शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तीन अभियुक्त पुर्पक्षका लागि थुनामा

मङ्गलबार, १४ वैशाख २०७३, २० : ०३
मङ्गलबार, १४ वैशाख २०७३

धनुषा– जिल्ला अदालत धनुषाले जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्घानिया हत्याकाण्डका तीनजना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतले अन्य तीन अभियुक्तलाई धरौटीमा साधारण तारेखमा रिहा गर्ने आदेशसमेत दिएको छ ।

अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सिङ्घानिया हत्याको मुख्य योजनाकारको अभियोग लागेका धनुषा क्षेत्र नं। ४ बाट निर्वाचित एवम् निलम्बित सांसद सञ्जयकुमार साहलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । निलम्बित सांसद साह जनकपुर बमकाण्डको अभियोगमा पुर्पक्षको लागि हाल थुनामै छन् ।

त्यस्तै सिङ्घानिया हत्याको सुटर एवम् हतियार व्यवस्थापनको अभियोग लागेका जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादव र सोही घटनामा संलग्न रहेको अभियोगमा एकलाल सहनीलाई समेत थुनामा राख्न आदालतले आदेश दिएको हो ।

त्यस्तै घटनामा संलग्न अभियु्क्त ओमप्रकाश यादवलाई रु दुई लाख र रामकरण यादवलाई रु ५० हजार धरौटीमा तारेखमा रिहा गर्न आदेश गरिएको छ । सिङ्घानिया हत्या घट्नामा संलग्न भनिएका मुकेश चौधरीलाई यस घटनामा रु २० धरौटीमा रिहा गर्न आदालत आदेश दिएको छ ।

चौधरी वि।स। २०६९ वैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँचजनाको ज्यान जाने गरी भएको बमकाण्डको मुख्य अभियुक्तको रुपमा पक्राउ परी थुनामै छन् । सिङ्घानिया हत्यापश्चात फरार रही शसस्त्र गतिविधि गर्दै आएका चन्द्रदीप यादव गएको चैत १७ गते जनकपुरको वकिल टोलबाट पक्राउ परेपछि प्रहरीले अनुसन्धान तीव्ररुपमा अघि बढाएको थियो ।

उनीहरूको बयानका आधारमा प्रहरीले चैत २४ गते थुनामै रहेका सद्भावना पार्टीका उपाध्यक्षसमेत रहेको सञ्जय साह नै सिङ्घानिया हत्याकाण्डको मुख्य योजनाकार बनाई मुद्दा दायर गरेको थियो । विसं २०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिङ्घानियाको जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप