शेरबहादुर देउवा र आफूलाई जेल हाल्न प्रचण्डको चुनौति
काठमाडौं – जनयुद्ध शुरु भएको २० बर्ष र शान्तिप्रक्रिया शुरु भएको १० बर्षपछि आधा दर्जन टुक्रामा विभक्त मओवादी नेताहरु शुक्रबार एउटै मञ्चमा देखिए । काठमाडौंंको भृकुटीमण्डपस्थित सभागृहमा पाँच दलीय संयुक्त समितिले आयोजना गरेको मञ्चमा उभिएर नेताहरुले बृहत शान्ति सम्झौताको मर्म र भावनाअनुसार काम नभएकोप्रति कडा आलोचना गरे । बृहत शान्ति सम्झौता र युद्धकालिन मुद्दाहरुका बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले गुट र फुटका कारण टुक्रिएको माओवादीलाई एकढिक्का भएर परिवर्तनको आभाष जनतामा दिलाउन आग्रह गरे ।
कसले के भने प्रचण्ड, अध्यक्ष एमाओवादी - बृहत शान्ति सम्झौताको मर्म र परिवर्तनको प्रक्रियालाई अदालतले आत्मसाथ गर्न सकेन । - नेपालमा स्थायी शान्ति देख्न नचाहनेहरुले युद्धकालिन मुद्दाहरु ब्युँताएर शान्ति सम्झौता भाँड्न लागिपरेका छन् । - जनयुद्ध चलिरहँदा जनमुक्ति सेनाको सुप्रिम कमाण्डर र पार्टीको अध्यक्ष हुनुको नाताले जनयुद्धकालमा घटेका सबै घटनाहरुको जिम्मेवारी म आफैँले लिन चाहन्छु । - तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा र तत्कालिन बिद्रोही पक्ष प्रचण्डलाई जेल हाल्ने हिम्मत गर्नुस् । - राज्यको कुनै न कुनै अंगबाट माओवादीलाई लखेट्ने काम भएको छ । यसलाई परास्त गर्नको लागि हामी सबै माओवादी एक ठाँउमा उभिन जरुरी छ । - आज मानवअधिकारको चर्को नारा उरालेर द्वन्द्वकालिन मुद्दा ब्युँताउन लागिपरेका र हामीलाई २ दिन भएपनि जेल हाल्नुपर्छ भन्नेहरु हिजो १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन चलिरँहदा कहाँ थिए ? - यी मानवअधिकारवादी र कानुनविद्हरु हिजो परिवर्तनका अग्र मोर्चामा त कतै पनि देखिएका थिएनन् । आज द्वन्द्वकालिन मुद्दाहरु ब्युँताउन लागेकाहरु नेपालमा शान्ति चाहन्छन् कि भाँडभैलो चाहन्छन् ? - के यिनीहरुलाई नेपालमा सधैं द्वन्द्व र लडाँइ नै भैरहोस भन्ने लागेको छ ? - हिजो युद्ध लडेका दुई पक्षका कमाण्डरदेखि जवानसम्म, नेतादेखि कार्यकर्तासम्म आज मिल्न चाहेका छन् भने बिचमा आएर भाँजो हाल्नेहरु कहाँबाट परिचालन भएका छन् । - अदालतले शान्ति प्रक्रियाको मूल मर्मलाई आत्मसाथ गर्नुपर्छ कि पर्दैन । कि अदालत भगवान जस्तो हो जे भने पनि हुने ? युद्ध लडेका दुवै पक्षलाई समान तरिकाले लिनुपर्छ तर एकपक्षलाई वायस गरेर गएको देखिन आएको छ । - कुनै पनि मूल्यमा माओवादीलाई एकढिक्का बनाउने र र नयाँ शिराबाट संघर्षको थालनी गर्ने मेरो योजना छ । पार्टी एकता हुनको लागि सरकार बाधक हो भने यो सरकार छाड्न आजै तयार छौं । - परिवर्तनका विरोधीहरु हामीलाई जेल हाल्न चाहन्छन् । तर, परिवर्तनका पक्षपातीहरु द्वन्द्वकालिन मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगले सकारातमक तरिकाले सुल्झाओस भन्ने चाहन्छन् ।
मोहन वैद्य किरण, अध्यक्ष क्रान्तिकारी माओवादी - संक्रमणकालिन न्यायको सिद्धान्तले राजनैतिक परिवर्तनलाई आत्मसाथ गर्दछ । तर यहाँ त्यस्तो हुन सकेन । - नेपालमा अहिले जे जति परिवर्तनहरु भएका छन् । ति वास्तविक परिवर्तनहरु होइनन् । - नेपालमा क्रान्ति भएको हो भनेर सबैले स्वीकार गरेका छन् । सामान्यतया क्रान्तिपछि शासकहरु जेल जाने र क्रान्तिकारीहरु सत्तामा जाने हुन्छ तर नेपालमा त्यसको ठिक उल्टो भएको छ । हिजोका शासकहरु आज पनि उसत्तामा हालीमुहाली गरिरहेका छन् । जो वास्तविक परिवर्तनको लागि लडेका हुन् उनीहरु आज अपराधी जस्तै जेलनेल भोग्न बाध्य छन् । - केही गल्ती त हामीले अवश्यै गरेका छौं । अब त्यसको गम्भिर समिक्षा गरौं । - हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी हुने बेलामा दुई पटक हामीले नै सरकारको नेतृत्व गरेका थियौं । अहिले पनि माओवादी सरकारमा छ तर जनताले अनुभूत गर्ने खालको परिवर्तन किन हुन सकेको छैन ? - शान्ति प्रक्रियामा माओवादीलाई यसैगरी डण्डा लगाएर ठिक पारिन्छ भनेर कसैले सपना देखेको छ भने त्यो दिवा सपना मात्र हुनेछ । हो हामी आज फुटेका छौं, विभाजन भएका छौंैं तर आवश्यक परेको खण्डमा हामीलाई एकै ठाँउमा उभिन कसैले रोक्ने छैन । आवश्यक परेको खण्डमा माओवादी जाग्नेछ । - द्वन्द्वकालिन मुद्दाहरु ब्युँताएर हामीलाई जेल पठाउने प्रपञ्च किन गरिँदैछ ? - यो कानुनी मुद्दा होइन राजनैतिक मुद्दा हो । यसलाइ राजनैतिक तवरबाटै हल गरिनुपर्छ । - नयाँ राष्ट्रिय सहमतिले मात्र यो समस्या हल गर्नसक्छ । यो कुनै कानुनी सवाल मात्र होइन । - माओवादी पार्टी एकता आज सबैको चाहना हो । हामी त्यो प्रत्रक्रियामा पनि छौं तर कसरी एकताबद्ध हुने भन्ने सवालमा गम्भिर समिक्षा हुन बाँकी नै छ । मात्रिका यादव, संयोजक नेकपा माओवादी - यो कार्यक्रम आज गर्ने कार्यक्रम होइन । १० बर्ष अगाडि नै गर्नुपथ्र्यो । - गणतन्त्रको लागि लडेकाहरुमाथि मुद्दा लागेको छ । कहिल्यै आन्दोलनमा नआएका, कहिल्यै गणतन्त्रको नारा पनि नलाएकाहरु सत्तामा बसेर हामी माथि मुद्दा लगाउने भएको छ । यस्तो अवस्था कसरी आयो ? - संघीय गणतान्त्रिक मुलुकको माथिल्लो ओहोदामा बसेर राजतन्त्रवादीहरु संसार भ्रमण गर्न निस्किएका छन् । संघीयताका लागि लड्नेहरु सडकमा गोली खाइरहेका छन् र संघीयताका विरोधीहरु संघीयतासहितको संविधान यही हो भन्दै संघीयताको पक्षपातीलाई गोली दागी रहेछन् । - शान्ति प्रकृयालाई ध्वस्त पार्न चाहनेहरु संघीयताको खोल ओढेर संघीयताकै विरुद्धमा बिष दमन गर्दै हिँडेका छन् । - मानवअधिकारको नाममा डलरको खेती गर्नेहरुको कति पानीमाथि छन् हामीले पनि हिसाव किताव राखेका छौं । गणतन्त्र ल्याउनको लागि टाउकोको मूल्य तोकिएका नेताहरुलाई एकदिन भएपनि जेलमा कोच्नुपर्छ भन्नेहरु कस्ता मानवअधिकारवादी हुन् ? डा.सुन्दरमणी दिक्षित, नागरिक अगुवा - माओवादीलाई फुट्ने अधिकार कसले दियो ? त्यतिबेला हामी शुभचिन्तकहरुले दिएको सुझावको वास्ता कसैले गरेन । आज यो अवस्था त हुनु नै थियो । केही स्वार्थ नभइकन त तपाइहरु फुट्नुभएको होइन । पार्टी फुटाउनुमा तपाईंहरुका केके स्वार्थ थिए ? - संसार हल्लाउने नेपाली जनक्रान्तिको सुप्रिम कमाण्डर आज किन यस्तो अवस्थामा पुगेको हो भनेर आत्मसमिक्षा गर्नुभयो कि छैन ? - अन्याय र अत्याचार त तपाईंहरुले पनि त गर्नुभएको छ । आज बेपत्ता परिवार र शहीद परिवारका आँखा रुँदा–रुँदा थाकेका छन् । तिनको आँशु आँखामै सुकिसकेको छ । खिलबहादुर भण्डारी, कार्यवाहक अध्यक्ष नेपाल पत्रकार महासंघ - यो तर्क वितर्क र बहस गर्ने समय होइन । यतिबेला तर्क र बहस गरेर द्वन्द्व बल्झाउने कि शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउने ? -सबै मानव अधिकारकर्मी र सञ्चारकर्मीले गम्भिर भएर बोलौं, लेखौं । हामीले समाजलाई अग्रगमनतिर लैजाने सामग्री दिनुपर्छ । सही विचार प्रवाह गर्नुपर्छ । जयपुरी घर्ती, शहीदपरिवार तथा महिला नेतृ - १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले नेपालको २ सय ५० बर्षको राज्यसत्ता परिवर्तन गरिदियो तर, बिडम्बना त्यो परिवर्तनको लागि लड्नेहरु आज बायस भएका छन् । - माओवादी जनयुद्धमा लागेर शहिद हुनेहरुलाई राज्यले उचित सम्मान दिएको छैन । हामी द्वन्द्वपीडित भनेर चिनिनु परेको छ । जवकी यो सरासर गलत छ । - शहिद परिवारलाई दिने राहत भिख मागेजस्तो र दिएजस्तो गरेर दिइएको छ । शहिदका छोराछोरीले पाउने छात्रवृत्तिलाई द्वन्द्वपीडितको छात्रवृत्ति भनेर दिइएको छ । यो शान्ति सम्झौतासँग जोडिएको सवाल हो । - गणतन्त्र ल्यउाउनको लागि जीवन बलिदान गरेका शहिदका परिवारको आज बिचल्ली भएको छ । गणतान्त्रिक राज्यसत्ताले उचित सम्मान दिन सकेको छैन ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण