनका निम्ति नुनदेखि सुनसम्म हुन्छ । संकीर्णहरू, कुलीनहरू, सम्राटहरू, सत्तामा एकाधिकार गरेर बसेकाहरू, अहंकारीहरूलाई कहिलेकाहीँ उदारताको अभिनय गर्न मन लाग्छ । राजनलाई त्यो पुरस्कार दिएको कृपा पनि होइन, करुणा पनि होइन । त्यो अभिनय हो । तर राजन बाठो हुनुहन्छ, श्रवणचाहिँ लाटो । उहाँले खत्र्याक–खुत्रुक गरेर ‘म फुर्किएको होइन’ भनेर मिलाउनुभएछ । उहाँले भन्नुभो, ‘म राजन मुकारुङलाई यो पुरस्कार दिएको हो भने पुरस्कार मिल्काउनै तयार छु । मेरो कृति पुरस्कृत हुन लायक ठानिएको हो भने कृतिलाई पुरस्कार दिइएको हो भने घन्टैसित्ती ।’ हामी जीवन दुईपटक बाँच्दैनौँ । जीवन एकपटक बाँच्ने हो । म त नास्तिक हुँ । मेरो पूर्वजन्म थिएन, मेरो पुनर्जन्म पनि हुँदैन । तपाईंहरू आस्तिक हुनुहोला, पूर्वजन्ममा विश्वास गर्नुहोला । अर्को जन्म योभन्दा असल हुन्छ भन्ने विश्वास पनि गर्नुहोला । त्यो पनि हुँदैन । त्यसैले मरीजाने चोलामा असल काम गर्नु धेरै राम्रो कुरा हो । राजन मुकारुङले आफ्नो जातिको जागरणको लागि, आफ्नो जातिको मुक्तिको लागि, आफ्नो समकालका सम्पूर्ण साथीहरूलाई बाटोमा प्रकाश देखाउने गरी वैचारिक कर्म गर्नुभएको छ । त्यो वैचारिक कर्मको नाउँ ‘फेरिँदो सौन्दर्य’ हो । त्यसको लागि म उहाँलाई अभिनन्दन गर्छु । (‘फेरिँदो सौन्दर्य’ निबन्ध संग्रहको लागि राजन मुकारुङलाई प्राप्त गरेको ‘पहिचान पुरस्कार’ प्रदान समारोह, २२ फागुन, २०७२ मा संग्रौलाले व्यक्त गरेको मन्तव्यमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप