शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ग्राण्ड स्लाम विजेता सारापोभा डोपिङमा फेल भएको खुलासा

मङ्गलबार, २५ फागुन २०७२, १९ : ५५
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं – पूर्व विश्व नम्बर १ मारिया सारापोभाले आफू अस्ट्रेलियन ओपनका दौरान ड्रग टेस्टमा असफल भएको खुलासा गरेकी छिन् । २८ वर्षीया सारापोभाले मेल्डोनियम नामक पदार्थको प्रयोग गरेको पाइएको थियो । उनले स्वास्थ्य समस्याका कारण सो औषधि सन् २००६ देखि लिइरहेको बताएकी छिन् । ५ पटक ग्राण्ड स्लाम विजेता सारोपोभा मार्च १२ देखि अनुसन्धानको नतिजा नआएसम्म निलम्बित भएकी छिन् । उनको निलम्बनसँगै नाइक कम्पनीले अनुसन्धान पूरा नभएसम्म सारापोभासँगको सम्बन्ध रोक्ने बताएको छ । ‘मैले पछिल्ला १० वर्षदेखि परिवारको डाक्टरको सल्लाह अनुसार मिड्रोनेट नामक औषधि लिइरहेको थियो । केही दिन अघि मात्र अन्तर्राष्ट्रिय टेनिस फेडरेसनबाट मैले एउटा पत्र पाएँ जसबाट उक्त औषधिलाई मेल्डोनियम पनि भन्ने कुरा थाहा पाएँ,’ उनले भनिन् । फ्लोरिडामा बस्दै आएकी सारापोभासँग गत २६ जनवारीमा सेरेना विलियम्ससँग अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पराजित भएपछि डोपिङ स्याम्पल मागिएको थियो । विश्व एन्टी डोपिङ एजेन्स (वाडा) ले अनुसन्धानपछि उनले मेल्डोनियम प्रयोग गर्ने खुलासा मार्च २ मा भयो । ‘१० वर्षसम्म यो औषधि वाडाले प्रतिबन्ध गरेको औषधिको सूचीमा थिएन । मैले वैधानिकरुपमा नै यो औषधि प्रयोग गरिरहेको हुँ,’ सारापोभाले भनिन्, ‘जनवरी १ देखि यो नियम परिवर्तन भएछ । जुन मलाई थाहा थिएन ।’ आफूले डिसेम्बर २२ मा वाडाबाट उक्त जानकारीको बारेमा इमेल प्राप्त गरे पनि हेर्न नपाएको बताइन् । सारापोभा पछिल्ला ११ वर्षदेखि सबैभन्दा बढी आम्दानी गर्ने खेलाडी बन्दै आएकी छिन् । फोब्र्सका अनुसार टेनिसबाट मात्रै उनले २६ मिलियन पाउण्ड आर्जन गरिसकेकी छिन् । उनी सन् २००५ मा विश्व नम्बर १ समेत बनेकी थिइन् । हाल उनी सातौं स्थानमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप