शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

देउवाजीसँग भेटी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्छु : प्रचण्ड

मङ्गलबार, २५ फागुन २०७२, १९ : ३८
मङ्गलबार, २५ फागुन २०७२

चितवन - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू काठमाडौँ फर्किएलगत्तै नेपाली काँग्रेसका नवनिर्वाचित सभापतिसँग भेटी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने बताएका छन् ।

पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको आज उद्घाटन गर्दै उनले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले १६ बुँदे सहमति अनुरुप नै काँग्रेस, नेकपा(एमाले), एमाओवादी सहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल सुरु गरिने बताए । उनले भने “संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ ।

सो अवसरमा उनले माओवादीबीचको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए । सो क्षेत्रमा मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गरिने आश्वासन पनि उनले दिए ।

सोही क्षेत्रमा विसं २०४२ मा मारिएका मित्रमणि आचार्य तथा २०५९ सालमा एकै साथ मारिएका तारा काफ्ले, कमल फुयाँल, राजु अधिकारी, कालीबहादुर तामाङ र सीता विकको स्मृतिमा एमाओवादीले सो प्रतीक्षालय बनाएको हो ।

नारायणी नगरपालिकाका एमाओवादीका अध्यक्ष विजय भुजेलका अनुसार रु तीन लाख ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप