बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ट्राफिक प्रहरीसँग आउनेले यसरी ठगे दुई दर्जन युवती

शनिबार, ०१ जेठ २०७३, ११ : ३३
शनिबार, ०१ जेठ २०७३

काठमाडौं–रामेछापकी आशा स्याङ्तान (नाम परिवर्तन) श्रीमानसँग छुट्टिएर राजधानीमा बस्न थालेको लामो समय भैसकेको थियो । कुपण्डोलको बाग्मती पुलभन्दा पारीपट्टी उनको डेरा थियो । घरायसी कारणले उनी पहिलो श्रीमानसँग बस्न नसक्ने निर्णयमा पुगिन्, उनका दिदीहरुले दोस्रो बिहे गर्न दबाव दिए ।

ललितपुरको ‘आर्टी इन्टरनेशन’नामक सिमकार्ड विक्री केन्द्रमा सेक्युरिटी गार्ड गरेर आफ्नो पेट पाल्दै आएकी आशा दोस्रो विहे गर्न राजी भइन् । ०७२ पुस महिनामा दिदीहरुले उनलाई सरकारी जागिर खाइरहेको केटासँग भेट गराए । ‘त्रिपुरेश्वर चोकमा ड्युटी बस्ने ट्राफिकको सिपाहीसँग ०७२ पुस पाँच गते भेट भयो’ आशा भन्छिन्, ‘हामीले वल्र्ड ट्रेड सेन्टरको बाहिर बसेर चिसो पियौं, पछि भेट्ने बाचा गर्दै छुट्टियौं ।’ कोहलपुर स्थायी घर भएका ट्राफिक प्रहरी दिल बहादुर थापा उमेरले चालिस ‘क्रस’ भैसकेका थिए । २८–३० बर्षीया आशाले उनीसँगै विवाह गर्ने सोच बनाएपनि दिलबहादुरका केही नराम्रो बानीका कारण उनले पछि विवाह गरिनन् । दिलबहादुर अत्यधिक मदिरा सेवन गर्थे, घरमा श्रीमती र छोराछोरी थिए, चुरोट तथा पानपरागको लत लागेको थियो । ‘त्रिपुरेश्वरमा तेस्रो पटक भेट्दा मैले दिलबहादुरलाई भनिदिएँ ‘विदेश जाँदैछु, अहिले विवाह गर्दिनँ’ आशा भन्छिन्, ‘दिलबहादुरसँग छुटेको केही दिनपछि अर्को केटाले मलाई पछ्याउन थालिहाल्यो ।’ यो समाचार त्यहि पछ्याउने केटाले आशा सहितका दुई दर्जन युवतीहरुलाई कसरी ठगेर बिचल्ली बनाए भन्नेमा केन्द्रित छ ।

दुई महिना भन्दाबढी ट्राफिकको साथिको रुपमा देखापरेका रुकुमका धनसिंह ओलीले दिलबहादुरसँग तेस्रो पटक भेटेर छुटेको आधा घण्टामा आशा स्याङतानलाई फोन गरेर भने, ‘भाउजु एकैछिन भेटौं न, तपाईंको र मेरो छुट्टै काम छ ।’ ट्राफिकको साथी बनेर आउने गरेका धनसिंहले तिनै दिलबहादुरको अनुपस्थितिमा उनको विवाह भैसकेको र बच्चा भएको भन्दै आशालाई उसँग विवाह नगर्न सल्लाह दिए । धनसिंहले ‘भाउजु’ साईनो लगाएर कुरा गनुर्अघि नै आशाले दिलबहादुरबारे धेरै कुरा थाहा पाईसकेकी थिईन् । अब ट्राफिक किनारा लागे, आशाको दैनिकीमा हरपल धनसिंहले चियो–चर्चो गर्न थाले । ‘बिहे भैसक्यो, श्रीमती बालाजु बस्छिन, तपाईलाई भेटाउँछु’ भनेका ओलीले आशालाई कहिल्यै कोठा पनि देखाएनन्, श्रीमतीसँग चिनजान पनि गराएनन् । बरु उनी आशाको कोठातिरै धाउन थाले । कुपण्डोलको बाग्मती पुल भन्दा पारिपट्टि गुर्सुङ्गलमा रहेको आशाको कोठामा धाउन थालेका धनसिंहले शुरुमा आशाका दुई छोराहरुलाई चकलेट, बिस्कुट किनिदिन्थे । पुरानो हुँदै गएपछि कोठा आसपासका पसल र होटलमा ‘म आर्मीको मान्छे हुँ, आशा मेरो श्रीमती हो’ भन्न थाले । नाकाबन्दीले खाना पकाउने ग्याँसको हाहाकार थियो । ‘कोठा छेउको मोवाईल पसलेबाट ग्याँस भरेर ल्याईदिन्छु भन्दै दुईओटा सिलिन्डर र पैसा लगेछ’ आशा भन्छिन्, ‘मलाई श्रीमती भनेर किराना पसल र होटलमा प्रशस्थ उधारो खाएको रहेछ, धेरै तिर्न बाँकी छ ।’ आशा दिनभर डयुटि जान्थिन्, यता धनसिंह आशाको कोठा आसपासका होटलमा दिनभर मदिरा सेवन गर्थे, अनि आशा अफिसबाट फर्कने बेलामा किराना पसलबाट हजारौंको उधारो सामान पोको पारेर टाप ठोक्थे । ‘कोठा जाने बाटोमा उधारै उधारो छ’ आशाले आँशु पुछ्दै भनिन्, ‘बाटो हिँड्न समस्या भैसक्यो ।’ धनसिंहले उधारो खाएकै भरमा आशाको आँशु बगेको होईन, उनको पेट पाल्ने जागीर समेत धनसिंहले छुटाइदिए । ‘मेरो बुढो पठाउने कि, पुलिस लिएर आउँ ?’ काठमाडौंमा एक्लै डेरा लिएर बस्ने युवतीसँग नजिकिने र उनीहरुसँग भएभरका सवै ठग–ठाग पारेपछि अर्को युवती प्रयोग गरेर तड्पाउने धनसिंहको शैली थियो । आशाले डेरा गरेर बस्ने घरमा रहेको मोवाईल पसलेको दुईओटा ग्याँस सिलीन्डर र पैसा लगेको भोलिपल्ट आशाको मोवाईलमा फोन आयो । ‘मेरो वुढा तेरो कोठामा बसेको छ रे ! तुरुन्त पठाउँछेस् की पुलिस लिएर आउँ ?’ धनसिंहको श्रीमती बनेर यसरी फोन गर्ने केटीले आशाले बेस्मारी हपारिन् र फोन राखिन् । आशा छक्क परिन् । ‘त्यसपछि लगातार फोन आईरह्यो’ आशा भन्छिन्, ‘मलाई १३ जना केटीले फोन गरेर ‘मेरो बुढो किन तेरो कोठामा राखिस ?’ भन्दै मुख छाडे, ‘आशा भन्छिन्, ‘सवैले एउटै बोली बोल्थे, धनसिंहसँग विवाह गरेको चार बर्ष भयो, उसलाई पठाउँछेस् कि पुलिस लिएर आउँ भन्दै मलाई टर्चर दिए ।’ धनसिंहका श्रीमतीको नाममा आउने दर्जनौं कलका कारण आशा दिक्क भैसकेकी थिइन् । त्यस्तोमा धनसिंहको श्रीमती हुँ भन्दै केही दिनअघि फोन गर्ने एउटा नम्बरमा डायल गरेर उनले ति युवतीलाई महानगरीय प्रहरी परिसर टेकुमा बोलाइन् । त्यहाँ आइन् काभ्रेकी रितु थापा (नाम परिबर्तन) । ‘रितुलाई पनि उसले त्यसैगरी ठगेर छाडिसकेको रहेछ’ आशाले भनिन्, ‘त्यसपछि हामी दुवै मिलेर धनसिंहको विरुद्ध ०७२ फागुन अन्तिम साता जाहेरी दियौं ।’

धनसिंहको फोनले जागिर चट् ! ‘आशाको श्रीमती हुँ’ भन्दै सिलिन्डर टप्कार हिँडेका धनसिंहको ‘श्रीमती हुँ’ भनेर फोन गर्नेहरुले हैरान पारेपछि आशाले मोवाईल परिवर्तन गरिन् । उनले मोवाईल परिवर्तन गरेसँगै धनसिंहले आशा सेक्युरीटी गार्डको जागिर खाने अफिसमा फोन गरेर ‘मेरो श्रीमतीलाई किन राखिस् ?’ भन्दै धम्किपुर्ण शैलीमा फोन गर्न थाले । ‘अफिसको फोन उठाउने स्टाफलाई एकदिन तथानाम भनेछ, त्यसपछि मैले जागिर गुमाएँ’ आशाले आँशु पुछ्दै भनिन्, ‘अब काठमाडौंमा कसरी बाँच्ने, बच्चा कसरी पढाउने ?’

आशाका अनुसार धनसिंहले यसरी २४ भन्दा बढी युवतीलाई ठगेका छन् । ‘मलाई र रितुलाई फोन गर्ने सवै केटीहरुको नम्बर राखेका छौं’ उनी भन्छिन्, ‘अहिलेसम्म २४ जना पुगिसके ।’ दोहोरीमा भेट, गुहेश्वरीमा सिन्दुर–पोते ! काभ्रेकी रितु थापा बालाजुको मिर्मिरे दोहोरी साँझमा वेटरको काम गर्थिन् । प्रायजसो दोहोरीमा पुग्ने धनसिंहले आज भोली गर्दागर्दै रितुलाई आफ्नो जालमा पारे । रितुको कोठासम्म पुगे, बिहे गर्छु भन्दै मायाजालमा फसाए । एउटै कोठामा बस्न थालेपछि रितुले बिहे गर्न दवाव दिइन् । धनसिंहले उनलाई गुहेश्वरी मन्दिरमा लगेर सिन्दुर हालिदिए । रितु र धनसिंह मात्रै उपस्थित भएर रंगाएको सिउँदो मन्दिरको पुजारी बाहेक कसैले देखेनन् । रितुलाई सिन्दुर हालेको १५ दिनमा उनको झुम्का, सिक्री, कानको टप र तिनवटा खाली सिलीन्डर बोकेर धनसिंह टाप ठोके । रितु छाँगाबाट खसेजस्तै भईन् । सिउँदो रंगाएपछि रितुसँग धनसिंहले दैनिक पैसा माग्न थाले । ‘पैसा छैन भन्दा एकदिन बेस्कन कुटेछ’ आशा भन्छिन्, ‘त्यही कुटेको दिन रितुको घरबेटीको सिलिन्डर सहित उसको सुन लिएर भागेछ ।’ हरेक युवती र उनीहरुका घरबेटीको समेत खाली सिलीन्डर लाने धनसिंह ‘सिलिन्डर आर्मीको ब्यारेकमा लगेर राखेको छु, पालो आएको छैन’ भन्थे । उनको सजिलो जवाफ सवैले पत्याए, अन्तमा धेरैले सिलीन्डर गुमाए । ‘हामीलाई पहिले फोन गरेर थर्काउनेहरु आजभोली ‘मेरो सिलीन्डर खाईदियो, पैसा चोरेर भाग्यो’ भनेर रँदै फोन गर्छन’ आशा प्रश्न गर्छिन, ‘यसरी हामीलाई ठग्ने रुकुमको चेपङ गाविस–७ का बिर्खसिंह ओलिको छोरो धनसिंह ओलिलाई कुनै कारवाही हुँदैन ?’ त्यतिमात्रै होइन एकल युवती छानी छानी ठग्न पल्केका ओलीले रुकुमकै एक थारु थरकी युवतीको समेत चार लाख ठगेर फरार भएको बताइएको छ ।

यसैबीच महानगरीय प्रहरी परीसर काठमाडौंले अभियुक्त धनसिंह विरुद्व उजुरी परेको भन्दै उनको खोजी भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप