बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भद्रगोल छ राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, छटपटिदै किसान

सोमबार, २७ वैशाख २०७३, १३ : १५
सोमबार, २७ वैशाख २०७३

काठमाडौं– झट्ट हेर्दा जताततै चियाबारी, पूर्वको ईलाम पुग्ने जो कोहीलाई पनि स्वर्गकै अनुभुति हुन्छ । चिया खेतीबाट मनग्गे आम्दानी भएरै चियाले डाँडाकाँडा ढाकिएका होलान भन्ठानेर आफू पनि बसेर चिया खेती गरुँगरुँ लाग्नु अस्वभाविक होईन ।

तर, तपाईँले चिया किसानको पीडा सुन्नुभयो भने मनै कुडिन्छ । साखेजुङ्ग गाविसको हिलटप चिया उत्पादक सहकारी संस्थाका दावा तामाङ्ग भन्छन्, ‘बारीका बारी मासेर चिया खेती गरियो तर, न पैसा छ न बारी, अव किसानको उठिबास हुने बेला भयो ।’ उनका अनुसार २०औँ वर्षदेखि चिया खेती गरेका ईलामका किसान पत्तिको मूल्य नपाएर छटपटिएका छन् । १५ वर्ष भयो चियाको नयाँ विरुवा रोपेका छैनन् । कारण हो मल, पानी नपाउनु र उत्पादित पत्तिको मूल्य नतोकिनु । दावा तामाङ्गजस्ता किसान समस्या हल गर्ने र समन्वय गर्ने निकाय राष्ट्रिय चिया तथा कफि विकास बोर्ड हो । तर, बोर्डमा हुने राजनीति र कमिसनले किसानका दुःख मात्र बढाएका छन् । चिया खेती धरासायी बन्नै छ । बोर्डकै कर्मचारी भन्छन्, ‘उता सहयोग नपाएर चिया बगान उजाड हुँदैछ, यता कमिसनले बोर्ड धरासायी बन्दैछ ।’ अहिले बोर्डमा तिब्र विबाद छ ।

नयाँ भर्नामा कमिसनको खेल

बोर्डमा नयाँ कार्यकारी निर्देशकका रुपमा शेषकान्त गौतम पसे । उनी आफु मात्र पसेनन्, सँगै विवाद पनि लिएर गए । उनले गएको असोज २ गते ४२ जना कर्मचारी माग गरे । परीक्षा सञ्चालन गरे । त्यहीँबाट बिबाद शु्रु भयो ।

नयाँ संविधान आउनभन्दा एक दिन अगाडि शनिबारको दिन आवेदन आह्वान गरियो । तर, परीक्षार्थीसँग शुरु भयो मोलमोलाई । ‘नतिजा आज–भोलिमा आउँछ भन्दै केही व्यक्तिसँग पास गराउने शर्तमा पैसा पनि लिइयो ।’ पीडितहरु नाम नबताउने सर्तमा दावी गर्छन ।

बढुवाको ढोका बन्द कर्मचारी अभावमा काम गर्न अभाव भएको भन्दै नयाँ भर्नाका लागि परीक्षा लिएपछि बोर्डका अधिकास कर्मचारी निराश छन् । बढुवा रोकिने मध्ये २० वर्षसम्म काम गरेका कर्मचारी पनि छन् । कर्मचारीले पुरानालाई बढुवाको प्रकृया अगाडी बढाई बाँकी रहेका दरबन्दीमा नयाँ भर्ना खुलाउन माग गरेका थिए । तर, कार्यकारी निर्देशक गौतमले त्यो ढोका बन्द गरेर सबै पदमा नयाँ भर्नाको लागि परीक्षा लिएको कर्मचारीको गुनासो छ । २०५४ सालमा नायव सुब्बा पदबाट सेवा शुरु गरेका प्रेम कुमार थिङ्ग र ७ वर्षदेखि शाखा अधिकृत रहेका रघुपति चौधरी लगायतका एक दर्जन कर्मचारी बढुवा हुन पाउने अधिकारबाट बञ्चित भएका छन् । ती कर्मचारी मध्धेका एकको गुनासो थियो, ‘भर्ना भएकै पदबाटै अवकास लिने भयौँ । ६० प्रतिशत आन्तरीक र ४० प्रतिशत खुल्ला हुनुपर्ने विनीयममा भएपनि सबै खुला खोलेपछि हाम्रो बाटो बन्द भयो ।’ करारमै अवकास हुने अवस्था

केही कर्मचारी २०औँ वर्षदेखि करार काम गरिरहेका छन् । आफुहरुलाई आन्तरिक प्रतिस्पर्धाको अवसर नै नदिई नयाँ भर्ना खोलिएको उनीहरुको भनाई छ । बोर्डमा करारमा १२ जना जति कर्मचारी छन् ।

दरबन्दी घटाएर करार बोर्डमा ९७ जनाको दरबन्दी रहेको भएपनि जम्मा ९३ जनाको मात्र देखाएर कर्मचारीमाथि अन्याय गरेको आरोप गौतममाथि लागेको छ । दरबन्दी घटेपछि करारमा काम गरिरहेका केही कर्मचारी जागिरबाट हात धोएर निस्किएका थिए । तर, त्यसको केहीदिनमै गौतमले २ जनालाई करारमा नियुक्त गरे । बोर्डको कर्मचारी प्रशासन विनीयम २०६६ विपरित १ जना कम्प्युटर अपरेटर र एक जना शाखा अधिकृत करारमा नियुत्त भएको कर्मचारीको गुनासो छ । आयोजना कार्यलय रित्तै चियाको विस्तार हुँदै गएको ईलामस्थित फिक्कलमा पर्याप्त प्राविधिक र कर्मचारी नहुँदा समस्या आएको किसानको गुनासो छ । तर, त्यहाँका प्रमुख देउकुमार सिगुलाई भने केहीमहिना अघिमात्रै प्रशासन प्रमुख बनाएर बोर्डमा तानिएको छ । मंगलबारेको आयोजना प्रमुख रामएकवला यादवलाई फिक्कल हेर्ने जिम्मेवारी त दिइयो । तर, २ ठाउँमा हेर्नुपर्दा निकै समस्या भएको उनको गुनासो छ । दिनहुँ झगडा

बोर्डमा दैनिक जसोे कर्मचारीवीच झगडा सुनिन्छ । कर्मचारी गुट–गुटमा बाँडिएका छन । गौतमले आफ्नो विश्वास पात्रलाई महत्वपूर्ण जिम्मेवारी दिने र अरुलाई पाँखा लगाउने गरेको कर्मचारीको आरोप छ ।

अनुदानमा बदमासी

चिया उद्योगलाई अनुदान वितरणमा पनि अनियमिता गरेको आरोप उद्योगीले लगाएका छन् । १ सय ३५ जना कर्मचारीबाट ७ हजार केजी चिया उत्पादन हुने कन्याम चिया सहकारी संस्थाले २०६३ सालदेखि चलाएको उद्योगलाई अनुदान नदिएर नयाँ खुल्न थालेको उद्योगलाई दिईएको छ ।

बाहिरका नीजि उद्योगमा चिया पठाउँदा मूल्य नपर्ने भएकाले सहकारीले आफै उद्योग चलाएको भएपनि त्यसलाई बोर्डले बेवास्ता गरेको सञ्चालक समितिको आरोप छ ।

‘७ हजार केजी उत्पादन मध्ये हामीकहाँ जम्मा १२ सय केजी क्षमताको मात्र प्रसोधन मेसिन भएकोले पाँच हजार केजी बाहिर पठाउँदा किसानले मूख्य नपाएपछि मेसिन थप गर्न भनेर अनुदान मागेका थियौँ’ , सहकारीका अध्यक्ष ख्याम श्रेष्ठले भने ‘तर हामीलाई दिनुभएन, समस्या त भयो नि ।’

बिरोध गर्नेलाई सरुवा

पछिल्लो पटक बोर्डमा सरुवा काण्डले निकै बबण्डर मच्चाएको छ । नयाँ कर्मचारी भर्ना लगायतका सबै कुराको बिरोधमा उत्रिएका कर्मचारी अगुवालाई सरुवा गरिएको छ । यो अनियमतिताको ढाकछोप गर्न चाहिएको कदमका रुपमा कर्मचारीले बुझेका छन् ।

कार्यकारी निर्देशक गौतम भन्छन्

कार्यकारी निर्देशक गौतमले भने आफूले सबै कुरा प्रकृया पु¥याएर गरेको दावी गर्छन । उनले नयाँ कर्मचारी भर्ना खोल्दा नियम अनुसार गरेको बताए । ‘तत्कालै बढुवाको लाईनमा रहेकाले फारम भरीसकेका छन्’ उनले भने, ‘२/४ वर्ष बाँकी रहेका भएकालाई पद खाली राख्न नपाईने रहेछ, लोकसेवा आयोगको नियम त्यसैले सबै पदमा खुलाईएको हो ।’ दरबन्दी कटौतीको विषयमा उनले अर्थमन्त्रालयबाट जति कर्मचारीको लागि पैसा आउँथ्यो, त्यहीँ अनुसार ९३ जनाको मात्रै खुलाइएको बताए । उनले भने ‘त्यसैले अर्थबाट जति पैसा आउँछ त्यति पदमा मात्र खुलाईएको हो ।’

मन्त्रीको समेत साँठगाँठ  कर्मचारी भर्ना प्रकृया र बोर्डका अनियमिततामा कृषिमन्त्री हरिबोल गजुरेलको नाम पनि जोडिएको छ । अख्तियार र हेलो सरकारमा उजरी परेपछि परेपछि कृषि मन्त्रालयले शुरुमा परीक्षा रोक्न निर्देशन दिएको थियो । र, पछि मन्त्रालयले बाटो खुला गरिदिएको कर्मचारीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप