बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?

बुधबार, ३१ असार २०८३, २२ : ५३
बुधबार, ३१ असार २०८३

डालास । अमेरिकाको डलासमा भएको सेमिफाइनल खेलमा स्पेनसँग २(० ले पराजित हुँदै विश्वकपको फाइनल पुग्न असफल भएपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले टोलीको रणनीतिक र प्राविधिक गल्तीहरू औँल्याउँदै दुःख व्यक्त गरेका छन् । 

लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्य राखेका २७ वर्षीय रियल मड्रिडका स्टार एम्बाप्पेले खेलपछि आफ्नो निराशा पोखेका हुन् ।

फ्रान्सेली सञ्चार माध्यम एमसिक्ससँग कुरा गर्दै एम्बाप्पेले भने, ‘रणनीतिक, प्राविधिक वा समग्र खेल प्रदर्शनको हिसाबले हामीले चाहे जस्तो खेल्न सकेनौँ जस्तो मलाई लाग्छ। जब तपाईंले विश्वकपको सेमिफाइनलमा गर्नुपर्ने काम गर्न सक्नुहुन्न, तब तपाईंले जित्न पनि सक्नुहुन्न ।’ 

खेलको रणनीतिबारे चर्चा गर्दै उनले स्पेनलाई दबाबमा राख्न नसकेको बताए। एम्बाप्पेका अनुसार फ्रान्सको योजना स्पेनलाई मैदानको माथिल्लो भागमै दबाब दिएर उनीहरूको नियन्त्रित र सुस्त लय बिथोल्नु थियो । तर खेल नियन्त्रण गर्ने मामिलामा स्पेन बलियो सावित भयो र फ्रान्स त्यसमा असफल रह्यो ।

विशेष गरी मिडफिल्डमा फ्रान्सको तर्फबाट खेलिरहेका एड्रिएन राबियोट र ओरेलियन चुआमेनीको जोडीलाई स्पेनका रोड्री, ड्यानी ओल्मो र फाबियन रुइजले निकै दबाबमा राखेका थिए । यसै कमजोरीलाई औँल्याउँदै एम्बाप्पेले थपे, ‘हामी मिडफिल्डमा बारम्बार तीनका विरुद्ध दुई जनाको मारमा परिरह्यौँ। स्पेन जस्तो टोलीविरुद्ध खेल्दा यो निकै ठुलो समस्या हो । यी सबै कमजोरीहरू एकै ठाउँमा जोडिँदा हार बेहोर्नु पर्‍यो । यो हाम्रा लागि ठुलो निराशा हो ।’

जारी विश्वकपमा फ्रान्सलाई सेमिफाइनलसम्म पुर्‍याउन एम्बाप्पेले सानदार प्रदर्शन गर्दै आठ गोल गरिसकेका थिए। तर टेक्सासको अर्लिंगटनस्थित डलास रङ्गशालामा स्पेनले फ्रान्समाथि पूर्ण पकड बनाएपछि उनको फेरि विश्वकपको फाइनल खेल्ने सपना अधुरै रहन पुग्यो ।

राष्ट्रका लागि फाइनल पुगेर इतिहास रच्ने सपना अधुरै रहे पनि यो हारलाई आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नभएको एम्बाप्पेले बताए । उनले आफ्नो कुरा टुङ्ग्याउँदै भने, ‘अब हामीले गौरवका साथ यस परिस्थितिको सामना गर्नुपर्छ । जित्दा शिर ठाडो पारिन्छ भने हार्दा पनि शिर ठाडो नै राख्नुपर्छ भन्ने मलाई लाग्छ । अहिले हामीमाझ निकै ठुलो निराशा छाएको छ, जसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । तर पनि हामीले फेरि उठ्नुपर्छ, छुट्टी मनाउनुपर्छ र नयाँ अध्याय तर्फ अघि बढ्नुपर्छ किनकि फुटबलले कसैलाई पर्खिँदैन। यो असफलतालाई बिर्सेर यसबाट पाठ सिक्दै हामीले नयाँ सुरुवात गर्नुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप