बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस पुगेर प्रचण्डले फेरि भने, ‘यहाँका जनतासँग मेरो लभ छ, भिलेनलाई लान दिन्न’

सोमबार, २७ वैशाख २०७३, १७ : ४७
सोमबार, २७ वैशाख २०७३

महोत्तरी – एमाओवादी अध्यक्ष प्रचण्डले मधेससँग ‘लभ’ परेको कुरा पुनः दोहोराएका छन् । कुनै बेला निकै चर्चित बनेको प्रचण्ड र मधेसको लभको प्रशंगलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्न महोत्तरी पुगेका प्रचण्डले पुनः दोहोराए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘मधेसी जनतासँग अझै मेरो लभ छ । मेरो प्रेमिकालाई कसैले लैजान खोजे चित्त बुझ्दैन ।’ उनले मधेसमा ठूला दलाल र पूँजीपति घुसेको तर्फ इंगित गर्दै भने, ‘मधेस आन्दोलन सर्वहारा वर्गको नेतृत्वमा भयो भने मात्र सफल हुन्छ । तर, ठूला दलाल र पूँजीपति मधेसी जनतालाई ठगेर सामन्तीले दलालले नेतृत्व गर्ने डर छ ।’

अध्यक्ष प्रचण्डले विगतमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ११ प्रदेशमा सहमति हुँदा मधेसी दलहरु नै पछाडि हटेका कारण सहमति लावारिस भएको स्मरण गराए । ‘हिजो सहमति हुँदा पछि हट्ने र आज विभिन्न कुरा राखेर आन्दोलन गर्ने ? यो कतिको जायज हो ?,’ प्रचण्डले प्रश्न गरे ।

उनले संविधान नै नबन्ने खतरा बढेका कारण केही कुरा त्याग गरेर भए पनि संविधान जारी गरेको स्पष्ट पारे । ‘बरु तराईमा कल्स्टर मिलेको प्रदेश छ । पहाडमा त्यो पनि छैन । त्यही भएर प्रदेशको सीमाकंनको विषयमा मधेसी जनता त्यति अन्यायमा परेका छैनन्,’ उनले भने ।

प्रचण्डले आफूहरु मधेसी नेतासँग निरन्तर छलफल गरेर संविधान संशोधन गर्न तयार गरेको पनि जिकिर गर्दै ठूला दलालको पूजीँपतिहरुलाई आन्दोलनको नेतृत्व गर्न नदिन जनतासँग अनुरोध गरे ।

फरक प्रशंगमा उनले आफ्नो ध्यान प्रधानमन्त्री भन्दा पनि राष्ट्रिय सहमितमा भएको कारण राष्ट्रिय सहमतिको सम्भावना नहुँदा प्रधानमन्त्री बन्न अस्वीकार गरेको प्रष्ट पारे । यद्यपि, जिम्मेवारी आए त्यसबाट पछि नहट्ने बताए ।

‘मेरो इच्छा प्रधानमन्त्री ताक्ने होइन, राष्ट्रिय सहमति कायम राख्ने हो । तर, भोलि तपाईं देश हाक्ने जिम्मा आयो तर्सिन्छ भन्ने नठान्नुहोला,’ उनले भने ।

कांग्रेसलाई प्रधानमन्त्री दिने वाचा गरेर आफू पछि हटेको भए धोका हुने बताउँदै राष्ट्रिय सहमति नहुने अवस्थामा म प्रधानमन्त्री हुन्न भन्नु धोका नहुने भन्ने कुरा राखे ।

उनले अहिले सबै दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप