बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आरोप प्रमाणित गर्न राजदूत उपाध्ययको प्रम ओलीलाई चुनौती

मङ्गलबार, २८ वैशाख २०७३, ११ : ०१
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौं – नेपाल सरकारले भर्खरै मात्र फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूमाथि केपी ओली सरकारले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले सो चुनौति दिएका हुन् ।

पूर्व पर्यटनमन्त्री समेत रहेका उपाध्यायले प्रधानमन्त्री केपी ओलीकै कारण आफू पदबाट फिर्ता हुनुपरेको बताएका छन् ।  इकोनोमिक टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले भारतका लागि नेपालका तर्फबाट राजदूत नियुक्त भएदेखी नै मेरो देशको इच्छाअनुसार काम गर्दै आएको छु । सरकारले ममाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिन्छु ।’

उनले भारत र नेपालबीचको सम्बन्धलाई सही दिशा दिनका लागि मेहिनत गरेर लागेको समेत बताएका छन् । उनले आफूमाथि लागेका निराधार आरोपबाट स्तब्ध बनेको बताएका छन् ।

यसअघि सरकार परिवर्तनका लागि नेपाल आएर भारतीय राजदूत रन्जित रेसँग वार्ता गरेको भन्दै उनलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । तर उनले सांस्कृतिक तथा पर्यटकिय कार्यक्रमको प्रवद्र्धनका लागि नेपाल आउने कार्यक्रम तय भएपनि नेपाल आउने कार्यक्रम नै स्थगित भएका कारण त्यस्तो कुनै वार्ता नभएको बताए । उनले आफ्नो कार्यक्रमका सम्बन्धमा परराष्ट मन्त्रालयलाई जानकारी गराएको समेत बताएका छन् ।

राष्ट्रपतिको भारत भ्रमण स्थगित हुनु नेपाल र भारतको सम्बन्धका लागि राम्रो नभएको समेत उनले बताएका छन् । ओली सरकारप्रति निकै रुष्ट देखिएका उपाध्यायले भनेका छन्, ‘उनी गत फेब्रुअरीमा भारत भ्रमणमा आएका थिए । उनको भ्रमण सफल नै थियो । ...आखिर कम्यूनिष्टहरु फरकै हुन्छन् ।’

उपाध्याय नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । उनले आगामी दिनमा फेरि समाजसेवा र राजनीतिमा सक्रिय हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप