ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
सारांश
- भारतको सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्र कुडनकुलमसँग जोडिएका हजारौँ संवेदनशील दस्ताबेजहरू ह्याकर समूह 'वर्ल्ड लिक्स' द्वारा डार्क वेबमा अपलोड गरिएको दाबी गरिएको छ।
- लिक भएका विवरणहरूमा आणविक प्लान्टका ब्लुप्रिन्ट, आपूर्तिकर्ताहरूको सूची, र नियन्त्रण कक्षका महत्त्वपूर्ण रेकर्डहरू समावेश छन्।
- यस साइबर आक्रमणको अनुसन्धान भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमले सुरु गरेको छ।
नयाँ दिल्ली । भारतको सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्र कुडनकुलमसँग जोडिएका हजारौँ संवेदनशील दस्ताबेजहरू लिक भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ह्याकर समूह ‘वर्ल्ड लिक्स’ ले डार्क वेबमा यी दस्ताबेजहरू अपलोड गरेको दाबी गरेको छ।
लिक भएका विवरणहरूमा आणविक प्लान्टका केही हिस्साका ब्लुप्रिन्ट, आपूर्तिकर्ताहरूको सूची, नियन्त्रण कक्ष र अन्य महत्त्वपूर्ण रेकर्डहरू सार्वजनिक गरिएका छन्। यो सर्भर गत मे महिनामा ह्याक भएको र जुनमा दस्ताबेजहरू लिक गरिएको दाबी बाहिर आए पनि यसको जानकारी भने भर्खरै मात्र सार्वजनिक भएको हो।
तमिलनाडुको कुडनकुलम परियोजनामा काम गरिरहेको अनिल अम्बानीको रिलायन्स ग्रुपले तेस्रो पक्षीय डेटा सेन्टर कम्पनी ‘योटा’ को सर्भर ह्याक भएको स्वीकार गर्दै यसबारे सरकारलाई जानकारी दिइसकेको छ। रिलायन्स इन्फ्रास्ट्रक्चर कुडनकुलम न्यूक्लियर पावर प्लान्टको युनिट–३ र युनिट–४ परियोजनाको ठेकेदार कम्पनी हो र यसको केही डेटा योटाको सर्भरमा राखिएको थियो।
योटाले गत मे २९ मा आफ्नो सर्भरमा शङ्कास्पद गतिविधि फेला पारेपछि उक्त साइबर आक्रमण रोकेको दाबी गरेको थियो। तर, जुन महिनाको अन्त्यमा रिलायन्सले योटालाई ‘वर्ल्ड लिक्स’ नामक ह्याकर समूहले आफ्नो डेटा चोरी गरेको दाबी गरिरहेको जानकारी गराएको थियो।
डार्क वेबमा राखिएका करिब ८ लाख ५८ हजार फाइलहरूमध्ये झन्डै १९ हजार संवेदनशील दस्ताबेजहरू अपलोड गरिएको दाबी गरिएको छ, जसमा कथित रूपमा ब्लुप्रिन्ट, आपूर्तिकर्ताहरूको विवरण, निरीक्षण रेकर्ड र बैठकका महत्त्वपूर्ण दस्ताबेजहरू रहेका छन्।
हाल न्यूक्लियर पावर कर्पोरेसन अफ इन्डिया लिमिटेड (एनपीसीआइएल) ले रिलायन्ससँग मिलेर यस मामिलाको समीक्षा गरिरहेको छ भने भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमले पनि यस डेटा लिकको अनुसन्धान सुरु गरेको छ।
आणविक सुरक्षा विज्ञहरूका अनुसार डार्क वेबमा रहेका यी दस्ताबेजहरू यदि वास्तविक हुन् भने यसका माध्यमबाट कुनै पनि आक्रमणकारीले न्यूक्लियर पावर प्लान्टको सपोर्ट सिस्टम, सप्लाई चेन र सुरक्षा व्यवस्थालाई सजिलै बुझ्न सक्छन्, जसले समग्र सुरक्षा जोखिमलाई निकै बढाउन सक्छ ।
यसअघि सन् २०१९ मा पनि कुडनकुलम न्यूक्लियर पावर प्लान्टको प्रशासनिक नेटवर्कमा उत्तर कोरियासँग जोडिएको ह्याकर समूहको मालवेयर फेला परेको पुष्टि भएको थियो, यद्यपि त्यस समयमा एनपीसीआईएलले प्लान्टको सञ्चालन प्रणाली सुरक्षित रहेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण