बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपाल फर्किएपछि दीपकुमार उपाध्यायले भने– अब साथीभाईसँग छलफल गरेर अघि बढ्छु

आइतबार, ०२ जेठ २०७३, १५ : ५२
आइतबार, ०२ जेठ २०७३

काठमाडौँ– भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिएका छन् ।

सरकारको निर्णयअनुसार आज स्वदेश फर्कनुभएका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको बताए ।

राजदूत पदमा १३ महिना पाँच दिन बिताएका राजदूत उपाध्यायले पदमा रहँदा भारतीय सिमानामा उत्पन्न आपूर्तिको असहज अवस्थालाई सामान्य बनाउन सक्दो प्रयास गरेको बताए । फिर्ता बोलाएको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले भने, “मलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण खुलाएको छैन ।”

पदमा रहँदा आफूबाट कुनै गल्ती नभएको स्पष्ट पार्दै उनले त्यस सम्बन्धमा सार्वजनिक भएका हल्ला भ्रम मात्र भएको दाबी गरे । उनले सरकारप्रति आफ्नो पूर्ण सम्मान रहेको र कुनै मर्यादा उल्लङ्घन नगरेको बताए ।

अबको जीवन कसरी अघि बढ्छ भन्ने एक जिज्ञासामा उनले भने, “साथीभाइसँग सल्लाह गरेर अघि बढ्छु ।”

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पूरा भएको र अन्तिम समयमा आएर स्थगन हुनु दुःखद भएको बताउँदै उनले एक–दुई घटनाले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप