शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

घरमै बसेर पाइने भयो बाढीको सूचना

सोमबार, १३ वैशाख २०७३, १० : ५७
सोमबार, १३ वैशाख २०७३

महोत्तरी– वर्षायाम लाग्न केही महिना बाँकी छँदा घरमै बसेर बाढी आउने पूर्व सूचना थाहा पाउने भएपछि महोत्तरीका जनतामा खुसी छाएको छ ।

वर्षायाम सुरु भएपछि खहरे उर्लने र चुरे क्षेत्रको बाढी गाउँमा पसेर घरखेत बगाउने गरेकोमा अहिले अन्तर्राष्ट्रिय एकीकरण पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा समुदायमा आधारित बाढी सूचना प्रणाली जडान गरेपछि खुसी छाएको हो ।

धनुषा र महोत्तरीको सिमानामा रहेको रातुखोलामा बाढी आएपछि जलेश्वर, नैनी, पशुपतिनगर, सरपल्लोलगायतका गाविसमा सबैभन्दा धेरै प्रभाव पार्ने गरेको थियो । इसिमोडले एक वर्ष पहिले यस क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गरेको हो ।

विभिन्न समयमा पाँच पटकसम्म घरखेत बगाएका सरपल्लो गाविसका मोहित महतो उक्त सूचना प्रणाली जडान भएपछि सबैभन्दा बढी खुसी देखिए । उनको घर २०३५÷०३९÷४०÷४५ र ६० सालमा बगाएको थियो । उनी भन्छन्, “यो बाढीको सूचना प्रणाली जडान भएपछि मलाई साह्रै खुसी लागेको छ अब त बाढी आयो भनेपनि पहिल्यै सूचना दिन्छ अनि आफ्नो सरसामान लिएर भाग्न सजिलो हुन्छ ।”

एक हजार ७७९ घरधुरी रहेको सो गाविसमा बाढी आएसँगै ५०० भन्दा बढी घर डुबाउने तथा बगाउने गरेको छ । अहिले पूर्वसूचना प्रणाली जडान गरेपछि सलपल्लो, जलेश्वर क्षेत्रका बासिन्दालाई सजिलो भएको छ । सो प्रणाली सरपल्लोभन्दा ३६ किलोमिटर माथी कालापानी र लालगढमा जडान गरिएको छ ।

इसिमोडले पानीको लेभल नाप गर्न तीन सतह राखेको छ । पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सचेत हुनुपर्ने र तेस्रो सतहमा बगे घर छाड्नुपर्ने हुन्छ । बाढी पूर्व सूचना विज्ञ सागर बज्राचार्य तेस्रो सतहमा पानी आए सबैभन्दा खतरनाक हुने बताउँछन् । उनी भन्छन्, “यस्तो अवस्थामा समयमै सूचना प्रवाह गर्नसके आफ्ना बालबच्चा धनसम्पत्ति लिएर हिँड्न सकिन्छ ।”

असार, साउन भदौ र असोजमा बढी बाढी आउने भएकाले त्यस समयमा बस्तीलाई विशेष हेरचाह गर्नुपर्ने भएकाले मासिक पारिश्रमिक दिएर छुट्टै कर्मचारीको व्यवस्थासमेत गरिएको छ ।

रातुखोलामा बाढी आउँदा महोत्तरीका २५÷३० गाविसलाई असर पु¥याउने गरेको छ भने भारतका कतिपय क्षेत्र पनि डुबान हुने गरेको छ । सरपल्लोका राजकुमार महतोको घर पनि बाढीले तीन पटक बगाइसकेको छ । अहिले उनी खोलामा पानी बढेको नबढेको जानकारी दिने काम गर्छन्। उनी भन्छन्, “अघिल्ला वर्षमा बाढी आउँछ कि भनेर गाँउका ८–१० जनाको टोली रातभर जाग्राम बस्थ्यौँ अहिले यो मेसिन जडान भएपछि सजिलो भएको छ ।”

रातुखोला धेरै बाढी आइरहने क्षेत्र भएकाले अहिले त्यहाँका मानिसले छुट्टै आश्रयस्थलको समेत व्यवस्था गरेका छन् । यस्तै पछिल्लो समय खोलाको पानी गाँउमा नपसोस् भनेर दुई मिटर अग्लो पर्खालसमेत लगाएका छन् ।

सरपल्लोका मानिसको मुख्य व्यवसाय खेतीपाती भए पनि पानी ठूलो परेको बेला भेल आएर सबै जग्गा बगाउने तथा पुर्ने गरेको स्थानीयवासी बताउँछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप