के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
सारांश
- सामाजिक सञ्जालमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा कालो वर्णका खेलाडी नभएको दाबी भाइरल भएको छ ।
- वैज्ञानिक अध्ययनहरूले अर्जेन्टिनाको जनसंख्या आनुवंशिक रूपमा एकनास नभएको र अफ्रिकी मूलको पनि उल्लेखनीय योगदान रहेको देखाउँछन् ।
- अर्जेन्टिनाको आधिकारिक भाष्यले युरोपेली मूललाई प्राथमिकता दिँदा आदिवासी र अफ्रिकी मूलका मानिसहरूको योगदान ओझेलमा परेको छ ।
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको पृष्ठभूमिमा सामाजिक सञ्जाल एक्समा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली र त्यहाँका खेलाडीहरूको जातीय पृष्ठभूमिबारे गरिएको एउटा दाबी भाइरल बनेको छ ।
उक्त भाइरल पोस्टमा दाबी गरिएअनुसार यस पटकको विश्वकपमा सहभागी हुने अर्जेन्टिनाबाहेकका सबै टोलीमा कम्तीमा एक जना कालो वर्णका वा अफ्रिकी मूलका खेलाडी छन् ।
२५ लाखभन्दा बढी पटक हेरिएको, हजारौँ पटक रिपोस्ट तथा लाइक गरिएको उक्त पोस्टलाई उद्धृत गर्दै स्पेनी भाषाका विभिन्न सामाजिक सञ्जाल खाताहरूले अर्जेन्टिनाको टोलीमाथि कथित जातीय विभेदको आरोपसमेत लगाएका छन् ।
तर, इतिहासकार र मानवशास्त्रीहरूका अनुसार यो बहस नयाँ भने होइन । यसअघि सन् २०२२ को कतार विश्वकपका समयमा पनि अमेरिकी सञ्चारमाध्यम ‘द वासिङ्टन पोस्ट’ ले अर्जेन्टिनी टोलीमा अश्वेत खेलाडीहरूको न्यूनताबारे प्रश्न उठाउँदै एक लेख प्रकाशित गरेपछि यस्तै बहस सिर्जना भएको थियो ।
के अर्जेन्टिनामा अफ्रिकी वंशावली नगण्य छ ?
भाइरल दाबीहरूले अर्जेन्टिनामा अफ्रिकी मूलको उपस्थिति नगण्य रहेको मान्यता राख्छन् । तर, जैविक मानवशास्त्र र जनसंख्या आनुवंशिकीसम्बन्धी वैज्ञानिक अध्ययनहरूले यसलाई पुष्टि गर्दैनन् ।
अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का अनुसन्धानकर्ता एवं मानवशास्त्री फ्रान्सिस्को डी फाबियो रोक्काले अर्जेन्टिनाको तथ्य जाँचकी संस्था Chequeado सँग कुरा गर्दै अर्जेन्टिनाको जनसंख्या आनुवंशिक रूपमा एकनासको नभएको बताएका छन् । उनका अनुसार इतिहासमा ठुलो मात्रामा भएको आप्रवासनका कारण युरोपेली प्रभाव बढी देखिए पनि यहाँ आदिवासी र अफ्रिकी मूलको पनि उल्लेखनीय योगदान छ ।
सन् २०२५ मा ‘सोसाइटी अफ जेनेटिक्स अफ अर्जेन्टिना’ को वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनअनुसार ब्युनस आयर्स महानगर क्षेत्रका बासिन्दाहरूको आनुवंशिक संरचनामा ८४ प्रतिशत पश्चिमी युरेसियाली, १२.५ प्रतिशत आदिवासी र ३.४ प्रतिशत उपसहारा अफ्रिकी मूलको अंश पाइएको छ । देशका अन्य क्षेत्रहरूमा त आदिवासी मूलको योगदान युरोपेलीभन्दा पनि बढी पाइएको अध्ययनहरूले देखाएका छन् ।
विज्ञहरूका अनुसार ल्याटिन अमेरिकामा कसैको शारीरिक बनावट वा छालाको रङ मात्र हेरेर उसको आनुवंशिक पृष्ठभूमि अनुमान गर्नु वैज्ञानिक हुँदैन । शताब्दीयौँदेखिको अन्तरविवाहका कारण बाह्य रूपमा श्वेत देखिने व्यक्तिमा पनि अफ्रिकी वंशावली हुन सक्छ । उदाहरणका लागि, सन् २०२२ को एक अध्ययनले फुटबलका लिजेन्ड डिएगो म्याराडोना पनि स्वतन्त्रता आन्दोलनमा लडेका एक अफ्रिकी मूलका दासका सन्तान भएको देखाएको थियो ।
इतिहास र वर्तमान तथ्यांक
सन् २०२२ को राष्ट्रिय जनगणना अनुसार अर्जेन्टिनाका करिब ३ लाख २ हजार ९ सय ३६ जना (कुल जनसंख्याको ०.७ प्रतिशत) ले आफूलाई अफ्रिकी वा कालो वर्णका पुर्खाका सन्तानका रूपमा चिनाएका छन् ।
इतिहासकार माग्दालेना कान्दियोतीका अनुसार १९ औँ शताब्दीको सुरुवाततिर रियो दे ला प्लाटा क्षेत्र (हालको अर्जेन्टिना) का प्रमुख सहरहरूमा झन्डै ८ देखि १२ प्रतिशत जनसंख्या अफ्रिकी मूलका दासहरूको थियो । इतिहासमा करिब २ लाख अफ्रिकीहरूलाई दास बनाएर यस क्षेत्रमा ल्याइएको थियो, जुन संयुक्त राज्य अमेरिका ल्याइएका दासहरूको झन्डै आधा बराबर हो । समयक्रममा यहाँका आदिवासी, युरोपेली र अफ्रिकी समुदायहरूबीच व्यापक अन्तरविवाह भयो, जसले गर्दा छुट्टै जातीय पहिचानहरू हराउँदै गए ।
युरोपेली पहिचानलाई बढी प्राथमिकता दिने भाष्य
विभिन्न अध्ययनहरूका अनुसार अर्जेन्टिनाको आधिकारिक राजनीतिक र सामाजिक भाष्यले ऐतिहासिक रूपमा देशको युरोपेली मूललाई बढी प्राथमिकता दिँदै आएको छ । जस्तैः पूर्वराष्ट्रपति अल्बर्टो फर्नान्डेजले 'अर्जेन्टिनीहरू युरोपबाट जहाजमा आएका' भनी अभिव्यक्ति दिएका थिए भने अर्का पूर्वराष्ट्रपति माउरिसियो माक्रीले 'हामी सबै युरोपेलीका सन्तान हौँ' दाबी गरेका थिए ।
यस्ता अभिव्यक्तिहरूले अर्जेन्टिनाको समाज निर्माणमा आदिवासी र अफ्रिकी मूलका मानिसहरूको योगदानलाई ओझेलमा पारेको विज्ञहरूको बुझाइ छ ।
मानवशास्त्री रोक्काका अनुसार संयुक्त राज्य अमेरिकामा जस्तो अर्जेन्टिनामा जातीय आधारमा अलग बसोबास गर्ने बन्द समुदाय विकास नहुनु सकारात्मक पक्ष भए पनि यसै सामाजिक मिश्रणका कारण धेरै सांस्कृतिक योगदानहरूको वास्तविक उत्पत्ति भने ओझेलमा पर्न गयो ।
इतिहासकार कान्दियोतीका अनुसार साझा राष्ट्रिय पहिचान निर्माण गर्ने क्रममा पुराना जातीय भिन्नतालाई बेवास्ता गरियो । यद्यपि, कानुनी रूपमा समानता कायम गरिए पनि समाजमा रङ र उत्पत्तिका आधारमा हुने विभेद र असमानता भने अझै पूर्ण रूपमा अन्त्य भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण