काठमाडौँ - संयुक्त अरब इमिरेट्स (युएइ)ले आजदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ ।
नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१० मा नै युएइले नेपालमा दूतावास स्थापना गर्ने निर्णय गरेको थियो ।
दूतावास स्थापनासँगै अब युएइको भ्रमण गर्न, रोजगारीका लागि जाने श्रमिक तथा व्यापार गर्न त्यहाँ जाने नेपाली नागरिकलाई निकै सजिलो भएको छ । हाल युएइमा दुई लाखको हाराहारीमा नेपाली विविध क्षेत्रमा कार्यरत छन् । युएइले यसअघि भारतको नयाँदिल्लीबाट दूतावास नेपालसम्बन्धी काम हेर्ने गर्दथ्यो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र युएइका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज यहाँ आयोजित विशेष कार्यक्रममा राजदूतावासको उद्घाटन गरे ।
सो अवसरमा उहाँहरुले संयुक्त रुपमा पानीपोखरीमा अवस्थित राजदूतावासको हाताभित्र युएइको राष्ट्रिय झन्डाको झन्डोत्तोलनसमेत गर्नुका साथै भवनमा रहेका कार्यकक्षको अवलोकन गरे ।
विदेशमन्त्री नाह्यान युएइका प्रथम राष्ट्रपति एवम् अमिरका सुपुत्र हुन् । दूतावास उद्घाटन एवम् सेवा सुरुवात गर्न उहाँ विशेष विमानद्वारा आजै नेपाल आएका थिए ।
सो समारोहमा परराष्ट्र मन्त्रालयका सचिव शङ्कर वैरागी, मन्त्रालयका शिष्टाचार अधिकृत चक्र सुवेदी एवम् नेपालका लागि युएइका नवनियुक्त राजदूत सइद हमदान अल नाक्वीलगायतको सहभागिता रहेको थियो ।
कूटनीतिक सम्बन्ध भएपछि आजको दिन ऐतिहासिक उपप्रधानमन्त्री थापा
सो अवसरमा सङ्क्षिप्त मन्तव्य राख्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले नेपालमा युएइले आफ्नो राजदूतावास स्थापना गरी सेवाको सुरुवात भएसँगै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध भएपछि आजको दिन ऐतिहासिक रहेको चर्चा गर्दै नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा युएइले महत्वपूर्ण सहयोग गरिराखेको चर्चा गरे।
गत वर्ष नेपालमा आएको भूकम्पको उद्धार र राहत तथा पुनः निर्माणमा युएईले गरेको सहयोगको स्मरण गर्दै युएईमा कार्यरत नेपाली युवालाई नेपालमा स्थापना भएको राजदूतावासले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
नेपाल युएइ दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा : युएइका विदेशमन्त्री नाह्यान
सो अवसरमा युएइका विदेशमन्त्री नाह्यानले आफ्नो देशले वर्षाैंदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाललाई नजिकको असल मित्र तथा साझेदारका रुपमा हेरेको बताए ।
उनले सन् २०१५ को अप्रिल तथा मे महिनामा नेपालमा गएको भूकम्पले पु¥याएको क्षतिप्रति युएइका जनतालाई गहिरो दुःख लागेको चर्चा गर्दै नेपाली जनतालाई थप आवश्यक सहयोग गर्न युएइ सरकार तयार रहेको जानकारी दिए ।
विदेशमन्त्री नाह्यानले नेपाललाई सन् २०१५ मा मात्र युएइ सरकार तथा गैरसरकारी संस्थाले ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग दिएका छन् स्मरण गरे ।
काठमाडौँमा स्थापना भएको युएइको राजदूतावासले युएइको भ्रमण गर्ने, त्यहाँ व्यापार गर्ने, काम गर्ने नेपाली नागरिकलाई निकै सजिलो बनाउने विश्वास विदेशमन्त्री नाह्यानले व्यक्त गरे ।
उनले भने, “हाम्रो मुलुकको विकासमा नेपाली नागरिकले दिएको योगदानका लागि हामी सदैव मूल्यवान् ठान्छौँ र राजदूतावासको उद्घाटनले नेपाल तथा युएइबीच सम्बन्ध नयाँ तरिकाले विस्तार तथा उँचो गर्नेछ ।”
“यस भ्रमणमा मैले नेपाली समकक्षीसँग दुई मुलुकबीच आर्थिक तथा व्यापार सम्बन्ध विस्तार गर्ने सम्भावनाका विषयमा छलफल गरेँ । युएइ नेपालको तेस्रो सबैभन्दा ठूलो व्यापार साझेदार भएकोमा म गौरव गर्छु । सन् २०१४ मा मात्र दुई मुलुकबीच तेलबाहेक दुईपक्षीय व्यापार २३ करोड ५० लाख अमेरिकी डलर बराबर रहेको थियो । यो तथ्याङ्क आउँदा वर्षमा अझै बढ्ने सम्भावना भएको म विश्वास गर्छु,” उनले भने ।
विदेशमन्त्री नाह्यानले युएइको प्रमुख भौगोलिक अवस्था तथा खुला, प्रगतिउन्मुख व्यापारिक वातावरणले मध्यपूर्व, दक्षिण एसिया तथा अफ्रिकाका क्षेत्रका लागि केन्द्रीय आर्थिक, अन्वेषण तथा व्यापारिक केन्द्र उपलब्ध हुने मार्ग बनाएको चर्चा गर्दै भौगोलिक कठिनाइमा रहेको नेपालजस्तो मुलुकलाई युएइसँगको सम्बन्ध विस्तारले आफ्नो सीमाभन्दा पर पनि आर्थिक उपस्थिति विस्तार गर्न पर्याप्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
“हाल युएइका विमान सेवाले काठमाडौँमा प्रतिसाता ५१ वटा सोझै उडान भर्ने गर्दछन् । “पर्यटकीय क्षेत्रका रुपमा नेपालको मौलिक वातावरण तथा आकर्षणले नेपालको भ्रमण गर्न तथा यहाँ लगानी गर्न युएइका नागरिकलाई सरल अवसर प्रदान गर्छ”, विदेशमन्त्री नाह्यानले भने ।
आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको उनले चर्चा गरे ।
नेपाल र युएइबीच द्विपक्षीय वार्ता सम्पन्न
दूतावास उद्घाटनअघि नेपाल र युएइबीच द्विपक्षीय वार्ता भएको थियो । सो वार्तामा नेपाल पक्षको नेतृत्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापा र युएइका विदेशमन्त्री नाह्यानले गरेका थिए ।
वार्तामा परराष्ट्र मन्त्रालयका अतिरिक्त श्रम तथा रोजगार, उद्योग, अर्थ, गृह र पर्यटन मन्त्रालयका उच्चअधिकारी सहभागी भएका बुझिएको छ । आजै उपप्रधानमन्त्री थापाले विदेश मन्त्री नाह्यानको सम्मानमा दिवाभोजको आयोजनासमेत गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग युएइका विदेशमन्त्रीले आजै बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।