बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने

बिहीबार, ३२ असार २०८३, ०२ : ४८
बिहीबार, ३२ असार २०८३

सारांश

  • फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
  • एक गोलले पछि परेको अर्जेन्टिनाले खेलको अन्तिमतिर पुनरागमन गर्दै उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ।
  • इङ्ग्ल्यान्डका एन्थनी गोर्डनले गोल गरे पनि अर्जेन्टिनाका एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल फर्काए।

काठमाडाैँ । फिफा विश्वकपको दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । नेपाली समय अनुसार बिहीबार राति भएको रोमाञ्चक र तनावपूर्ण महाभिडन्तमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लियोनल मेस्सीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले पुनरागमन जित दर्ता गरेको हो। यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ, जहाँ उसले आगामी आइतबार उपाधिका लागि स्पेनको सामना गर्नेछ ।

खेलको पहिलो हाफ निकै आक्रामक र प्रतिस्पर्धात्मक रहेको थियो । दुवै टोलीले सुरुदेखि नै कडा रक्षापङ्क्ति र आक्रामक खेल प्रदर्शन गर्दा पहिलो हाफमा मात्र कुल १९ वटा फल (फाउल) भएका थिए, जसमा अर्जेन्टिनाले १२ र इङ्ग्ल्यान्डले ७ फल गरेका थिए । पहिलो हाफमै दुवै टोलीका एक-एक खेलाडीले पहेँलो कार्ड समेत बेहोरेका थिए । खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफको सुरुवातमै खेलले रोमाञ्चक मोड लियो । खेलको ५५औँ मिनेटमा इङ्ग्ल्यान्डका एन्थनी गोर्डनले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई १-० को सुरुवाती अग्रता दिलाए । एक गोलले पछि परेपछि अर्जेन्टिनाले खेलमा फर्किन कडा संघर्ष गर्‍यो । अन्ततः खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा अर्थात् ८५औँ मिनेटमा मेस्सीको पासमा मिडफिल्डर एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को रोमाञ्चक बराबरीमा ल्याए ।

खेल अतिरिक्त समयतर्फ धकेलिने सङ्केत देखिइरहेका बेला थप गरिएको समय (इन्जुरी टाइम) को दोस्रो मिनेट अर्थात् ९०+२औँ मिनेटमा मेस्सीकै सटिक पासमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे। मार्टिनेजको यस उत्कृष्ट गोलसँगै अर्जेन्टिनाले २-१ को जित निश्चित गर्दै फाइनल यात्रा तय गर्‍यो । यस पराजयसँगै ६० वर्षपछि पहिलो पटक विश्वकप फाइनल पुग्ने इङ्ग्ल्यान्डको सपना समाप्त भएको छ l

लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो उपाधि जित्ने ऐतिहासिक अभियानको नजिक पुगेको छ । फाइनलमा अर्जेन्टिना र स्पेनबीच खेल हुनेछ l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप