शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य संस्थाको पुनःसंरचनामा सुस्तता

शनिबार, ११ वैशाख २०७३, ०९ : ०७
शनिबार, ११ वैशाख २०७३

काठमाडौँ– सरकारले गोरखा भूकम्प गएको एक वर्ष पूरा हुँदासमेत वाचा गरेअनुसार स्वास्थ्य संस्थाहरुको पुनःसंरचना गर्न सकेन । भूकम्पले विभिन्न जिल्लाका गरी कुल एक हजार ३८ स्वास्थ्य संस्थामा क्षति पु¥याएको छ ।

तिनै स्वास्थ्य संस्थाको पुनःसंरचना निर्माण गर्ने योजनाबमोजिम सरकारले एक वर्षभित्र अस्थायी संरचना बनाइसक्ने लक्ष्य लिएको थियो । तर पनि यो एक वर्षको अवधिमा त्यस्ता संरचना छ प्रतिशत मात्र निर्माण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयले अतिप्रभावित १४ जिल्लाका स्वास्थ्य संस्था बनाउन अन्तर्राष्ट्रिय दातृ निकायसँग सम्झौता गरेको छ । मन्त्रालयले पुनःनिर्माण तथा पुनःस्थापनाका लागि अहिलेसम्म ४५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग रु चार अर्ब २१ करोड सम्झौता भइसकेको जनाएको छ ।

त्यसमध्ये स्वास्थ्य संस्था पुनःनिर्माणमा रु एक अर्ब ५१ करोड, मर्मतमा रु दुई करोड ८७ लाख, स्वास्थ्य उपकरण तथा सामग्रीका लागि रु दुई अर्ब नौ लाख र स्वास्थ्य सेवा पुनःस्थापनाका लागि रु ५२ करोड ५७ लाख बराबरको काम भइरहेको बताइएको छ ।

सम्झौताअनुसार अस्थायी संरचना पाँच वर्षका लागि सेवा गर्न सकिने खालका हुनुपर्ने छ भने छ महिनाभित्र पूरा गर्नुपर्ने छ ।

तर संविधान जारी पछिको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण आवश्यक उपकरण ल्याउन नसकिएको भन्दै निर्माणको काम थाल्न थप छ महिनाको समय माग गरिएको थियो ।

अति प्रभावित १४ जिल्लामा ३५८ स्वास्थ्य संस्था पूर्णरुपमा क्षति भएका छन् । मन्त्रालयले दिएको तथ्याङ्कअनुसार अहिलेसम्म २५ प्रिफेव भवन ९अस्थायी भवन० मात्र निर्माण भएका छन् । पन्ध्र वटा संरचनाको मर्मत कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् ।

स्थायी संरचनाका लागि अमेरिकी सरकारको सहयोगमा सिन्धुपाल्चोकको बाह्रबिसेमा बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको शिलान्यास भएको छ ।

अतिप्रभावित १४ जिल्लाका ७८४ भवनमध्ये ३५८ पूर्ण क्षति र ३११ आंशिकरुपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये ११५ स्वास्थ्य संस्थामा कुनै क्षति पुगेको छैन ।

आंशिक क्षति पुगेका नौ भवन मर्मत गरी सञ्चालन गर्न सकिने भनी प्रविधिज्ञले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएकामा हालसम्म १५ वटा मात्र मर्मत सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भत्किएका भवनमध्ये स्वास्थ्य मन्त्रालयले विभिन्न दातृ निकायबीच ३१२ वटा अस्थायी भवन बनाउन सम्झौता भएको र बाँकी सरकारले बनाउने बताए ।

उनले भने – “अहिलेसम्म २५ वटा प्रिफेव भवन निर्माण भइसकेको र १५ वटा मर्मत भइसकेका छन् । यो महिनाभित्र थप ४० वटा अस्थायी संरचना निर्माण भइसक्ने छ ।”

सम्झौता गरिएका दातृ निकायमध्ये एमडिएम फ्रान्सले सिन्धुपाल्चोकमा १७ प्रिफेव ९अस्थायी० भवन बनाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ भने एम डिएम स्पेनले पनि रामेछापमा एउटा संरचना निर्माण पूरा गरिसकेको छ ।

त्रिदेश होम फाउन्डेसनले बनाइदिने भनिएका काभ्रेका चार स्वास्थ्य संस्थाको पनि निर्माण सम्पन्न भएको छ । सोसल वेलफेयरले बनाउने भनेको ११ मध्ये पाँच वटा सम्पन्न भएको छ ।

यस अतिरिक्त जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा वीर तथा परोपकार प्रसूति अस्पताल, जर्मन बैंक केएफडब्लुको सहयोगमा रामेछाप, गोरखा, दोलखाको जिरी तथा रसुवाका जिल्ला अस्पताल बनाउने सम्झौता भएको छ ।

कोइकाको सहयोगमा नुवाकोट जिल्ला अस्पताल तथा स्वास्थ्य संस्था र युएसएआइडीको सहयोगमा बा¥हबिसे प्राथमिक स्वास्थ्य केन्द्रको स्थायी पुनःनिर्माणको सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।

भूकम्पमा परी घाइते हुनेका लागि विश्व स्वास्थ्य सङ्गठन, दैवी उद्धार कोष र निक साइमन इन्सटिच्युटबाट आएको रु एक करोड अर्ब ७० लाखमध्ये रु एक करोड ६१ लाख प्रभावित जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेको उपचार, ठूला शल्यक्रिया तथा स्वास्थ्य संस्था मर्मतका लागि वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

भूकम्पले सबैभन्दा बढी सिन्धुपाल्चोकका ४७ उप र स्वास्थ्य चौकी पूर्ण ध्वस्त भएका थिए भने १७ मा आंशिक क्षति पुगेको थियो । सिन्धुपाल्चोकको जिल्ला जनस्वास्थ्य कार्यालय पूर्णरुपमा क्षति भएको थियो ।

यसैगरी काठमाडौँका नौ, नुवाकोटका ३८, धादिङका ३२, गोरखाका २५, काभ्रेका २१, रसुवाका १४, ललितपुरका आठ, दोलखाका २७, मकवानपुरका १८, रामेछापका १९, ओखलढुङ्गाका १४ र सिन्धुलीका १२ उप र स्वास्थ्य चौकी ध्वस्त भए ।

यसैगरी ती जिल्लाका ३३४ वटा उप र स्वास्थ्य चौकी क्षतिग्रस्त भएका छन् । काठमाडौँका वीर, प्रसूतिगृह, पाटन, कान्ति बाल अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, आर्मी अस्पताल र सरुवा रोग अस्पतालका केही भवनमा समेत क्षति पुगेको थियो ।

भूकम्पबाट आठ हजार ८९७ जनाको ज्यान गएको थियो भने २२ हजार ३१० जना गम्भीर घाइते भएका थिए ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहले भूकम्पमा घाइते भएकामध्ये १५ हजार भन्दा बढी ट्रमाका बिरामी भएको, तीन हजार २२१ जनाको मेजर अपरेसन गरिएको र चार हजारभन्दा बढीको माइनर अपरेसन गरिएको बताउनुभयो ।

भूकम्पपछि ३६ देशका ११५ वटा विभिन्न संस्थाबाट १३७ वटा मेडिकल टिम नेपाल आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप