शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आँखै अगाडि धरहरा ढल्यो, त्यो दिन सम्झदा अझै मुटु काँप्छ !

आइतबार, १२ वैशाख २०७३, १४ : २६
आइतबार, १२ वैशाख २०७३

काठमाडौं – भारतको सितामढी स्थायी घर भएका सन्तलाल राय दश बर्षदेखि घरहराको फेदीमा जुत्ता सिउँथे । ०७२ वैशाख १२ गते भूकम्प आउँदा उनी जुत्ता सिलाउँदै थिए, धरहरा अघिल्तीर उनी बसेको सडक पेटी काम्दै गर्दा धरहरामा चढेकाहरु चिच्याउन थालिसकेका थिए । ‘मैले भूकम्प आएको भन्ने थाहै पाइँन, के भयो–के भयो ! सबै भाग्न थाले’ गोरखा भूकम्पको ठीक एक वर्षपछि आइतबार बिहान धरहराको फेदीमा भेटिएका रायले भने, ‘म जुत्ताको सोल र सियो–धागो छाडेर भाग्न खोजेँ, केही बेरमा आँखै अगाडी धरहरा ढल्यो ।’

भूकम्पको बेगसँगै दायाँ बायाँ घुमेको धरहरा धन्न सन्तलाल भागेको तिर ढलेन, विपरित दिशामा ढल्यो । ‘भाग्यले बाँचे’ लामो श्वास लिँदै सन्तलालले भने, ‘कल्याङ, कल्याङ मान्छे रोएको आवाज आउँदै थियो, धुलोको ठूलो मुस्लो आकाशतिर उड्यो, मेरो आँखा अगाडीबाट बर्षौँदेखिको अग्लो धरहरा ढलिसकेको थियो ।’ धरहरा ढलेपछि सन्तलाल आफ्नो डेरा (खिचापोखरी) तिर लागे । खिचापोखरीको डेराभित्र पस्नै नसक्ने गरी चर्किसकेको थियो । त्यहाँबाट निराश भएर रत्नर्पाकतिर लागेका सन्तलाल साँझ ८ बजेतिर धरहराको फेदीमा पुगे जहाँ उनको जुत्ता सिलाउने सडक पेटीको पसल थिएन । ‘सेनाका दाईलेभित्र लगेर राखिदिनुभएछ’ बर्षदिन अघिको घटना सम्झदै उनले भने, ‘त्यसपछि गाउँतिर लागेँ, महिनादिनपछि आएर फेरी जुत्ता सिउन थालेँ, अहिले पनि सिलाउँदै छु ।’ ‘त्यो दिनलाई कसरी संझनुहुन्छ ?’ पंक्तिकारको प्रश्न सुनेपछि धरहराको भग्नावेशतिर आँखा डुलाउँदै सन्तलालले भने, ‘अझै मुटु काम्दैछ ।’ भूकम्पले धरहरा ढलेपनि भाग्यले बाँचेका रामचन्द्र श्रेष्ठको कथा पनि उस्तै छ । लामो समयदेखी धरहरामा मालीको जागिर खाँदै आएका रामचन्द्र धरहराको सवैभन्दा माथिल्लो भागमा रहेको मन्दिरका पूजारी पनि हुन् । ०७२ वैशाख १२ गते भूकम्प जानु केहीबेर अघिसम्म मात्र पनि रामचन्द्र धरहराको टुप्पोमा रहेको मन्दिरमा थिए । ‘त्यसदिन मन्दिरमा मेरो बिहानको पालो परेको थियो, बिहान साँढे ८ बजेदेखी साँढे ११ बजेसम्म धरहराको टुप्पोमा थिएँ’ आईतबार बिहान धराहराको फेदीमा भेटिएका श्रेष्ठले भने, ‘मलाई पालो दिन अर्का पुजारी मुकुन्द शर्मा आएसँगै म तल आएँ, त्यसको २० मिनेटपछि धरहरा ढलिहाल्यो ।’ सिन्धुपाल्चोकको स्याउले स्थायी घर भएका रामचन्द्र त्यो दिन सम्झेर अहिले पनि टोलाउँछन् । बर्षौंदेखि उनले मितेरी लगाएको धरहरा ढलेको भोलिपल्ट उनी सिन्धुपाल्चोक तिर लागे । त्यहाँ पुग्दा उनको पुख्र्यौली थातथलो ढलिसकेको थियो । आजकाल रामचन्द्र धरहराको फेदीमै भेटिन्छन् । एक वर्ष बिते पनि त्यो दिनको याद अझै ताजै छ, उनको मस्तिषकमा । धरहराको भग्नावशेषतिर आँखा डुलाउँदै श्रेष्ठले भने, ‘त्यस दिन भाग्यले बाँचे, २० मिनेट मात्रै ढिला भएको भए, शायद बाच्दिनँथेँ ।’ भूकम्प आएको बर्षदिन पछि प्रधानमन्त्री, मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ अधिकारी धरहराको फेदीमा पुगे, फूल चढाए । मृत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर फर्किए । प्रधानमन्त्रीले फुल चढाएर हिँडेको दृश्य नजिकबाट नियाल्दै थिए बाग्लुङका गंगाधर कँडेल । बाग्लुङ जिविसको सदस्य समेत भैसकेका गंगाधर गत बर्ष भूकम्प जाँदा सुन्धारामै थिए । धरहरा नजिकै उनको कोठा थियो, भूकम्प जाँदा बाथरुममा धारो समातेर अडिएका कँडेल, धरहरा ढल्ने बित्तिकै त्यसको फेदीमा पुगीसकेका थिए । धरहरा ढलेको एक बर्षसम्म पुनर्निर्माणको ‘गफ’ धेरै सुनेका गंगाधर बर्ष दिनसम्म पनि धरहराको निर्माणकार्य शुरु नभएकोमा निराश थिए । ‘बर्ष दिन पछि प्रधानमन्त्री एक मिनेट धरहरा आएर नाटक देखाए, यसरी हुनेवाला केही छैन’ धरहराको फेदीमा उभिएका गंगाधरले भने, ‘विदेशबाट पैसा आएको आएकै छ, तर धरहराको पुनर्निमाण अझै शुरु भएन ।’ बाजेको पालादेखि धरहराको फेदीमा मासु बेच्दै आएका शेख दिल साद धरहरा हल्लिन थालेपछि मासु पसल छाडेर भागे । ‘मलाई लाग्यो मेरो पसलमाथी नै धरहरा ढल्दैछ’ बर्षदिन अघिको घटना संझँदै दिल साद भन्छन्, ‘काउन्टरको पैसा समेत नझिकी भागेँ, एकै निमेशमा धरहरा पसलमाथी ढल्यो । उनको मासु पसलसँगै रहेको तन्दुरी ढावा सञ्चालकका छोरा र त्यहाँ कार्यरत सात जना स्टाफहरु धरहराको भग्नावशेषमा पुरिए । धरहरा ढलेको एक महिनापछि पुरानो पसल खोस्रेर जस्ताको टहरोमा फेरि मासु बेच्न थालेका दिल साद त्यो दिन संझँदा अहिले पनि अत्यास लाग्ने बताउँछन् । भन्छन्, ‘त्यो दिन संझँदा यहाँ बस्नै मन लाग्दैन, परिवार पाल्नै पर्यो अरु काम जानेको छैन त्यसैले फेरि यही ठाउँमा पसल खोलेर जीवन चलाउँदै छु ।’ शेख दिल शाद मासु काट्दै थिए, धरहराको फेदीमा अर्को एउटा समूह कालो कपडा लगाएर नाटक देखाउँदै थिए । विवेकशिल नेपालीले बर्षदिनसम्म पुनर्निर्माण शुरु नगरेको भन्दै ‘प्रधानमन्त्रीलाई कालो पिण्ड’ नामक नाटक धरहराको फेदीमा देखायो । त्यसभन्दा अघि प्रधानमन्त्रीले धरहराको फेदीमा फूलमाला चढाएर बाहिरी सकेका थिए । (फोटो ः अशोक दुलाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप