शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुस्ताङमा चौँरीगाईको आलो रगत पिउनेको घुइँचो

शनिबार, ११ वैशाख २०७३, ०९ : १५
शनिबार, ११ वैशाख २०७३

मुस्ताङ– मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउन सर्वसाधारणको घुइँचो लागेको छ ।

स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण आएका छन् । हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसानले जानकारी दिएका छन् ।

स्थानीय अगुवा किसान गोविन्द शेरचनले हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔले, जटामसीजस्ता बहुमूल्य जडीबुटी खाएर चौँरीगाईको रगतले शारीरिक फूर्तिसमेत बढ्ने बताए । “हामीले प्रतिगिलास रु १५० मा रगत बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ,” उनले भने – “गत वर्ष भूकम्पले अलि कम मानिस आए पनि यस वर्ष भने उत्साहजनक उपस्थिति छ ।” किसानले पालेका ५०० चौँरीबाट रगत निकालिने उनीहरुले जनाएका छन् । एउटा चौँरीबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ ।

आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुने मेलामा अहिलेसम्म एक हजार ५०० जनाले रगत पिइसकेको चौँरीपालन व्यवस्थापन समिति अध्यक्ष सुकेन्द्र गौचनले जानकारी दिनुभयो । “मेला अवधिसम्म तीन हजार जनाले रगत पिउने अनुमान गरेका छौँ,” उनले भने – “हामीले मागको आधारमा चौँरीगाईको मासु पनि बिक्री गर्दै आएका छौँ ।” स्थानीय किसानले विभिन्न किसिमका रोग निको हुने बताए पनि पशु अधिकारकर्मीले भने त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको र पशु अधिकार हनन भएको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप