विश्वभरिका तेक्वान्दो खेलाडीको प्रतिनिधित्व गर्दै ओलम्पिक फ्लेम इभेन्टस्मा जाँदै छिन् यी नेपाली चेली
रोमी गिरी फोर डन लेभलको तेक्वान्दो खेलाडी हुन् । उनी संयुक्त राष्ट्रसंघको जेनेभास्थित मुख्यालयमा हुने ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस २०१६’ र ‘ओलम्पिक फ्लेम इभेन्टस्मा’ आमन्त्रण गरिएकी एक नेपाली युवती हुन् । यो कार्यक्रम अप्रिल २९ अर्थात् वैशाख १७ गते हुँदै छ । संयुक्त राष्ट्रसंघको कार्यालयमा ओलम्पिक टर्च आउन लागेको यो दोस्रोपटक हो । यसअघि सन् २००४ को एथ्लेन्स ओलम्पिकअघि पनि यसरी नै टर्च तथा फ्लेम संयुक्त राष्ट्रसंघको कार्यालय हुँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पुगेको थियो । ओलम्पिक टर्च तथा फ्लेम ओलम्पिक खेल तथा शान्ति, एकता र मित्रताको प्रतिनिधित्वका लागि इतिहासकै महत्वपूर्ण संकेत मानिन्छ । विशेष समारोहबीच फ्लेम तथा टर्चलाई ग्रीसको ओलम्पियास्थित सहरबाट विश्वभरि घुमाइन्छ र ओलम्पिक खेलको आयोजनाका दिन आयोजक सहरमा पुर्याइन्छ । यसरी ओलम्पिक सन्देशलाई आयोजक देशसम्म पुर्याइन्छ । ब्राजिल जानुअघि रियो ओलम्पिक गेम्सको पूर्वसन्ध्यामा यसपटक ओलम्पिक फ्लेम स्वीट्जरल्यान्ड हुँदै जानेछ र जेनेभामा यसलाई एक रात राखिनेछ । यसै कार्यक्रमअन्तर्गत गिरी संयुक्त राष्ट्रसंघ महासचिव बान की मुन तथा आईओसी अध्यक्ष थोमस बचसँगै हाई लेभल इभेन्टमा सहभागिता जनाउनेछिन् । त्यहाँ उनले तीन मिनेट आफ्नो भनाइ पनि राख्नेछिन् । इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस २०१६’ र ‘ओलम्पिक फ्लेम इभेन्टस्मा’ सहभागी हुन थालेको गिरीको तयारी कस्तो छ ? यसै विषयमा उनीसँग गरिएको कुराकानी उनकै शब्दमा :
म अहिले तेक्वान्दोको राष्ट्रिय प्रशिक्षक हुँ । राष्ट्रिय रेफ्रीका रूपमा पनि काम गर्छु । फोर डन लेभलको तेक्वान्दो खेलाडी पनि हुँ । मैले २०५८ देखि तेक्वान्दो सुरु गरेकी हुँ । १४ वर्ष मैले यही बिताएँ । गत वर्ष युथ लिडरसिप क्याम्पमा नेपालको प्रतिनिधित्व गरेर जापानमा सहभागी भएकी थिएँ । विभिन्न प्रक्रिया पूरा गरेर नै म छनोट भएकी थिएँ । लिखित परीक्षा, अन्तर्वार्ता र व्यावहारिक परीक्षा पूरा गरेर छनोट सम्भव भएको थियो । नेपालको युथ लिडरका रूपमा म त्यहाँ गएकी थिएँ । नेपाल तेक्वान्दो एसोसियसनसँगै सम्पूर्ण खेल क्षेत्रको प्रतिनिधित्व गर्दै त्यहाँ गएकी थिएँ । यो क्याम्प राष्ट्रसंघकै आयोजनमा भएको थियो । जापानको यो क्याम्पमा मेरो पर्फमेन्स राम्रै भयो । प्रमुख तीनमा पुग्न सकेँ । जापान सरकारले भविष्यमा खेल क्षेत्रमा थप उत्साह थप्नका लागि भन्दै हामीलाई पूर्ण छात्रवृत्ति दियो । स्वयम्सेवकका रूपमा बोलायो । १५ दिनको कोर्स पूरा गरेँ । तेक्वान्दोमा म अपडेट थिएँ नै । दुई स्कुलमा तालिम पनि गराउँछु । नेपालमा हुने तेक्वान्दोका विभिन्न टुर्नामेन्टमा पनि टेक्निकल सपोर्ट गरेकी हुन्छु । जापानमा युथ लिडरसिप क्याम्प पूरा गरेर फर्केपछि आयोजकले मेरो कामको अपेड मागिरहेका हुन्थे । के गरेको छौ, के हुँदैछ ? भनेर सोध्थे । जापानमा सिकेका कुरा नेपाल तेक्वान्दोका फाउन्डर दीप गुरुङलाई भनेकी थिएँ । उहाँले यस्तो कार्यक्रमका लागि तिमी रुचि राख्छौ भने म सहयोग गर्छु भन्नुभयो । यसै सिलसिलामा अहिले हामीले प्यारा तेक्वान्दो संघ गठन गर्दै छौँ । स्वीकृत पाइसकेका छौँ । यो भनेको शरीरको कुनै पनि अंग नचल्ने वा हाट–खुट्टा नभएका वा ह्वीलचेयरमा बस्नेका लागि कसरी तेक्वान्दोमा जोड्ने भन्ने हो । हाम्रो समाजबाट पछाडि पारिएका ती व्यक्तिहरूका लागि हामीले तेक्वान्दोमा जोड्न चाहेका हौँ । अहिले हामी उनीहरूलाई अपांगभन्दा पनि सक्षमभन्दा फरक भएकाहरू भनेर चिन्छौँ । बाहिर गएर मैले विभिन्न ओलिम्पियनसँग तालिम लिने मौका पाएँ । एकजना टिटीको खेलाडी दुवै हात नभएको ओलम्पिक च्याम्पियन हुनुहुन्थ्यो । उहाँको विश्व रेकर्ड कायम भएको छ । मुखले टिटी खेलेर ओलम्पिक च्याम्पियन हुनुभयो । उहाँबाट म प्रभावित भएँ । खेलले देशको शान्ति र विकासमा कसरी सहयोग पुर्याउन सक्छ भन्ने कुरा मैले युएनबाट सिक्न पाएँ । तेक्वान्दो खेलाडी भएका नाताले मैले यो कुरा लागू गर्न खोजेँ । युएनलाई यही कुरा अपडेट पठाउनेक्रममा मलाई यो निमन्त्रणा आएको हो । ११ अप्रिलमा मलाई निमन्त्रणापत्र आएको हो । यो पत्र राष्ट्रसंघका महासचिव बान की मुनका विकास र शान्तिका लागि खेल हेर्ने विशेष सल्लाहकार विल फ्राइड लिम्केले लेख्नुभएको हो । यो निमन्त्रणा लिम्के, जो स्जीट्जरल्यान्डको पूर्वखेलमन्त्री हुनुहुन्थ्यो, उहाँ काठमाडौं आउनुभएको थियो । उहाँले डिनर पार्टी राख्नुभएको थियो । उहाँलाई मैले हाम्रो तेक्वान्दोमा पनि भ्रमण गरिदिनुहोस् भनेर आग्रह गरेँ । उहाँले स्वीकार गर्नुभयो । हाम्रो भवनदेखि तालिमसम्म हेर्नुभयो । तेक्वान्दो र पारा तेक्वान्दो कसरी चलेको छ, त्यो हेर्नुभयो । ह्वीलचेयरको कुरा गर्दा पहिले यादव कुँवर एक्लै हुनुहुन्थ्यो । पहिले पल्सर अवार्ड पनि पाउनुभएको थियो । अहिले हामीले टिम बनाएका छौँ । उच्चस्तरीय कार्यक्रमका लागि निमन्त्रणा आएको छ । मेरो प्रतिनिधित्व नेपाल तेक्वान्दो एसोसिएसनबाट मात्र नभएर विश्व तेक्वान्दो महासंघकै प्रतिनिधित्व भएर जाँदै छु । युएनको कार्यक्रममा युथ लिडरका रूपमा एकजना खेलाडी पहिलोपटक सहभागी हुँदै छ । यो नेपालका लागि मात्र नभएर विश्व तेक्वान्दोकै लागि गर्वको विषय हो । यो ऐतिहासिक अवसर पनि हो । त्यहाँ गएर बान की मुनदेखि अन्य देशका सहभागीसँग भूकम्प र पुनःनिर्माणबारे कुरा गर्ने सोच बनाएकी छु । खेलाडीका रूपमा गए पनि नेपालको भूकम्पपीडितका लागि कस्तो सहयोग जुटाउन मैले पहल गर्छु भनेर त्यहाँ मेरो तीन मिनेटको भाषण पनि हुनेछ । त्यसपछि केही व्यक्तिसँग भेट हुनेछ, जो विभिन्न देशबाट आएका सहभागीमध्ये हुनेछन् । विश्व तेक्वान्दो एसोसियनका तर्फबाट एकजना खेलाडी भूकम्पपीडितलाई १० लाख दिनुभएको थियो । हामीले सिन्धुपाल्चोकमा गएर दियौँ । यसले भूकम्पपीडितका लागि खेलाडीले केही गर्न सक्छन् भन्ने सन्देश दिएको थियो । अहिले म जुन कार्यक्रममा जाँदै छु, भूकम्पपीडिकका लागि खेलाडीका तर्फबाट के हुन सक्छ ? यसबारे पनि सोच्नेछु । खेलाडीले खेलमात्र खेल्छ भन्ने होइन । देशका र समाजका लागि पनि केही गर्न सक्छ भन्ने मेरो भावना हो । म यसलाई नै प्रतिनिधित्व गर्नेछु । यो तहको निमन्त्रणा मेरा लागि ठूलो र ऐतिहासिक अवसर हो । महिला खेलाडी भएका कारण हामीले धेरै कठिनाइ भोग्नुपर्छ । अन्तर्राष्ट्रिय तहबाट मलाई यसरी निमन्त्रण आउनु म सामन्य मान्दिनँ । बान की मुनका विशेष सल्लाहकारकै तर्फबाट चासो व्यक्त गरेर निमन्त्रणा आउनु गौरवको कुरा हो । अहिले विद्यार्थी जीवनमा पनि छु म । एमबीए पढ्दै छु । वाणिज्य मन्त्रालय अन्तगर्तको नेपाल इन्टर मोडल यातायात विकास समितिमा कार्यरत छु । खेलकै रूपमा म अमेरिकी दूतावासको काउन्सिल मेम्बरमा पनि छनोट भएँ । ममात्र छु । १४ सयजनामा ५३ जना छनोट भएँ । त्यसमा खेलबाट म एकजना मात्र परेँ । यो पनि मेरा लागि राम्रो अवसर हो । २०७२ देशका लागि राम्रो वर्ष भएन । भूकम्प, नाकाबन्दी, मधेस आन्दोलनलगायतका समस्या आए । व्यक्तिगत रूपमा भने मेरा लागि ०७२ राम्रै रह्यो । राहत बाँडन हिँडे । यो मलाई ठूलो सन्तुष्टिको विषय बन्यो । खेलाडीमात्र भएर हुँदैन भन्ने लाग्यो । देश र समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणा जाग्यो । त्यता जानुपूर्व सरोकारवाला निकायमा जान्छु । आफँै पनि अपडेट हुन्छु र म जुन कार्यक्रममा सहभागी हुन्छु, त्यहाँ राख्न सकिने कुराको विषयमा परामर्श गर्छु । मलाई लाग्छ– यो कार्यक्रममा सहभागी भएर आएपछि नेपालको तेक्वान्दो र खेल क्षेत्रमा थप मद्दत गर्न सक्छु । राष्ट्रसंघको विकास र शान्तिका लागि खेल भन्ने कार्यक्रम छ । यसको उद्देश्य विश्वभरि शान्ति र विकास हो । खेलाडीले विश्व शान्ति र विकासमा के सहयोग गर्छन् भन्ने हो । म फर्केपछि यो मिसनमा थप काम गर्न सक्छु र गर्नुपर्छ पनि । त्यहाँ पुगेर मैले नेपालको पर्यटनको प्रचार गर्न सक्छु र गर्छु । ‘भूकम्पबाट पीडित नेपाल अब पुनःनिर्माणको चरणमा छ, तपार्इंहरू नेपाल घुम्न जान सक्नुहुन्छ’ भन्न सक्छु । म कार्यक्रममा सहभागी आएपछि नेपालको खेल खासगरेर तेक्वान्दोमा धेरै परिवर्तन ल्याउँछु भन्ने त भएन । उताबाट आएपछि कुन कुरालाई प्राथमिकता दिने भन्ने त हुन्छ नै । मेरो काका सोभित गिरी आफैँ पनि तेक्वान्दो खेलाडी हुनुहुन्छ । बहिनी पनि तेक्वान्दो खेलाडी नै हुन् । पारिवारिक वातावरणले मलाई तेक्वान्दो खेल्न सहज भयो । तर, समाजमा छोरीलाई खेलेर बस्न सजिलो छैन । मलाई पनि थिएन । आलोचना गर्नेहरू पनि हुन्थे । तर, अहिले त मलाई त्यस्तो समस्या छैन । पढाइ पनि खेल पनि सँगै अगाडि बढेको छ । पढाइ सकेपछि खेल मेरो जीवनको पाटो हुन्छ । खेलाडीबाहेक म बिजनेस गरेर बस्ने सोचेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण