शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक सद्भाव कायम राख्ने राजनीतिक दलको प्रतिबद्धता

मङ्गलबार, २५ फागुन २०७२, १५ : २८
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं – केही समयअघि हिंसात्मक घटना व्यहोरेका मोरङको रंगेलीका राजनीतिक दलहरुले अब त्यस्ता घटना दोहोरिन नदिने र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

संवाद समूहको सचिवालय झापाको संयोजनमा त्यहाँका राजनीतिक दलका नेताहरुसँग आज मंगलवार भएको छलफलमा त्यस्तो प्रतिवद्धता सहित तीन बुँदे सहमति भएको हो । गत माघ ७ गते भएको घटनामा प्रहरीको गोलीबाट तीन जनाले ज्यान गुमाएका थिए भने गोली लागेर तथा अन्य कारणबाट २२ जनाभन्दा बढी घाइते भएका थिए । छलफलमा सहभागी दलहरुले आ–आफ्नो जिम्मेवारी बोध गर्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए । छलफलमा तीन बुँदे सहमति भएको छ ।

सहमति अनुसार उक्त घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै दल तथा पक्ष सचेत र चनाखो रहने, आपसमा कुनै द्वन्द्व उत्पन्न हुन नदिई शान्ति, सामाजिक सद्भाव, मेलमिलाप, सहमति र सहकार्यका साथ अघि बढ्ने लगायत रहेको छ ।

त्यस्तै दलहरुले एक अर्काको भावनाको सम्मान र अस्तित्व स्वीकार गर्दै जिम्मेवारीपूर्वक अगाडि बढ्ने तथा कुनै द्वन्द्व, विवाद, असमझदारी वा समस्या आए संवाद र सहमतिको माध्यमबाट अघि बढ्ने सहमति समेत भएको छ ।

दलहरुले उक्त घटनालाई अकल्पनीय भन्दै दुःख व्यक्त गरेका छन् । गोली लागेर मृत्युवरण गरेका प्रति श्रद्धाञ्जलि, शोकाकुल परिवारप्रति समवेदना र घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गर्दै दलहरुले मृतकका परिवार तथा घाइतेको भावना अनुसार उनीहरुको मागको उचित सम्बोधनका लागि सरकारसँग माग समेत गरेका छन् । उक्त पहलकदमी आ–आफ्नोतर्फबाट सबै दलले लिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

मधेसी मोर्चाले जारी राखेको बन्द–हड्ताल लगायतको आन्दोलनका कार्यक्रम र सभा रंगेलीमा जारी रहेका बेला नेकपा एमालेको भातृ संगठन युवा संघले सोही ठाउँमा मेधस जनजागरण कार्यक्रम गरेपछि झडपको स्थिति सृजना भई उक्त घटना भएको थियो । घटना लगत्तै त्यहाँका स्थानीयवासिन्दा र राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत केही समय विस्थापित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप