दूरसञ्चार प्राधिकरणमा १२ अर्ब ‘फ्रिज’ : ग्रामीण क्षेत्रको सूचना र प्रविधिमा उपयोग गर्न जोड
काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणमा ‘फ्रिज’ भएर बसेको रु १२ अर्ब सदुपयोग हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेविसङ्घको ४६आँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यशालामा सहभागी वक्ताले प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भएको सो रकम सूचना र प्रविधिको पहुँच नभएका क्षेत्रमै उपयोग गर्न सुझाव दिएका हुन् ।
‘इन्टरनेट सेवामा सम्पूर्ण नेपालीको समान पहुँच सम्भावना र चुनौती’ विषयक सो कार्यशालामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने–“अब हुम्ला र जुम्लाजस्ता दुर्गम क्षेत्रका किसानले आफ्नो उत्पादनका बारेमा इन्टरनेटबाटै थाहा पाउने अवस्था सिर्जना होस् ।”
सूचना र प्रविधिको युगमा प्राधिकरणमा रहेको रु १२ अर्ब दूरदराजमा रहेका जनताका लागि सूचना र प्रविधिको विकासमा खर्चिनुपर्ने आजको आवश्यकता हो भन्दै उनले यसका लागि राजनीतिक वातावरण पनि स्थिर हुनुपर्ने बताए ।
संविधान जारी भएपछि संविधानबमोजिम गर्नुपर्ने, सङ्घीय स्थानीय निकायको निर्वाचन, सङ्घीय कानुन निर्माण, प्रदेशको निर्वाचन लगायतका विषयमा समयमै ध्यान पु¥याउन नसके संविधानका सबै उपलब्धि नष्ट हुन जानेबारे आफूले सबै दलका नेतालाई सुझाइसकेको जानकारी पनि नेता पौडेलले दिए ।
पूर्वमन्त्री डा मीनेन्द्र रिजालले प्राधिकरणमा रहेको रु १२ अर्ब इन्टरनेट ब्रोड बैंक सेवा नपुगेका क्षेत्रमा सूचना र प्रविधिको विकासका लागि भएकाले त्यसको कहाँ र कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने आवश्यकता औंल्याए।
हाल इन्टरनेट सेवा उपलब्ध भए पनि महँगो छ भन्दै उहाँले यसलाई सुलभ बनाउन प्रयास गर्नुपर्ने, प्राधिकरण र नेपाल टेलिकमले आफ्नो क्षमता वृद्धि गर्नुपर्ने र विज्ञान मन्त्रालयबाट सूचना तथा सञ्चार मन्त्रालयमा ल्याइएको प्रविधिसम्बन्धी सेवा पुनः सूचना तथा सञ्चार मन्त्रालयमै ल्याउनुपर्ने सुझाव दिए ।
अर्का पूर्वमन्त्री डा प्रकाशशरण महतले विधिको शासन लागू भए र जनताको लगानी सुनिश्चित भए आर्थिक विकासको प्रशस्त पूर्वाधार तयार हुने उल्लेख गर्दै सूचना र प्रविधिको विकासले पनि आर्थिक विकासमा ठूलो टेवा पुग्ने धारणा राखे ।
व्यवस्थापिका–संसद् अर्थ समितिका सभापति प्रकाश ज्वालाले सूचना र प्रविधिको युगमा नेपाल निकै पछि परेकाले दुर्गम गाउँमा यो सेवा विस्तार गर्न ध्यान दिनुपर्ने र हरेक राजनीतिक दलका मुख्य एजेन्डा राष्ट्रको समग्र विकासका लागि केन्द्रित हुनुपर्ने बताए ।
नेपाली काँग्रेसका अर्का नेता आनन्दप्रसाद ढुङ्गानाले देशलाई आर्थिकरूपले अघि बढाउन र स्वदेशमै रोजगारी दिलाउने काममा सूचना र प्रविधिको ठूलो महत्व भएकाले यसलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले सहरको विकास हुँदै गए पनि गाउँको अवस्था आजसम्म पनि यथावत् रहेकाले त्यहाँको विकासका लागि सूचना र प्रविधिलाई सर्वसुलभ बनाइनुपर्ने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ग्रामीण क्षेत्रमा सूचना र प्रविधिको पहुँच बढाउन अनुदान र जिल्ला सदरमुकामसम्म पु¥याउने व्यवस्था भए पनि कम आम्दानी र बढी खर्च हुने भएकाले निजी क्षेत्र त्यसतर्फ आकर्षित हुन नसकेको र काम पनि कछुवा गतिमा अघि बढेकाले सबै क्षेत्रबाट झकझक्याउनुपर्ने बताए ।
कार्यशालामा प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाल, दूरसञ्चार सेवा प्रदायक संस्था आइएसपिएनका अध्यक्ष सुमन प्रधान, अनेरास्ववियुका अध्यक्ष नविना लामा लगायतले पनि ग्रामीण क्षेत्रमा सूचना र प्रविधिको महत्वबारे चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण