शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विकासले फड्को मारेको विश्वबाट सिक्नुपर्छ : शेष घले

मङ्गलबार, ०७ वैशाख २०७३, ०९ : १५
मङ्गलबार, ०७ वैशाख २०७३

काठमाडौं–गैर–आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. शेष घलेले तेज गतिमा विकासले फड्को मारेको विश्वको समुदायबाट नेपालीहरुले सिक्नुपर्ने बताएका छन् । संसारभर विभिन्न मुलुकहरुमा पुगेका नेपालीहरुले त्यहाँको समाजबाट पनि धेरै कुराहरु सिकेर, व्यवहारिक जीवनमा उतार्न सकिने भन्दै अध्यक्ष घलेले यसमा जोड दिएका हुन् ।

हामीसँग आफ्नै पहिचान छ, जब अरुसँगबाट पनि केहि सिक्छौ भने, आफूलाई जिउन झनै सजिलो हुन्छ अध्यक्ष घलेले भने, ‘अन्य समाजसँग पनि घुलमिल हुन सके, विविधताबीच पनि एकता कायम हुनसक्छ । यसले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई नै झनै बलियो बनाएको हुन्छ, किनकी त्यहाँ सामाजिक सुमधुरता र एकता हुन्छ ।’

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले आईतबार लुभेनामा आयोजना गरेको नेपाली मेलालाई सम्बोधन गर्दै घलेले नेपाली कला संस्कृति, सम्पदा तथा पहिचानको लागि मेला आफैँमा साँचो विचार भएको बताएका छन् ।

डायस्पोरामा गरिने कार्यक्रमहरुमध्ये नेपाल झल्कने तथा पर्यटक प्रर्बद्दनका लागि गरिने यस्ता मेला, महोत्सवहरु नै प्रभावकारी एवम् प्रमुख कार्यक्रम हुने बताउँदै घलेले एनआरएनए बेल्जियम तथा सहकार्य गर्ने संघ–संस्थाहरुप्रति आभार प्रकट गरेका छन् । आफूलाई पनि नेपाली मेलामा निमन्त्रणा गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै अझैँ यस्ता कार्यक्रमहरुले वर्षौंवर्षसम्म निरन्तरता पाओस् भन्दै अध्यक्ष घलेले शुभकामाना व्यक्त गरे ।

विश्वभर रहेका गैरआवासीय नेपालीहरु मेहनती, परिश्रमी र शिक्षित समेत रहेको बताउँदै घलेले विदेशी समाजमा घुलमिल हुन सजिलो हुने गरेको बताए । तेज गतिमा विकासले फड्को मारिरहेको विश्वको समुदायमा आफू र आफ्ना सन्ततीको भविष्यबारे पनि सोच्न जरुरी रहेको बताउँदै घलेले भने, ‘हामी सबैका लागि यो चुनौती हो, तर सानो पाईला चाल्दै, एक अर्काबाट सिक्न जरुरी छ । एकअर्का बीच समृद्द, सुदृढ र सामन्जस्यपूर्ण समाज निर्माणका लागि पर्न जरुरी छ ।’

केही दशकअघिबाट नेपालीहरु विश्वका विभिन्न देशहरुमा सुनौला अवसरहरु प्राप्त गरिरहेका बताउँदै घलेले बेल्जियममा रहेका गैर–आवासीय नेपालीहरुले पनि धेरै अवसरहरु प्राप्त गरेको बताए । उनले भने, ‘यहाँको नेपाली समुदाय दिन प्रतिदिन धेरै अगाडि बढिसकेको छ, धेरै सफलता पनि हासिल गरेको छ, यसरी व्यक्तिगत रुपमा पाएको सफलता, लाभ र अनुभूति समाजमा कम अवसर भएकालाई बाँड्न सके सबैभन्दा ठूलो सफलता त्यही नै हुनेछ ।’ विदेशमा कार्यरत नेपालीहरुले कडा मिहिनेत, परिश्रम गरेर आफू कार्यरत मुलुकका साथै मातृभूमिका लागि समेत योगदान गर्नुपर्नेमा घलेले जोड दिए ।

यसैबीच घलेले सम्बोधनको सुरुवातमा नै बेल्जियमको ब्रसेल्सस्थित विमानस्थल र मेट्रो स्टेसनमा भएका बिष्फोट र सर्वसाधरणको मृत्युप्रति गहिरो दुःख प्रकट गरेका थिए । तर, घटनालाई बिर्सेर अघि बढ्नुपर्ने बताउँदै घलेले भनेका थिए, ‘आजको दिन, एक फरक दिन हो, नेपाली भाषा कला, संकृति, संगीत र परम्परालाई समेटेर यति ठूलो समुदायले एकैसाथ जुटेर काम गर्नुभएको छ, यहाँ नै नेपाल आमाप्रतिको माया र प्रेम गाँसिएको छ ।’

कार्यक्रममा बेल्जियमका पूर्वगृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाकलगायत अन्य विभिन्न राजनीतिक दलका नेता एवं सांसदहरु, बेल्जियमका लागि नेपाली राजदूत राममणी पोखरेल, गैर–आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तलगायतको उपस्थिति रहेको थियो ।

नौमती बाजासहित विभिन्न झाँकीहरुको प्रदशनीले बेल्जियम नेपालीमय बनेको थियो । मनै लोभ्याउने गरी नेपालीपन झल्कने, ढाका टोपी, गुन्युचोली, विभिन्न जातजातिका भेषभुषामा सजिएर नेपालीहरु मेलामा सहभागि बनेका थिए । एक दिने महोत्सवमा नेपाली कला संस्कृति, नेपाल पर्यटन सम्बन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्री वितरण साथै नेपाल र नेपालीलाई यूरोप तथा विश्वसामु चिनाउने गरी विभिन्न स्टलहरु राखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप