बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीति तथा कार्यक्रममाथिको छलफल सुरु, मधेसी गठबन्धनद्वारा बैठक बहिस्कार

मङ्गलबार, २८ वैशाख २०७३, १२ : ५१
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौँ–व्यवस्थापिका–संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु भएको छ । तर, मधेसी दलहरु सम्मिलिन मधेसी गठबन्धनले बैठक बहिस्कार गरेका छन् । ति दलहरुले केहि दिनयता संसद बहिस्कार गर्दै आएका छन् । बैठक प्रारम्भ भएको घोषणा हुनासाथ मधेसी गठबन्धनमा आबद्व थरुहट तराई पार्टी नेपालका गोपाल दहितले समय लिएर आदिवासी, मधेसीले आफ्ना जायज मागलाई लिएर अधिकारका लागि भएको आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाए । नीति तथा कार्यक्रमले बाँके, बर्दिया क्षेत्रमा भएको भूकम्प र बाढी पहिरोपीडितलाई नचिनेको आरोप लगाउँदै कार्यान्वयन हुनै नसक्ने र विभेदकारी भएकाले यसलाई आफूहरुले समर्थन गर्न नसक्ने जानकारीका साथ सांसद दहितले आन्दोलनरत दलबाट आजको बैठक बहिष्कारको घोषणा गरे । त्यसको लगत्तै आन्दोलनरत दलका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

छलफल तीन दिन चल्ने

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गर्न वैशाख २८, २९ र ३० गतेका दिन निर्धारण गरिएको छ भने संसद्मा उठेका प्रश्नको प्रधानमन्त्रीले वैशाख ३१ गते जवाफ दिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को यही वैशाख २६ गतेको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममा सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउने, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, पाँच वर्षमा भूकम्पपछिको पुनःनिर्माण सक्ने, दुई वर्षभित्र निजी घरको निर्माण गर्ने, ९० दिन धान्न सक्ने पेट्रोल र ग्यासको भण्डारण गर्ने लगायत योजना घोषणा गरेको थियो ।

राष्ट्रपतिबाट भएको उक्त सम्बोधनमाथि छलफलका लागि नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एनेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेको धन्यवादको प्रस्तावमाथिको छलफल आजदेखि प्रारम्भ भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप