बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गठबन्धनको घेराउले सिंहदरबार सुनसान

आइतबार, ०२ जेठ २०७३, १७ : १९
आइतबार, ०२ जेठ २०७३

काठमाडौ– मधेशी, आदीवासी तथा जनजाती पार्टीहरुको सिंहदरबार घेर्ने कार्यक्रमका कारण काठमाण्डौमा कामका लागि आवतजावत गर्ने सर्बसाधारणले ठूलो सास्ती भोग्नु परेको छ । कामका लागि विभिन्न स्थानबाट सिंहदरबार वरिपरीको सडक भएर आवत जावत गर्ने सर्वसाधारणको काम हुन नसक्दा सास्ती भएको हो ।

टाढा टाढाबाट सिंहदरबारमा कामका लागि आएका सर्वसाधारण सहजै भित्र पस्न पाएनन् भने माईतिघर, पुतलीसडक तथा हनुमानथानको बाटो भएर आवतजावत गर्ने सवारीसाधन ति सडमा प्रवेश गर्न नपाउँदा सयौँ सर्वसाधारण हिँडेर आवत जावत गर्न बाध्य भए ।

प्रहरीले थापाथली, विजुलीबजार, पुतलीसडकबाट सवारीसाधन भित्र पस्न दिनभर दिएन । जसले गर्दा ति सडकहुँदै विभीन्न ठाउँमा पुग्ने सर्वसाधरणले सास्ती भएको गुनासो गरेका छन् ।

जनकपुरबाट भक्तपुरस्थित व्यवसायीक सिप तथा तालिम परीषद् (सिटीईभिटी)मा कामका लागि आएकी चञ्चला झाले थापाथलीबाट गाडी अगाडी नगएपछि आफू काम नभएर अलपत्र परेको बताईन । ‘भक्तपुर हिँडेको मान्छे थापाथलीबाट अगाडी जान पाईँदैन’ उनले गुनासो गर्दै भनिन् ‘यहाँबाट विचविचमा हिँड्दै जाँदा राजस्व संकलनको काम बन्द भएर सर्टिफिकेट नै निकाल्न पाईएन ।’

सिंहदरबार छिर्ने सबै नाका थुनिँदा विभिन्न जिल्लाबाट आएका सर्वसाधरण बाहिरै अलपत्र छन् । सरकारले बजेटको तयारी गरीरहेको बेला विभीन्न जिल्लाबाट बजेट माग, डेलिगेसन, सरुवा आदि कामका लागि आएका सर्वसाधारणले आफूहरुले सास्ती भोग्नु परेको बताए । ‘चतरा–हेटौडा बैकल्पिक मार्गको बीचको १२ किलोमिटर खण्ड राजनीतिक पहुँचको आधारामा परिवर्तन गरेपछि मन्त्रीज्यूसंग भेटेर कुरा गर्न आएको तिनदिन भयो, बल्लबल्ल आज मन्त्रीज्यूको समय मिलेको थियो तर साथीहरु जाउलाखेलबाट यता आउनै सकेनन्, त्यत्तीकै भयो ।’ उदयपुरका एमाले नेता बोध कुमार घिमिरेले भने ‘देशको ठूलो प्रशासनिक निकायमा छिर्न पनि २÷३ घण्टा कुर्नुपर्ने, के अवस्था हो यो ?’

सिंहदरबारभित्र पर्ने नाकाहरु घेराउ गरको कारण आज सिंहदरबार भित्र छिर्ने सर्वसाधारणहरुको संख्यामा पनि उल्लेख्य कमि आएको सुरक्षाका लागि खटीएका एक प्रहरी अधिकारीले बताए । ‘गाडीबाट आउनेहरु त आएकै छैनन् भन्दा हुन्छ, पास लिएर पैदल जानेहरु पनि सामान्य मात्र छन् ,’ ति अधिकारीले भने ।

प्रहरीले कोटेश्वर र कलंकीबाटै ठुला सार्वजनिक सवारी साधन रोकेको छ । आन्दोलनकारी फाट्टफुट्टमात्रै जम्मा हुन लाग्दा विहानै ९ बजेदेखि नै प्रहरीले थापाथली, भद्रकाली, जयनेपाल र बानेश्वरबाट सवारी छिर्न रोकेपछि सरकारी कर्मचारीसमेत सिंहदरबार छिर्न सकेनन् । आफ्नै सवारीसाधन लिएर आएकाहरु विचबाटोबाटै फर्किन बाध्य भए भने सार्वजनिक सवारीमा आउनेहरु टाढा टाढा ओर्लिएर पैदलै हिँड्दा दिउँसो १२÷१ बजेसम्म कार्यालय जाँदै गरको देखिन्थे ।‘कार्यालयमा विद्युतिय हाजिरी छ, पाँचमिनेट ढिला भयो भने हाजिर नै हुँदैन’ ललितपुर ईमाडोल विनायकबस्ती घर बताउने विष्णु प्रसाद घिमिरेले आक्रोशित हुँदै भने ‘समयमा पुग्नका लागि यो हालत छ, न हाजिर हुने, न विदामा बस्ने अवस्था आयो ।’

सरकारले आन्दोलनकारीलाई हटाएर आफ्ना सवारीसाधन चल्न दिनुपर्नेमा टाढाटाढा रोकेरनिर्वाध सवारी साधन आवागमनमा अवरोध सिर्जना गरेको भन्दै यातायात व्यवसायी समेत आक्रोशित बनेका छन् । ‘सरकाले त आन्दोलन रोकेर जनतालाई सहजता दिनुपर्ने हो, प्रहरीले नै गाडी रोकेर गरीखाने बाटो बन्द गरीदिने यो के रबैया हो ?’ कोटेश्वरका यातायात व्यवसायी दिपेन्द्र बस्नेतले भने ‘यो मोर्चाको आन्दोलन हैन, प्रहरीकै आन्दोलन जस्तो भयो ।’

सिँहदरबार दक्षिणगेट, हनुमानथान, माईतिघर, अनामनगर, पुतलिसडक, न्यूप्लाजा लगायतका व्यापारीले समेत आन्दोलनका कारण सास्ती भोग्नु परेको गुनासो गरका छन् । ‘व्यापार त बन्द नै छ, भित्रका गाडी बाहिर निकाल्न नपाएपछि सामान लिन, आफनत भेट्न समेत जान पाईएन’ हनुमानथानका स्टेशनरी व्यवसायी राजु खनाले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप