शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाकिमकै आँखा अगाडि सडकको यस्तो हविगत

सोमबार, ०६ वैशाख २०७३, ०८ : ३४
सोमबार, ०६ वैशाख २०७३

गुल्मी – दिनमा दशौं चोटी सरकारी निकायका हाकिमहरु र नेताहरु हिँड्ने सदरमुकाम तम्घासस्थित सडकखण्डको हविगत वषौंदेखि पिच भत्किएर धुलाम्मे र हिलाम्मे हुँदा पनि कसैको ध्यान जान सकेको छैन् । जिल्ला प्रहरी कार्यालयको चोकदेखि जिल्ला अस्पताल सम्मको सडकखण्डको यस्तोे हविगत भएको हो ।

स्थानीयवासी एवं पत्रकार रामलाल पाण्डे भन्छन्– ‘वर्षौंदेखि तपाईहरुकै आँखा अगाडि यो सडकको यस्तो हविगत हुँदा पनि किन उठान गर्नुहुन्न ?’ उनले यहाँका पत्रकारहरु यस्ता कुराहरुमा आँखा चिम्लिएको आरोप लगाउँदै भने– ‘ दिनमा बिसौं पटक यहाँका हाकिमहरु र नेताहरु हिँड्ने सडकको यो हविगतमा उनीहरुको ध्यान त पुुगेन् । कम्सेकम तपाई पत्रकारहरुले त उनीहरुको ध्यानकृष्ट गराईदिनुस् ।’

सदरमुकाम तम्घासको व्यस्त सडकखण्डमध्ये एक पर्ने उक्त सडकमा मध्यरातमा पनि अस्पतालमा बिरामी ओसारपसार गर्ने गरिन्छ । वर्षायाममा खाडल परेर कतै हिलाम्मे भएर पैदल यात्रामा समेत सास्ती खेप्ने गरेका छन् मानिसहरु । त्यस्तै गाडी फसेर जाम हुने र गाडी ठोक्किएर दुर्घटना समेत हुने गरेको स्थानीयवासी पाण्डे बताउँछन् ।

अहिले हिउँदमा धुलो उडेर बेहाल हुने गरेको छ । पानी आएको समयमा नाली नहुँदा त्यहाँको हिलो बगेर चिदीचौरभरी हुने गर्दछ र लाखौंं खर्चेर गत वर्ष वनाएको त्यस चिदीचौर कुनाको नाली र तल जिल्ला प्रशासन सम्म डुबानमा पर्ने गरेको छ ।

यहाँका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बजार सरसफाई र सडक व्यवस्थित गर्ने अभियान सुरु गरेपनि त्यो सडक मर्मतमा ध्यान दिन नसकेको स्थानीयको गुनासो छ ।

यस सम्वन्धमा प्रजिअ कँडेलसँग सम्पर्क राख्दा उनले भने– ‘हो, त्यस सडक मर्मतका लागि मैले यहाँ आएदेखि सम्वन्धित पक्षलाई तागेता गर्दै आएको छु सायद अब चाँडै बन्ला ।’ उनले थपे– ‘मलाई त भन्नुभयो तर मलाईभन्दा पनि रेसुङ्गा नगरपालिका प्रमुख र एलडियो साबको एकचोटी कान फुकिदनुस् न ।’

उता रेसुङ्गा नगरपालिका प्रमुख बाबुराम पल्लीको ध्यानकृष्ट गराउँदा उनले नगरपालिकाको स्रोतले नभ्याएपछि शहरी विकासलाई आग्रह गरेको बताए । उनले भने– ‘तपाईहरुको मात्र होईन त्यो सडकमा मेरो पनि ध्यान गएको छ, तर के गर्ने नगरपालिकाको स्रोतले नभ्याएपछि शहरी विकास कार्यालयसँग आग्रह गरिएको छ । उनले आगमी वर्षभित्र मर्मत गरेरै छाड्ने प्रतिबद्धता पनि जाहेर गरे ।’

नगरपालिकाको बजेटले नथेगे पनि जिल्ला विकास समितिले पनि उक्त सडक मर्मत गर्नुपर्दथ्यो भन्ने स्थानीयको गुनासो स्थानीय विकास अधिकारी डिल्लीराम पन्थीलाई सुनाउँदा पन्थीले जिविसमा त्यस सडक पिच गर्ने रकम अभाव भएका कारण यो अवस्थामा रहेको बताए ।

यस वर्षभित्रमा पिच गर्न सकिएला ? भन्ने प्रश्नमा उनले भने– ‘प्राइरिटीमा त राखिएको छ, हेरौं कस्तो हुन्छ ।’ सबभन्दा ठुलो विकास बजेट हुने जिविस प्रमुखले नै खै कस्तो हुन्छ भनेपछि अझै केहि वर्ष त्यस सडकको हविगत त्यस्तै हुने हो कि ? यसप्रति राजनैतिक दल र स्थानीयवासीले दवाव दिन सके अलि छिटो हुन्थ्यो कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप