शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चार स्थानमा चार शीर्षनेताबाट पुनःनिर्माण शुभारम्भ हुने

आइतबार, १२ वैशाख २०७३, १० : २१
आइतबार, १२ वैशाख २०७३

काठमाडौँ– सरकारले भूकम्प गएको एक वर्षको स्मरण गर्दै क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनः निर्माणको काम विभिन्न चार स्थानबाट सुरु गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनः निर्माणको सुरुवात अनन्तपुर मन्दिर स्वयम्भूको पुनः निर्माण शुभारम्भबाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, पाटन दरबार क्षेत्रमा रहेको मणिमण्डपको पुनः निर्माण शुभारम्भ पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन्, भने वंशगोपाल मन्दिर, हनुमानढोकाको पुनः निर्माणको नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले शुभारम्भ गर्नेछन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनः निर्माणको शुभारम्भ गर्नेछन् ।

भूकम्पबाट क्षति भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनः निर्माणको कार्य सोमबार चार स्थानमा ९ बजे एकैपटक प्रधानमन्त्री तथा पार्टीका शीर्षनेताले शुभारम्भ गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।

चार स्थानबाट पुनः निर्माणको शुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताको उपस्थितिमा गत एक वर्षभित्र नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्बिर तथा भिडियो क्लिपको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप