खोटाङ - जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सुक्खाग्रस्त सात गाविसमा नदीको पानी तान्नका लागि डिटेल सर्भे (डिपीआर) गरिएको छ ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडा गाविसका उपभोक्तालाई लक्षित गरेर दूधकोसीको पानीलाई लिफ्टिङ् गरेर गाउँमा निकाल्न डिटेल सर्भे गरिएको हो ।
करिब २० हजार उपभोक्ता रहेको सुक्खाग्रस्त क्षेत्रमा नदीको पानी तान्नका लागि डिटेल सर्भेका काम पूरा गरिएको हलेसी महादेवस्थान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए ।
महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोसीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोसीकै पिप्लेबाट पम्पिङ प्रविधिमार्फत अग्लो डाँडामा पानी निकालिनेछ ।
मुख्य वितरण ट्याङ्की रहने हलेसीको काभ्रेबाट सुरु गरिएको सर्भेको काम गैरीगुठ हुँदै महादेवबेँसीसम्म र दूधकोसीस्थित बाहुनीडाँडाको पिप्लेबेँसीबाट अर्को वितरण ट्याङ्की रहने डिकुवाको भुम्जुडाँडासम्म सर्भेका काम गरिएको समितिले जनाएको छ ।
विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने नदीको पानीलाई एक हजार ७५८ मिटरको उचाइमा पर्ने हलेसीको काभ्रेमा निर्माण गरिने मुख्य वितरण ट्याङ्कीमा जम्मा गरेर वितरण गरिनेछ ।
यस्तै, भुम्जुडाँडामा निर्माण गरिने ट्याङ्कीबाट च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्तामाझ पानी पु¥याइने अध्यक्ष राईले जानकारी दिनुभयो । पानीको स्रोत नभएको, भएका स्रोत सुक्दै गएको र अन्यत्रबाट ल्याउनका लागि सम्भावना कम भएका कारण नदीकै पानी निकाल्ने अन्तिम तयारी गरिएको हो ।
उत्तरी क्षेत्रमा पर्ने तापखोला, भांगु खोला, चिमचिमा खोला, नाखाम खोलाबाट सुक्खाग्रस्त क्षेत्रका गाविसमा पानी लैजान सकिने सम्भावना भएपनि मुहान पाउन नसकिएको समितिले जनाएको छ ।
नदीको पानी गाउँमा निकाल्नका लागि खानेपानी तथा ढल निकास विभाग सुक्खाग्रस्त क्षेत्र खानेपानी आयोजनाको टोलीले यसअघि सातवटै गाविसको डिटेल सर्भेको काम पूरा गरिसकेको छ । योसँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिच्किराम्चेस्थित कालापानीमा समेत पानी तान्ने काम सुरु गरिएको छ ।