‘खै पँधेरो ? –मोटर बोटोले खायो, खै बाटो ? –पहिरोले लग्योे’
गुल्मी– साना–साना नानी बाबुहरुले पढ्ने गर्छन– ‘खै मुसो ? –दुलाभित्र पस्यो.... खै दुलो ? –गाईले कुच्यो...’ खै गाई ? –खोलाले बगायो....। खै खोलो ? –सुक्यो.....ठिक त्यस्तै अब बुढापाकाहरुले यसरी भट्याउने बेला आएको छ । ‘खै पँधेरो ? –मोटरबाटोले खायो । खै मोटरबाटो ? –पहिरोले लग्यो.. , खै पहिरो ? –डोजर लिन गयो ? खै डोजर ? जिविसमै अड्कियो ...’
हुन पनि गाउँ–गाउँमा मोटरबाटाहरु त खनिएका छन् तर त्यसलाई सम्पन्न गर्न सञ्चालन हुनुपर्ने डोजरहरु जिल्ला विकास समितिमै रोकिँदा न गाडी गुड्ने मोटर बाटो, न हिजो आफूहरु हिँड्ने गोरेटो बाटो, न पानी पँधेरो, न पाटी–पौवा, न यो गर्मीयाममा शितल ताप्ने वर–पिपल र स्वामीका चौपारीहरु, न त हिजो गरी खाने खेतावारी भएर बसेका छन् कैयौं गाउँका मानिसहरु ।
टोल–टोल, घर–घरमा मोटर बाटो पुर्याउने होडबाजी बढ्दै जाँदा गाउँ–गाउँमा चिटिक्क चौपारी चिनेर बुढा पाकाहरुद्धारा संरक्षण गरिएका वर–पिपल स्वामीका ठुल्ठूला रुखहरु जरैदेखि ढलाइएको छ । पाटी पौवा भत्काइएको छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा सदियौंदेखि यो हिउँद महिनामा समेत गाउँवासीले सदियौंदेखि पिउँदै आएको पानी पँधेराहरुको नामोनिशान मेटाइएको छ ।
कुनै समय पानी लिन आउनेहरुको विहानदेखि साँझसम्म भीड लाग्ने पँधेरोमा आजकलका पिढिँले एकादेशको कथा कहे जस्तै कहेर भन्न थालेका छन् – ‘त्यो पारी खोल्सामा उहिले–उहिले ठूलै पानी पँधेरो थियो रे ।’ रेसुङ्गा नगरपालिका–१३ साविकको सिमीचौर–९ कुमाल गाउँका ६२ वर्षीय तुलबहादुर वुचाले आफ्नो टोल नजिकैको एउटा खोल्सा देखाउँदै भने– ‘उ त्यो खोल्सामा यो मोटर बाटो नखन्ने बेलासम्म यो हिउँदमा समेत हामी पुरै गाउँवासीलाई पानी पुर्याउने ठूलै पँधेरो थियो, अहिले यो हिउँदमा त परै जाओस् वर्षायाममा समेत पानी जम्ने कुवा छैन् ।’
उनले त्यसको ठिक विपरित दिशामा रहेको अर्को पँधेरो पनि देखाउँदै भने – ‘ल हेर्नुहोस् यहाँ पनि ठूलै पँधेरो थियो, पल्लो गाउँको ठूलो भीड लाग्थ्यो अहिले साँझ ६ बजेदेखि विहान ६ बजेसम्म पर्खेर थोपा–थोपा संगाले पनि ५ गाग्रो पानी भर्न सकिन्न ।’
त्यसरी त्यस गाउँको खोल्साखाल्सीमा रहेका सबै मुहानहरु सुक्दै जाँदा अहिले त्यस कुमाल गाउँका ७२ घरधुरीले तल एक डेढ घण्टाको दुरीमा पर्ने खोरेती खोलाको प्रदुषित पानी पिउन बाध्य भएका छन् । सोही स्थानकी सिता पाण्डे भन्छिन– ‘तल खोलाको लेध्रो पानी खुवाउँदा यहाँका बालबालिकाहरु बिरामी परेका छन्, बेलामा स्कुल जान पनि पाएका छैनन् । हाम्रो दुख देख्ने सरकार पनि छैन जस्तो लागेको छ ।’मोटर बाटोका कारण पानीका मुल सुक्दै जाने क्रम त्यस गाउँमा मात्र होइन हरेक गाउँमा बढेको छ । अर्को कुरा मोटर बाटो नखनेका स्थानमा रहेका पँधेराहरु पनि मर्मत सम्भारका अभावमा सुक्दै गएका छन् । हरेक वर्ष पँधेरो सोहर्ने चलन थियो गाउँमा अहिले हराएको छ । पँधेरो सोहरेपछि सुकेको मुल पनि फुट्ने गर्दछ भनेर बुढापाकाहरु भन्ने गर्दछन् ।
पँधरो त मोटरबाटाले खायो, मोटरबाटो पनि पहिरोले लग्यो, डोजर पनि जिविसमा अड्कियो, तर किन अड्कियो ? वा किन ढिला सुस्ती भयो ? भन्ने कुरा प्राय हरेक गाउँका केहि टाठाबाठाहरु वाहेक अरु धेरै जना अनविज्ञ छन् । उपभोक्ता समितिको बैठक पुस्तिकामा उपभोक्ताहरुको बृहत भेलाले फलानो उपभोक्ता समिति गठन ग¥यो । यस्तो, उस्तो निर्णय भयो भनेर लेखिएको हुन्छ ।
तर वास्ताविकता यस्तो छ– त्यो बृहत भेला कुनै ठालुको विस्तरामा वा होटलको बन्द कोठामा दुईतिन जनाले बनाएको कृतिम बृहत भेला मात्र हो । जसले गर्दा राज्यको ढुकुटीको दुरुपयोगसँगै विकासका नाममा प्राकृतिक स्रोत–साधनको विनास हुने क्रम बढ्दो छ । यस जिल्लाका आधा करोडभन्दा बढि खर्च भएका थुप्रै मोटरबाटाहरु हात्तीका मुखमा जिरा भने झैँ गरी रकम पर्दा अलपत्र छन् ।
भञ्ज्याङ्ग कालमाटी मुसिकोट देउराली सडक खण्डमा ५० लाखभन्दा बढि रकम एउटै पहिरोले खाई दिँदा अहिलेसम्म पनि सडक अलपत्र छ । सोही स्थानबाट निस्ते खोलाको तिरैतिर जाने मोटरबाट पनि अलपत्र छ । अहिले त गाडी गुडाउन खनिएको त्यस बाटोमा कृषकहरुले खेतीपाती सुरु गरेका छन् । त्यसमा पनि आधा करोड करिव रकम खर्च भईसकेको उपभोक्ता समितिले बताएको छ ।तुराङ्गदेखि हुग्दीखोलाको तिरैतिर शान्तिपुर पुर्याउन सुरु गरिएको मोटरबाटो पनि त्यति नै रकम खर्चिए पनि अलपत्र छ । त्यस क्षेत्र नम्वर १, यता २ र ३ का थुपै्र गाविसभित्र खनिएका मोटरबाटाहरुको अवस्था पनि उस्तै छ । ति सडकहरुमध्ये कोही गाविसको स्रोतबाट खनिएका, कुनै सडक विभागमार्फत खनिएका र केहि जिल्ला विकास समितिमार्फत खनिएको बताउँदै स्थानीय विकास अधिकारी डिलाराम पन्थीले जिविसमार्फत खनिएका सडकहरुलाई सम्वोधन गर्दै आएको जानकारी दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण