बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तीन दिनमा लगातार तीन परकम्प

आइतबार, ०२ जेठ २०७३, १८ : २८
आइतबार, ०२ जेठ २०७३

काठमाडौं – वैशाख १२ को विनाशकारी भूकम्प गएको १ वर्षभन्दा बढी समय बितिसक्दा पनि त्यसका परकम्पहरु आउने क्रम अझै राकिएको छैन । शुरुवाती महिनामा नियमित रुपमा परकम्पहरु आए पनि पछिल्लो समय परकम्प आउने क्रममा कमी आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यद्यपि, पछिल्ला ५ दिनमा भने लगातार रुपमा केही ठूला परकम्पको संख्या देखिएका छन् । वैशाख २९ गते एकै दिन गोरखा र धादिङ केन्द्रविन्दु भएर क्रमशः ४.४ र ४.५ रेक्टर स्केलको परकम्प गएको थियो । त्यसपछि वैशाख ३१ देखि जेठ २ गतेसम्म लगातार परकम्पहरु आएका छन् । यसअघि सिन्धुपाल्चोक र दोलखामा परकम्प गएकोमा आज बिहान ४ बजेर ३० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पुनः ४.४ को परकम्प गएको छ ।

किन आउँछ लगातार परकम्प ?

वैशाख १२ को भूकम्पपछि स–साना परकम्पको बारेमा पनि मानिसहरु सचेत भएका छन् । त्यही भएर महसुस हुने खालको परकम्प आए मानिसहरु अत्तालिने गरेका छन् ।

भूकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेश प्रसाद गौतम भन्छन्, ‘विशेष गरेर काठमाडौंका बासिन्दाले परकम्पको झड्का महसुस गरे भने बढी सचेत हुने वा यसबारे कुरा उठ्ने गरेको छ ।’

‘किन लगातार रुपमा आयो त परकम्प ?’ भन्ने प्रश्नमा उनले केही दिन यता आएको परकम्प नियमित प्रक्रिया अन्तरगतकै भएको बताए । ‘धेरै वर्षपछि ठूलो भूकम्प आएको छ । यसका दरारहरु ताजा छन् । त्यही भएर भूकम्प एकैपटक सामसुमै भएर जाने हुँदैन । परकम्पहरु आइनैरहन्छ । यसमा धेरै अत्तालिनुपर्ने स्थिति होइन,’ गौतमले भने ।

उनले अहिले पनि दिनहु १५ वटा स–साना परकम्पहरु गइनैरहेको जानकारी दिए । ‘स–साना त दैनिक रुपमै गएका छन् । धेरैलाई हामी महसुस पनि गर्दैनौं । ४ रेक्टर स्केलभन्दा कमका परकम्पलाई हामी वेभसाइटमा पनि देखाउँदैनौं,’ उनले भने ।

गौतमले ठूलो भूकम्प आउने कुरा कसैले पूर्वानुमान गर्न नसक्ने बताउँदै परकम्प आउँदैमा अत्तालिन नपर्ने बताए । ‘परकम्प आयो भन्दैमा अब ठूलो भूकम्प आउँछ कि भन्दै आत्तालिन हुँदैन । कसैले भूकम्पको पूर्वानुमान गर्न सक्दैन । हामी सचेत भएर बस्नुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप