बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मालेको सातौँ महाधिवेशन काठमाडौँमा सुरु

शनिबार, २५ वैशाख २०७३, १९ : ४२
शनिबार, २५ वैशाख २०७३

काठमाडौँ–नेकपा मालेको सातौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौँमा सुरु भएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना मन्तत्व दिँदै वर्तमान सङ्कटलाई चिर्न सबै दल एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले सत्ता परिवर्तनका लागि केही शक्ति लागे पनि सफल हुन नसकेको बताउँदै विदेशीको इशारामा सत्ता परिवर्तनको खेल भएको उल्लेख गरेका छन् । “सत्ता परिवर्तनका लागि केही दल उफ्रे”, उनले भने – “त्यो विदेशीको इशारामा थियो । तर त्यो सफल हुन सकेन ।”

उनले जात र क्षेत्रका नाममा केही समस्या देखाएर केही तत्वले उचाल्ने काम गरेको बताए । “जात र क्षेत्रका समस्या देखाएर उचाल्ने काम भएको छ”, उनले भने – “त्यसैगरी मधेसका समस्यालाई संवैधानिक समस्या बनाउन खोजिएको छ ।”

प्रधानमन्त्री ओलीले केहीलाई नेपालको संविधानमा सार्वभौमसत्ता स्वतन्त्र उल्लेख गरिएको शब्द नपचेको बताए । “संविधान नपचेकाले नै केहीले तहसनहस पार्न खोजेका छन्” – उनले भने – “तर हामी त्यसो गर्न दिँदैनौँ ।”

प्रधानमन्त्री ओलीले महाधिवेशन कर्मकाण्डी नबनाई अहिलेको परिस्थितिको सही विश्लेषण गर्न सक्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सबै पार्टी मिल्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सबै राजनीतिक पार्टी मिलेर अगाडि जानु आजको आवश्यकता भएको औंल्याए ।

कार्यक्रम एनेकपा माओवादीका पोलिटब्युरो सदस्य प्रह्लाद बुढाथोकीले राजनीतिक पार्टी एक भएमात्र संविधान कार्यान्वयन गर्न सकिने बताउ ।

कार्यक्रममा नेकपा संयुक्तका गणेश साह, राप्रपा नेपालका सचेतक दिलनाथ गिरीले पनि शुभकामना मन्तव्य दिएका थिउ ।

मङ्गलबारसम्म चल्ने महाधिवेशनको उद्घाटन उपप्रधान तथा महिला बालबालिका मन्त्रीसमेत रहेका मालेका महासचिव चन्द्रप्रकाश मैनालीले गरेका थिए ।

महाधिवेशन उद्घाटन गर्दै महासचिव मैनालीले अहिले पनि नेपालको अस्तित्वमा खतरा भइरहेकाले सबै दल एकजुट हुनुपर्ने बताउ ।

“मुलुकको स्वतन्त्रता, भूखण्डतामा आँच आउने काम भइरहेको छ”, उनले भने – “त्यसैले सबै दल मिलेर आँच आउने काम गर्न दिनुभएन ।” उहाँले संविधानमा केही कमजोरी भए पनि प्रगतिशील संविधान भएको बताए ।

महासचिव मैनालीले नेपालको भूराजनीतिले गर्दा जातीय र क्षेत्रीय प्रदेश हुन नसक्ने दाबी गरे ।

महाधिवेशनमा सहभागी हुन ७५ जिल्लाका ४९५ प्रतिनिधि सहभागी भएका छन् । नेकपा एमालेसँग फुटेपछि पहिलोपटक हुन थालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप