बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपेन्द्रको कारण गच्छदारलाई चुनौति, पार्टीको नाम परिवर्तनमा विवाद

शनिबार, १८ वैशाख २०७३, ११ : ३०
शनिबार, १८ वैशाख २०७३

काठमाडौ –बैशाख २० गतेदेखि पार्टीको महाधिवेशन गर्न लागेका उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नाम परिवर्तन गर्न लागेका छन् । यद्यपी नाम परिवर्तनको बारेमा पार्टीमा विवाद चर्किएको छ । स्रोतका अनुसार नाम परिवर्तनको बारेमा सो पार्टीमा पहिल्यैदेखि विवाद रहेको थियो । पहिलो सविधानसभा ताका नै गच्छदारले पार्टीको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव ल्याएका थिए तर पार्टीभित्र कुरा नमिलेपछि त्यो त्यतिकै थन्किएको थियो । अहिले फेरि महाधिवेशनबाट नै पार्टीको नाम परिवर्तन गर्नुपर्ने लबिङमा उनी लागेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले नाम परिवर्तन गरेर संघीय समाजवादी फोरम नेपाल राखेपछि गच्छदारका लागि चुनौति बढेको छ । शुरुदेखि पार्टीको नाम परिवर्तन गर्न खोज्ने गच्छदार तर पार्टीको नाम परिवर्तन गर्ने चर्चा समेत नगरेका उपेन्द्र यादवले एकाएक पार्टीको नाम परिवर्तन गरेपछि गच्छदारलाई चुनौति बढेको हो । पहाडी समुदायका नेताहरुलाई पार्टीमा राखेर राष्ट्रिय पार्टी बनाउने गच्छदारले प्रचार मात्र होइन त्यसका लागि उनले पार्टीभित्र गृहकार्य पनि गरेका थिए, त्यसको हावाला दिँदै उनले पार्टीमा पहाडी समुदायका नेताहरुलाई प्रवेश पनि गराएका थिए तर उपेन्द्र यादवले हल्लै नगरिकन अशोक राईसँग पार्टी एकीकरण गरि राष्ट्रिय रुप धारण गरे । यादवले राष्ट्रिय रुप धारण गरिसकेको अवस्थामा आफू भने क्षेत्रीय राजनीतिमै खुम्चनुपर्ने खतरालाई मध्येनजर गर्दै उनी पनि पार्टीको नाम परिवर्तन गरी राष्ट्रिय रप लिन लागिपरेको बताइन्छ ।

गच्छदार नाम फेर्ने चक्करमा लाग्दा पार्टीका उपाध्यक्ष रामेश्वरराय यादव त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् । पार्टीका गतिविधिबाट असन्तुष्ट रहेका यादवलाई केही दिन पनि अध्यक्ष गच्छदारले आफ्नै निवासमा बोलाएर पार्टीको नाम परिवर्तन गर्नेलगायत अन्य विषयहरुमा छलफल गरेका थिए । तर, उनले त्यसलाई अस्वीकार गरिदिएको लोकतान्त्रिकका एक नेताले बताए । छलफलमा उनले आन्दोलनका कारण पार्टी त्यतिकै बदनाम रहेको, पार्टी पहाडी र थारुको भएको भनि आरोप लाग्दै आएको कारण पार्टीबाट मधेशी शब्द झिक्न नहुने तर्क राखेका थिए । उपेन्द्र यादवले आफ्नो पार्टीको नाम परिवर्तन गरेपछि मधेशमा उनको आलोचना भइरहेको भन्दै त्यसको फाइदा आफ्नो पार्टीले लिनुपर्ने सुझाव समेत उपाध्यक्ष यादवले गच्छदारलाई दिएका थिए । नयाँ नाम के ?

स्रोतका अनुसार अध्यक्ष गच्छदारले पार्टीको नाम नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय लोकतान्त्रिक पार्टी, तथा नेपाल लोकतान्त्रिक फोरम राख्ने प्रस्ताव गरेका छन् ।

सुरुदेखि फोरम लोकतान्त्रिक पार्टीको नामबाट परिचित यो पार्टीको नामबाट ‘लोकतान्त्रिक’ शब्द नहटाउने तर्क गच्छदारको रहेको छ । ‘फोरम’ शब्द पनि राख्न सकिन्छ किनभने मधेश आन्दोलनको भावना यो शब्दसँग जोडिएको छ तर ‘मधेश’ शब्द नराख्ने निष्कर्षमा गच्छदार पुगिसकेको पार्टी स्रोतले जनाएको छ । मधेश नामबाट पार्टीको नाम राखिए पार्टीले राष्ट्रिय रुप धारण गर्न नसक्न्े गच्छदारको तर्क छ । त्यसले उनले अचेल भन्दै आएका छन् ‘पहिले देश अनि मधेश’ ।

के भन्छन् नेताहरु यस विषयमा रातोपाटीले पार्टीका उपाध्यक्ष रामेश्वरराय यादवसँग सम्पर्क गर्दा उनले पार्टीको नाम परिवर्तन बारेमा पार्टीभित्र चर्चा भएपनि कुनै टुगों नलागेको प्रतिकृया दिए । उनले आफू पार्टीको नाम परिवर्तन गर्ने पक्षमा नरहेको भएपनि सोबारे महाधिवेशनमा छलफल हुने अध्यक्ष गच्छदारले भन्दै आएको बताए ।

पार्टीका अर्का उपाध्यक्ष जितेन्द्र देवले पार्टी नाम परिवर्तन बारेको हल्ला आफूले पनि सुनेको तर त्यो आधिकारिक कुरा नभएको दाबी गर्दै भने, ‘नाम परिवर्तन गर्ने नगर्ने कुरा महाधिवेशनले तय गर्छ । भोली विराटनगरमा केन्द्रीय समितिको बैठक बस्ने र त्यहाँ एजेण्डाहरुको बारेमा छलफल हुने जनाउँदै उनले त्यसपछि मात्रै केही भन्न सकिने उपाध्यक्ष देवले बताए ।

यसैगरी पार्टीका कार्यालय सचिव परमानन्द मेहताले पनि पार्टीको नाम परिवर्तनको बारेमा चर्चा भएपनि त्यसको कुनै टुगों नलागेको बताए ।

को–को आउँदैछन् विदेशी अतिथी ? २० गतेदेखि विराटनगरमा शुरु हुने महाधिवेशनमा भाग लिनका लागि भोलीदेखि अतिथि आउने क्रम शुरु हुने उपाध्यक्ष देवले बताए । हालसम्म भारतीय जनता पार्टीका तीन जना नेता र काँग्रेस आइका १ जना नेता आउने सुनिश्चित भएको उनले जनकारी गराए । भाजपाको प्रतिनिधि आउने नआउने टुंगो छैन । कार्यालय सचिव मेहताका अनुसार काँग्रेसका करण सिह आउने तय भएको छ । अन्य देशबाट अतिथिको रुपमा कसैलाई निमन्त्रणा पठाइएको छैन । नेपालमा रहेका विभिन्न दूतावासहरुलाई पत्र पठाई शुभकामना माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप