शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कहिले होला कालमोचन मन्दिरको पुनर्निर्माण ?

आइतबार, १२ वैशाख २०७३, १७ : ३०
आइतबार, १२ वैशाख २०७३

काठमाडौं – भूकम्पको एक बर्ष बित्दापनि त्रिपुरेश्वरस्थित कालमोचन मन्दिरको पुननिर्माणतिर ध्यान दिइएको छैन । १४२ बर्ष पूरानो पुरातात्विक सम्पदाको पुननिर्माणमा ध्यान नदिइएकोमा पूजारी दुखी छन् । मन्दिरको पुननिर्माण ढिलाई हुँदा भगवानप्रतिको आस्था नै घटेर जाने कालमोचन मन्दिरका पूजारी गोबिन्दप्रसाद कोईराला बताउँछन् । जंगबहादुर राणाले आफू प्रधानमन्त्री हुन गराएको हत्याकाण्डमा ज्यान गुमाएकाको शवलाई यहीं ठाँउमा दाहसंस्कार गरिएको विश्वास गरिन्छ । तीनै मृतक आत्माको चिरशान्तिको लागि र आफ्नो पाप मोचन गर्नको लागि तत्कालिन प्रधानमन्त्री राणाले बिसं १९३१ सालमा कालमोचन मन्दिर निर्माण गरेको मन्दिर प्राङगणमा उभ्याईएको जंगबहादुरको शालिक र स्तम्भमा उल्लेख छ ।

गत साल बैशाख १२ गते भुकम्प आउनु भन्दा केही समय अगाडि देखी नै यो ऐतिहासिक मन्दिर जिर्ण भैसकेको थियो । तत्कालिन समयमा मर्मतको लागि गुठीको ध्यानाकर्षण गराएपनि मन्दिर र्ममत सम्हारमा कसैले ध्यान दिएको थिएन । ०५७ सालदेखी मन्दिरमा पुजा गर्दै आएका पुजारी कोईराला भन्छन्, ‘कालमोचन मन्दिर मर्मतमा पहिल्यै ध्यान दिईएको भए यस्तो अवस्था आउने थिएन ।’

मन्दिर निर्माणपछि यहाँ स्थापना गरिएको सत्यनारायण, लक्ष्मी र सरस्वतीको मूर्ति नेपालबाहिरबाट ल्याएर राखिएको पूजारी कोईराला बताउँछन् । भुकम्पले भत्काएको मन्दिरबाट हप्तौं पछि मात्र मूर्ति बाहिर निकाल्न सकिएको थियो । भुकम्प पछिका २ महिनासम्म मूर्तिलाई भुँईमै सुताएर पूजा गरिएको पूजारीले बताए । पछि छेउमा एउटा सानो मन्दिर बनाएर मूर्तिलाई क्रेनले उचालेर भित्र राखिएको उनले बताए । मन्दिर परिसरका रहेको चार नारायणको मन्दिर पुरै नभत्के पनि जीर्ण वनेका छन् । त्यस्तै मन्दिरपरिसरको भग्नाबशेष पुरै हटाउन सकिएको छैन । नेपालको ऐतिहासिक बिराशत बोकेको र सैंयौं बर्ष पुरानो ऐतिहासिक संरचनाको पुर्ननिर्माण कार्य छिटै गरिनुपर्ने त्यहाँका स्थानिय बासिन्दाको माग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप