शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हुमलालको मृत्यु रहस्यमय : जसले मध्यरातमा श्रीमतीसँग गुहार मागेका थिए

शनिबार, ११ वैशाख २०७३, १९ : १०
शनिबार, ११ वैशाख २०७३

गुल्मी – शुक्रबार विहान करिव ९ बजेको समयमा अर्घाखाँचीको एक स्थानमा अचेत अवस्थामा फेला परी उपचार गर्न लैजाने क्रममा मृत्यु भएका गुल्मीका एक व्यक्तिको मृत्युको घटना रहस्यमय देखिएको छ ।

अर्घाखाँची भगवती–५ भुस्खताको एक ख¥यानमा गुल्मी हस्तीचौर–३ अघारेका ३४ वर्षीय हुमलाल मुखिया अचेत अवस्थामा फेला परेका थिए । त्यहाँबाट उनलाई उपचार गर्नका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई हिजै पाल्पा रिफर गरिएको थियो ।

उनका छिमेकी एवं दर्लामचौर–९ का समाजसेवी विरबहादुर खत्रीले भने– ‘पाल्पा लैजाने क्रममा उनको हिजो दिउँसो ३ बजेर २५ मिनेट जाँदा रिडीमा मृत्यु भयो । उनकाअनुसार मुखिया जोत्ने काम गर्नका लागि गत एक वर्षदेखि अर्घाखाँचीको भगवती गाविसमा श्रीमती र ५ सन्तानसहित वसोवास गर्दै आएका थिए ।

भगवतीबाट उनकी श्रीमतीलाई हिजै घर पठाइएको र श्रीमानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको पोष्टमार्टम थियटरमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतकका अर्का छिमेकी खिमानन्द खनालकाअनुसार मुखियाको टाउकोमा गम्भीर चोट थियो । आँखाको कोखमा पनि सानो चोट थियो ।

‘तम्घास अस्पताल ल्याई पुर्याउँदा उनको घिटीघिटी सास मात्रै भएकोले उनीबाट केहि बुझ्न सकिएन, तर घटनाको प्रकृति सुन्दा उनलाई कसैले मारेर फोलेको हुन सक्छ’ खनालले भने– ‘उनी तल खसेको भनिएको ठाउँमाथि बाटोमा कसैले मिलाएर राखे जस्तो गरी उनका चप्पल र मोबाइल राखिएको सुनिन्छ ।’

घटनास्थलको छिमेकी गाउँ मरेङ्ग–८ का समाजसेवी कृष्ण फुल्देल पनि यो घटना रहस्यमय भएको बताउँछन् । अर्घातोष प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक विश्वकर्मा प्रसाद लोहारले गाउँलेहरुले उनलाई भुस्खातको सडकदेखि करिव सवा सय मिटर तल सल्लाको रुखको फेँदमा मुखियालाई लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

केहि आशंका लागेकोले भगवती–५ भुस्खातामा बसोबास गर्दै आएका गुल्मी अमरपुर–२ वुल्मका मुक्तबहादुर मुखियालाई समातेर जिल्ला प्रहरी कार्यालय सन्धीखर्क चलान गरेको बताए ।

यसरी रहस्यम छ, मुखियाको मृत्यु घटना बिहीवार दिनभरी त्यस भुसखता गाउँका एक ब्राम्हणको बारी जोत्न गएका हुमलाल मुखिया करिव साढे पाँच बजेको समयमा त्यहाँबाट हिँडेपछि ६ बजेतिर श्रीमतीलाई फोन गरेर म आज हाम्रो उतैतिरको एक जना दाजु भेटिनुभयो, म उहाँसँगै उहाँको घरमा जान्छु र पछि फोन गर्छु भनेर फोन राखेका थिए ।

उनकी श्रीमती देवकुँवारी भन्छिन– ‘त्यसको धेरै समय बितेपछि रातको करिब १ बजेतिर उहाँले फोन गरेर म एकदम अफ्ठ्यारोमा परें, मलाई लिन आईजा भनेर भन्नुभयो ।

मैले भने तपाई कहिल्लै यताउति नगई बेलैमा घर आउने मान्छे , किन त्यो मान्छेको घरमा जानुपरेको थियो र ? के अफ्ठ्यारो प¥यो ? भन्दा उहाँले त्यो अफ्ठ्यारो के हो भन्ने कुरा खुलाउनुभएन । मात्र उहाँले तीन पटकसम्म आईजा न ...आईजा न.... आईजा..मलाई लिन आईजा..........भनेपछि फोन काटियो ।

उहाँको फोन अफ भयो कि उहाँको पैसा सकियो थाहा भएन, मेरो मोवाईलमा मिसकल गर्ने पनि पैसा थिएन् । रातको समयमा पसलेलाई उठाउन पनि सकिन । त्यसपछि पिर प¥यो र जेठो छोरा र छोरीलाई लिएर राती नै खोज्न हिँडे । खोज्दा बाटोमा कतै नभेटेपछि उहाँ बसेको घर मुक्त भन्ने कहाँ पुगे ।

उनका दुई वटी श्रीमती रहेछन् । एउटीले भन्दै थिईन्– ‘दिउँसो मलाई मेरो लोग्नेले लास पारेर पिटेको हो खै कता छन् भनेर ढोका खोल्न मानिन् । उनकी जेठी श्रीमतीले भन्दै थिईन– ‘तपाईको लोग्नेले मेरो बुढालाई ठोकेर हिँडेको हो ।’ त्यसबेला उनका श्रीमान बारीमा देखिन्थे । उनले मेरो श्रीमानलाई अघि नै हिँडेका हुन ९ बजेतिर भनेर भन्दै थिए ।

यहि घरमा बसेपछि मेरो श्रीमान तपाईहरुले नै खोज्दिनुपर्छ भनेर मैले अड्डी लिएँ । उनीहरुले खोज्छम, खोज्छम पिर नर्गनुस भनेर भने । खोज्दै जाँदा मैले उहाँको चप्पल र मोबाईल थुपक्क बाटोमा राखेको अवस्थामा देखे र साथमा राखे । पछि त्यस तल सल्लाको रुखको फेदमा उहाँ हुनुहुन्छ भन्ने थाहा पाएर हेर्न गईम । त्यतिबेला उहाँको सास मात्रै थियो ।’

उनी थप्छिन् – ‘९ बजे उनीहरुको घरबाट हिँडे भन्नुभएका उहाँले रातको एक बजे कहाँबाट के कुरामा अफ्ठ्यारोमा परे भन्नुभयो त ? शंका यसैमा छ र उहाँलाई कसैले मारेरै फालेको हुनुपर्छ भन्ने मलाई लागेको छ ।’

उनी सदा झैँ सात बजेतिर गोरु घसाउन गएका थिए । खान पनि उनै ब्राम्हणको घरमा खाएर जोतेका थिए । त्यसअघि गुल्मी अमरपुर बुल्मका मुक्तबहादुरसँग न गाउँमा छँदा न त अर्घाखाँची आउँदा उनीहरु दुई बीच भेटघाट नहुने गरेको उनकी श्रीमती बताउँछिन् । मुक्तबहादुरले धेरै अघिदेखि मिस्त्री काम गर्दै आएका छन् ।

जेठी श्रीमतीको मृत्यु भएपछि सडक निर्माणका क्रममा आफूले कजाउने दुई वटै युवतीहरुसँग एक साथै लभ चक्कर चलेपछि एक महिनाको अन्तरालमा ति दुई वटै युवतीलाई श्रीमती बनाएर घर भित्र्याएको स्थानीयवासीले बताए । उनी दुई वर्षदेखि उनै श्रीमतीहरु र छोरा छोरीहरु लिएर अर्घाखाँचीको त्यस स्थानमा मिस्त्री काम गर्दै आएका थिए ।

घटनास्थलमा पुगेका प्रहरी यसो भन्छन् घटनास्थल र मुक्तबहादुर बस्दै आएको घरमा पुगेर मुचुल्का तयार पारेका अर्घातोष प्रहरी चौकी प्रमुख प्रसनी लोहारका अनुसार त्यस दिन साँझ उनको घरमा बसेर ती दुई जनाले तीन वटा सोफी नामको रक्सी किनेर खाएका थिए ।

त्यसपछि करिब ९ बजेतिर हुमलाल हिँडेको मुक्तबहादुरको परिवारले बताएको उनले जानकारी दिए । गाउँलेहरुले मुक्तबहादुरमाथि शंका गरेर आफूहरुलाई बोलाएपछि गएर निजलाई पक्राउ गरेर चौकीमा ल्याउँदा मुक्तबहादुर अलि कडा स्वभावमा प्रस्तुत हुँदै– ‘मैले केहि गल्ती गरेको छैन् मलाई कसले के गर्छ ?’ भनेका थिए – चौकी प्रमुख लोहारले भने ।

घटनावारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृतकका पाँच सन्तान रहेका छन् । घरमा सम्पत्तीका नाममा बास मात्रै भएकोले ति लालबाला पाल्न उनी अर्घाखाँची जोत्न हिँडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप