शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विवरण लिएर आउन थाले सिनेमा हल

शनिबार, ११ वैशाख २०७३, ०९ : ४५
शनिबार, ११ वैशाख २०७३
काठमाडौँ– पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरु विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका छन् । केही समय अघिदेखि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदैआएका तर कर नतिरेका सिनेमा हललाई कामपाले कारबाहीको प्रक्रिया सुरु गरेको थियो । गोपीकृष्ण सिनेमा हलले कर तिर्न विभिन्न किसिमका करको शीर्षकसहितको विवरण लिएर आएको महानगरपालिका राजस्व विभागका विभागीय प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिए । अन्य सिनेमा हल पनि कर तिर्न विवरण लिएर आएका उहाँउनले बताए । “महानगरभित्र सञ्चालित सिनेमा हलले मनोरञ्जन कर अहिलेसम्म नतिरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन परेको हो” – प्रमुख प्रधानाङ्गले भने । उनका अनुसार कारबाही प्रक्रियाअन्तर्गत कर नतिर्ने हलको सुविधा कटौती गर्दै लगिने, मालपोत रोकिने र बैंक खाता रोक्का गरिने छ । हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत ११ सिनेमा हल सञ्चालित छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ । आफ्नो भवन रही सञ्चालन हुँदै आएका सिनेमा हलले बहाल घर तिर्नु नपर्ने र भाडामा लिई हल सञ्चालन गर्दै आएकाले बहाल करसमेत तिनुपर्ने नियम रहेको राजस्व महाशाखा प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिए । महानगरमा सञ्चालन हूँदै आएकामध्ये पाँच वटा हल भाडाका रहेका छन् । महानगरले २०५६ सालदेखि सिनेमा हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको भए पनि हालसम्म मनोरञ्जन कर कुनै पनि सिनेमा हलले तिरेका छैनन् । केहीले घरजग्गा र व्यवसाय कर तिर्ने गरेका छन् । सिनेमा हले कर नतिर्दा वार्षिक रु २५ लाख बक्यौता रहने गरेको छ । स्थानीय र नेपाली भाषामा देखाइने कुनै पनि सिनेमाको लागि भने मनोरञ्जन कर तिर्नु पर्दैन । यो भन्दाबाहेक अन्य सबै भाषामा देखाइने सिनेमाका लागि मनोरञ्जन कर तिर्नुपर्ने नियम रहेको छ । नियमअनुसार सिनेमा हलमा टिकट बिक्री हुने बित्तिकै प्रतिटिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप