शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रथम जननिर्वाचित वामपन्थी प्रधानमन्त्री अधिकारीको १७ औँ स्मृति दिवस

सोमबार, १३ वैशाख २०७३, १० : ३६
सोमबार, १३ वैशाख २०७३

काठमाडौँ - प्रथम जननिर्वाचित वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औँ स्मृति दिवसमा आज स्वर्गीय अधिकारीको योगदानको स्मरण गरिएको छ ।

सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गरे भने विभिन्न वामपन्थी नेताले उनले वाम प्रजातान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको योगदानको चर्चा गरे ।

प्रधानमन्त्री ओलीले नेता अधिकारीले सदैव नेपाल र नेपालीको भलोका लागि काम गरेको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन यहाँसम्म आइपुग्नुमा उनको भूमिका अविस्मरणीय रहेको बताए । ओलीले भने, “देशको इतिहासमा अधिकारीको नाम छुट्नु हुँदैन । छुट्न सक्दैन ।”

एमालेका नेता माधवकुमार नेपालले अधिकारीको नेतृत्वमा तत्कालीन माक्र्सवादी र माले एकीकृत भई आजको एमाले बनेको र उनको योगदान कसैले भुल्न नसक्ने बताए ।

यस्तै एमालेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादीका नेता अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीलगायतले पनि स्वर्गीय अधिकारीको योगदानबारे बोल्दै उनको सम्मानका लागि सबै कम्युनिस्ट एक भई संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

विसं १९७७ मा जन्मनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले० का पूर्व अध्यक्ष अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो । उनी २०४७ मा पार्टी एकीकृत भएपछिको पहिलो अध्यक्ष थिए। उनकै नेतृत्वमा एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा संसद्मा ठूलो दलको हैसियत पाएपछि बनेको नौ महिने सरकार आफ्नो गाउँ आफैँ बनाउँ जस्ता कार्यक्रमबाट लोकप्रिय बनेको थियो ।

उनको स्मृतिमा आजै प्रतिष्ठानले प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा नयाँ संविधान कार्यान्वयन र चुनौती विषयक विचारगोष्ठीको पनि आयोजना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप