शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वन्यजन्तु सप्ताह सम्पन्न

मङ्गलबार, ०७ वैशाख २०७३, १४ : ४७
मङ्गलबार, ०७ वैशाख २०७३

काठमाडौँ - राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न कार्यक्रम गरी एक्काइसौँ वन्यजन्तु सप्ताह समापन गरेको छ ।

विसं २०५३ देखि निरन्तर नयाँ वर्षको पहिलो सप्ताहसम्म वन्यजन्तु सप्ताह मनाउँदै आएको विभागले यस वर्ष ‘वन्यजन्तुको भविष्य हाम्रो हातमा’ नाराका साथ सप्ताह मनाएको हो । सप्ताह समापनका अवसरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले सप्ताहअन्तर्गत गरिएका विभिन्न कार्यक्रमले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सबै प्राणीमध्ये मानव जाति बढी चेतनशील भएकाले पृथ्वीलाई अझ सुन्दर र सबैको साझा बनाउन मानिसको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री सापकोटाले जैविक विविधता जोगाउन सबैको ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिए ।

विभागले यस साताभर वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले मुलुकभर २० वटै संरक्षण क्षेत्रमा विभिन्न कार्यक्रम गरेको थियो । सप्ताहअन्तर्गत विभागले वैशाख १ गते विभिन्न सञ्चारमाध्यममार्फत सन्देशमूलक कार्यक्रम, २ गते वनसम्बन्धी चित्रकला प्रतियोगिता गरेको थियो ।

त्यस्तै वैशाख ४ गते शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चरा अवलोकन तथा सो सम्बन्धी चेतनामूलक कार्यक्रम गरेको थियो । सप्ताहअन्तर्गत विभागले वैशाख ६ गते सदर चिडियाखानामा कविता प्रतियोगिता गरेको थियो ।

कार्यक्रममा वन सचिव उदयचन्द्र ठाकुरले नयाँ वर्षको सुरुवातसँगै मनाइने वन्य जन्तु सप्ताहलाई वर्षभरि नै विभिन्न कार्यक्रम गरी मनाउनुपर्ने धारणा राख्दै वन्य जन्तु संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए ।

वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले मुलुकको जैविक विविधता प्राकृतिक सम्पदा मात्र नभएर आर्थिक क्षेत्रको महत्वपूर्ण अङ्गसमेत भएको धारणा राख्दै जैविक विविधताको संरक्षणले विश्वमा नेपालको पहिचान अझ उजिल्याउने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक डा महेश्वर ढकालले सबैको साझा प्रयासबाट मात्र वन्यजन्तुको संरक्षण सम्भव छ भनेर सप्ताह मनाइँदै आएको बताए । कार्यक्रममा वन्यजन्तु विषयमा भएको कविता र चित्रकला प्रतियोगितामा सफल हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गर्ने मुलुकभरका विभिन्न सामुदायिक वन तथा व्यक्तिलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।

मुलुकभर १४ राष्ट्रिय निकुञ्ज, तीन वन्यजन्तु आरक्ष, छ संरक्षण क्षेत्र र एक सिकार आरक्षले आफू अनुकूल कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप