शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नेताहरु भन्छन्, ‘अबको नेतृत्व हामी गर्छौं’

आइतबार, १२ वैशाख २०७३, १६ : २१
आइतबार, १२ वैशाख २०७३

काठमाडौँ - नेपाली काँग्रेसका नेताहरुले भूकम्प गएको एक वर्षसम्म सरकारले पुनःनिर्माणको काम गर्न नसकेको बताएका छन् ।

पूर्वसांसद् एवम् काँग्रेस नेता चक्रबहादुर ठकुरीको पहिलो स्मृति सभालाई आज जोरपाटीमा सम्बोधन गर्दै नेताहरुले यो सरकारले संविधानको कार्यान्वयन गर्न नसक्ने पनि प्रमाणित भएको जिकिर गरे ।

पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिले अहिलेको सरकारले संविधान कार्यान्वयन पनि गर्न सकेन, पुनःनिर्माण पनि नगरेको बताए ।

नाकाबन्दी खुलेको महिनौँ भइसक्दा पनि बजारमा सामान नपाइने र कालाबजारिया मौलाउने अवस्थालाई सरकारले तोड्न नसकेको नेता निधिको भनाइ थियो ।

केन्द्रीय सदस्य एवम् सांसद बालकृष्ण खाँणले वर्तमान सरकारले संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माण दुबै गर्न नसकेकाले अबको नेतृत्व काँग्रेसले गर्ने बताए ।

सांसद रामहरि खतिवडाले वर्तमान सरकारले संविधानको कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।

नेकपा (एमाले)का सांसद रामेश्वर फुयाँलले काँग्रेसले अवज्ञा गरेको १६ बुँदे सहमतिलाई मान्न आग्रह गर्दै केपी शर्मा ओलीकै नेतृत्वमा स्थानीय निकाय, ट्रेड युनियन र स्ववियु निर्वाचन गर्नु पर्ने जिकिर गरे । पूर्व सांसद ठकुरीसँग राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि विकास निर्माणको काम मिलेर गरेको सांसद् फुयाँलले सुनाए।

सांसद दीपकप्रसाद कुइँकेलले काठमाडौँ उपत्यकामा आजसम्म पनि भूकम्पबाट पीडितको सही तथ्याङ्क आउन नसकेको बताउँदै आजका दिन ११ जिल्लामा सम्झौता गर्दा पनि उपत्यकाका पीडित छुटेको बताए ।

सभामा सांसद अम्बिका बस्नेत, नेता सुरेन्द्रराज पाण्डे, पूर्वमन्त्री इन्द्रबहादुर गुरुङ, काँग्रेस काठमाडौँ सभापति सबुज बानियाँ, पूर्वसांसद् उर्मिला थापा, नेता राजु श्रेष्ठ, लोकेश ढकाल र श्रीकृष्ण ज्योति, एकीकृत नेकपा ९माओवादी० का नेता श्रीकृष्ण बराल, ठकुरीका सुपुत्र विमल, साहित्यकार गोविन्द वेदमणि, चामुण्डा उमाविका प्राचार्य यादव पौडेल, कलाकार श्रीकृष्ण सिंखडा लगायतले राजनीतिमा क्रियाशील भए पनि ठकुरी सामाजिक रुपमा विकास निर्माणमा पनि सक्रिय भएको स्मरण गरे ।

गत वर्ष वैशाख १२ गते भूकम्पका बेला शिक्षकको कार्यक्रममा भाग लिएर रसुवाबाट काठमाडौँ फर्कने क्रममा स्याफ्रुबेंसीअघिको खोप्लाङभिरमा पहिराले थिची ठकुरीको निधन भएको थियो । ठकुरी विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ–३ बाट निर्वाचित भएका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप