सडकबाट महिला भन्छन् – शहरमा मात्र महिला दिवस लाग्यो
मङ्गलबार, २५ फागुन २०७२, १७ : २३
विष्णु थकाली,कोपुण्डोल
नेपालमा १०७औ महिला दिवस मनाइरहँदा हाम्रो देशमा महिला दिवस मनाउनुले खासै उपलब्धिी हाँसिल गरेको जस्तो देखिदैन । कतिपय ठाउँमा महिला समस्या ज्युँ का त्ँयु नै छन् । मैले देखेको र भोगेको आधारमा तुलनात्मक हिसाबले भन्नुपर्दा आज शहरी भेगका महिलाहरुको जिवनमा त धेरै परिवर्तन आइसकेको छ । शहरी भेगका महिलाहरु पनि घरका भान्सा र छोराछोरीको लालनपालनमा मात्र अल्झिएर आफुलाई घरको चार भित्तामा सिमित राखेका छैनन । हामी पनि पुरुष सरह केहि गर्न केहि गरेर देखाउन सक्छौँ भन्ने चेतना र क्षमताको पहिचान अनुरुप आफुलाई प्रमाणित गर्न तत्पर छन् । म आफु पनि महिला सशक्तिकरण गर्ने उदेश्यले फोहोरमैला सम्बन्धी महिला वातावरण तथा फोहोरमैला व्यवस्थापन नामक गैरसरकारी संस्था चलाएर बसेकी छु । महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने मेरो उद्देश्य हो म एक्लैले गरेर त खासै फरक नपर्ला तर म आफ्नोतर्फबाट लागिपरेकी छु । नेपालमा महिला हिँसा पनि ठुलै समस्याका रुपमा छ । महिला हिँसा अन्त्यका जतिसुकै मन लोभ्याउने नाराहरु घन्काएता पनि व्यवहारमा समस्या उस्तै छन् । महिलाहिँसा अन्त्य सम्बन्धी काम गर्ने संस्थाहरु पनि शहर केन्द्रित हुने प्रवृत्तीले पनि होला गाउँका महिलाहरुको समस्या पहिचान पनि हुन सकेका छैनन् समस्या पार हुने त कुरै नगरौँ । अझैपनि गाउँ गाउँमा महिलाहरु कोहि बोक्सीको आरोपमा घरकै परिवारबाट कुटपिट भइरहेका छन् कोहि गाउँकै आफन्तबाटै बलात्किृत । जबसम्म गाउँका महिलाहरु हिँसामुक्त हुँदैनन् तबसम्म नेपालमा महिलाहिँसा मुक्त भएको मानिदैन ।
अर्कना खातुन
२१ सदाब्दीसम्म आइपुग्दा पनि पनि ठाउँ ठाउँमा महिला हिंसा भैरहेको अवस्था छ । मलाई त लाग्छ जहाँ बराबरीको कुरा आउँछ त्यहा किन महिला दिवस नै मनाउनु पर्ने र ? हामी महिला आफै बराबरीको नारा लगाउछौ र त्यहि एक दिनको महिला दिवस मनाएर आफुलाई कमजोर पार्छौं । त्यसो भए त पुरुष दिवस पनि मनाउनुपर्यो नि । बराबरीको हकमा भन्ने हो भने गाउँ गाउँ सहर सहरमा बराबरी शिक्षा र सम्मान पाउदा महिला हिंसा कम होला कि जस्तो लाग्छ तर हाम्रो समाजमा अशिक्षित घरमा भन्दा शिक्षित घरमा बढि महिलाहिँसा भएका थुप्रै उदाहरण पनि छन् । शिक्षित वर्गबाट नै बुहारीलाई दाइजो नल्याएको निहुमा कुटपिट गालीगलौज गर्ने जस्ता घटनाहरु भइरहेका छन् । कतिपय ठाउँमा महिलालाइ त जिउदै जलाएर मारेका घटनाहरु बेलाबखतमा सार्वजनिक भइरहन्छन् । यस्ता महिला हिंसा सम्बन्धी घटनाहरु घटनाहरु न्युन हुँदै गए पो महिला दिवस मनाएको पनि सार्थकता रहन्छ । हरेक वर्ष कुनै न कुनै नारा लिएर महिला दिवस मनाइन्छ हाम्रो देशको हकमा ति नाराहरुलाई राम्ररी कार्यान्वयन गरेको पनि खासै देखिएको छैन । म आफु पनि नारी भएको हकमा घर कार्यालय या कुनै सार्वजनिक स्थलमा महिला हिँसाको शिकार भएको महशुस हुन्छ तर म तुरुन्तै प्रतिक्रिया जनाएर आफ्नो सुरक्षा गर्छु । हो पुरुष या समाजले हामी महिलाको अधिकार सुनिश्चित गरिदेला भनेर आस गर्नुभन्दा हामी आफैले लडेर आफ्ना अधिकारको संरक्षण गर्न जानेमा महिला हिंसा कम हुँदै जालान भन्न सकिन्छ तर वर्षको एक पटक मात्र महिला हिँसाको नारा बजाएर मात्र त महिला हिँसाका समस्या पार लाग्दैनन् ।
शान्ता राइ, भोजपुर
पुरुषहरुले हामी माथि गर्ने दमन र अत्याचार विरुद्ध आज विश्व अन्र्तराष्ट्रिय महिला दिवस मनाइरहन पाउँदा खुशी लागेको छ । हाम्रा हजुर आमा र आमाहरुले खुबै दुख पाए तर कमसेकम आजको दिनसम्म आइपुग्दा केहि मात्रामा भएपनि महिला हिँसा कम हुँदै गएको मैले देखेको र भोगेको पनि छु । मेरी आमाले घर बाहिरको संसार कहिल्यै देखिनन् । उनको लागि घरमा पुरुषहरुका लागि खाना पकाइदिने उनिहरुका लत्ता कपडा धोइदिने र छोराछोरी हुर्काइदिने नै उनको संसार थियो । हामी त बाहिर निक्लिन पाएका छौँ । मैले १० कक्षासम्म मात्र भएपनि पढ्न पाए आफ्ना छोरीलाई उनिहरुले चाहेसम्म पढाउँछु । हो यसरी बदलिरहेको छ हाम्रो संसार पनि । हामी महिला सन्तान उत्पादनको माध्यम र भोगविलासको साधन मात्र नभएर आधा संसार हाँक्न सक्ने शक्ति पनि हौँ भनेर आफुलाइ प्रमाणित गर्न प्रयत्न नगरेसम्म हाम्रो अधिकार संधै दमन भइनै रहन्छ । म त महिला दिवसका दिन विभिन्न संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा जान्छु आफ्ना हक अधिकारका लागि कसरी लड्नुपर्छ सिक्छु र सिकाउँछु । महिला हक अधिकारका लागि आवाज उठाउने संस्थाहरु शहरबजारतिर मात्र केन्द्रित नभइ गाउँका महिलाका समस्याहरुतिर पनि ध्यान दिए हामी महिला अझै ससक्त हुने थियौँ जस्तो लाग्छ ।
प्रस्तुती : फतिमा बानु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण