शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारु पाउन छाड्यो सीमावर्ती क्षेत्रमा

सोमबार, ०६ वैशाख २०७३, १४ : १६
सोमबार, ०६ वैशाख २०७३

वीरगन्ज - मध्य तराईका बारा, पर्सा र रौतहटमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीय रुपैयाँ अभावले यहाँका उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायत सेवा प्रभावित भएका छन् ।

भारततर्फ पूँजी पलायन भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको सटही सुविधालाई नियन्त्रण गर्न वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरेपछि सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको अभाव भएको हो । सीमावर्ती क्षेत्रका बासिन्दा स्वास्थ्य उपचार, भ्रमण, तीर्थाटन, शिक्षा आर्जनलगायत कार्यका लागि दिनुहँ भारततर्फ जानुपरेकाले उनीहरुलाई भारतीय रुपैयाँको आवश्यकता पर्छ ।

तर सटही सुविधालाई कठिन बनाइएका कारण भारतीय रुपैयाँ लिन कठिनाइ भइरहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश सिकारिया बताउँछन् । “ भारतीय रुपैयाँ अभावले आमउपभोक्ता तथा व्यापार प्रभावित भएको छ” उनले भने ।

नागरिक समाजका अगुवा एवम् अधिवक्ता पन्नालाल गुप्ता भारतीय रुपैयाँ अभाव भएसँगै सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले आफूखुसी नेपाली रुपैयाँको अवमूल्यन गर्न थालेको बताउँछन् । रक्सौलका व्यापारीले १०० भारतीय रुपैयाँका लागि नेपाली उपभोक्ताबाट रु १६५ देखि रु १७० सम्म असुल्न थालेका छन् ।

“सामान खरिद गर्दा व्यापारीले नेपाली उपभोक्ताबाट भारतीय रुपैयाँ माग गर्छन्,” वीरगन्ज उपमहानगरपालिका– १० का राजेश साहले भने – “नेपाली रुपैयाँ लिए पनि त्यसको विनिमय दर ती व्यापारीले आफैँ तोक्ने गर्छन ।” भारतीय रुपैयाँ अभावले उपभोक्ताले भारतीय व्यापारीले तोकेको विनियमय दरमा नै नेपाली रुपैयाँ दिने गरेका छन् ।

भारतीय रुपैयाँ सटही गर्ने अनुमति पाएका सटही काउन्टर सञ्चालकले सटही गर्दा उपभोक्ताबाट १०० रुपैयाँमा ५ रुपैयाँ बढी असुल्ने गरेका छन् । बजारमा भारतीय रुपैयाँको खरिददर ह्वात्तै बढेको छ । प्रतिसयकडा रु ५ देखि रु ८ बढी असुल्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप