बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राप्रपा पृष्ठभूमिका सबै शक्तिहरु एकजुट हुनु पर्नेमा जोड

सोमबार, ०३ जेठ २०७३, ०९ : १०
सोमबार, ०३ जेठ २०७३

काठमाडौं – नेपाली जनताले सही विकल्प खोजीरहेको ठहर गर्दै राप्रपा पृष्ठभूमीका सबै शक्तिहरु एकजुट हुनु पर्ने निष्कर्ष वक्ताहरुले प्रस्तुत गरेका छन् ।

एकीकृत राप्रपा निर्माण अभियान अन्तरर्गतको कार्यक्रमलाई आइतबार सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताहरुले राजसंस्था तथा हिन्दु राष्ट्रको मुद्दामा राष्ट्रिय समाधान खोजिनु पर्ने विचार अभिव्यक्त गरेका थिए ।

राजनीतिक दलहरुबाट जनताले धोका पाएका छन्, भ्रष्टाचार चुलिएको छ । यस अवस्था राप्रपा पृष्ठभूमीका शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने हो भने जनताको समर्थन प्राप्त हुने विश्वास राप्रपाका वरीष्ठ नेता डा. प्रकाश चन्द्र लोहनीले व्यक्त गरे । यस अर्थमा हिन्दुत्वको माग समय सापेक्ष भएको बताए ।

‘नेपाली कांग्रेस र एमालेले जनतालाई चामलमा ढुंगा मिसाएर बेचे, माओवादीले भूष नै मिसाए । सबै अवस्था बुझेको जनताले विकल्प खोजीरहेको छन्, एकीकृत राप्रपा भएर जाने हो भने जनताले साथ दिनेछन्,’ लोहनीले भने ।

‘संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र विकेन्द्रीत स्थानीय स्वायत्त शासनको सिद्धान्तलाई निरन्तरता दिँदै राप्रपा पृष्ठभूमीका सबै शक्तिको एकता गर्नु पर्दछ,’ राप्रपा नेपालबाट निलम्बित सहअध्यक्ष केशर बहादुर विष्टले बताए ।

यो अभियान पार्टी फुटाउन वा नयाँ पार्टी बनाउन नभएर, राष्ट्रवादी शक्तिहरुको एकताको लागि भएको विष्टले स्पष्ट पारे । एकीकृत राप्रपा निर्माण गर्ने क्रममा राजासँग काम गरेका पूर्वपंचहरु, राजावादीहरु, धर्मवादीहरु, हिन्दूवादीहरु, राष्ट्रवादीहरु सबैको एकता हुन जरुरी भएको छ, विष्टले भने ।

राप्रपा नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न कार्यक्रममा राप्रपा, राप्रपा नेपाल, राप्रपा नेपाल समानान्तर, राप्रपा नेपाल राष्ट्रवादी लगायत धेरै साना राष्ट्रवादी दलहरुको सहभागिता रहेको थियो ।

राप्रपा नेपाल समानान्तरका कार्यवाहक अध्यक्ष गणेश शेरचनले कमल थापालाई पनि कार्यक्रममा निम्तो गर्नु पर्दथ्यो भन्ने सुझाव राख्दै, राप्रपा नेपाल नेतृत्वले सिद्धान्त बेचेर गाईलाई गोरु बनाएको उल्लेख गरे । संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र अखण्ड नेपालको नारामा राष्ट्रको हित हुने बताए ।

राजतन्त्रको अन्त्यसँगै सामन्तवादको अन्त्य भएर नेपालमा राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र समृद्धी प्राप्त हुन्छ भन्ने वामपन्थीहरुको दावी मिथ्या साबित भइसकेको बताउदै, राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘राप्रपा पृष्ठभूमीका सबै शक्तिहरु एक ठाउँ आउने क्रममा सैद्धान्तिक विचलन जस्ता गल्ती कमजोरी गर्ने पक्षलाई पनि सच्चिने अवसर दिनुपर्दछ ।’

राप्रपा नेपालका केन्द्रीय सदस्य विष्णु भट्टराईले गणतन्त्रको बाटोबाट राजतन्त्रको गन्तव्य पुग्छु भन्नु खसी खाएर शाकाहारी हुँ भने जस्तो भएको बताए । अध्यक्ष कमल थापाले बिचार बिसाएको जगजाहेर भएको अवस्था आफूहरुले पार्टी र सिद्धान्त रक्षाको निमित्त एकता अभियान संचालन गरेको प्रष्ट पारे ।

राष्ट्रवादी शक्तिको एकताले देशलाई संवैधिानक लगायतका संकटबाट मुक्ति दिने विश्वास राप्रपा नेपाल समानान्तरका महामन्त्री श्याम तिमल्सिनाले व्यक्त गरे । त्यसकारण पुराना तितामिठा कुरा बिर्सेर सबै राप्रपा एक हुनुपर्दछ, तिमल्सिनाले भने ।

राप्रपा नेपालका सहायक महामन्त्री मीरा राणाले पार्टी नेतृत्व गलत बाटोमा हिडेकोले राप्रपा नेपाललाई मत दिने ६ लाख ३० जनताको अबमूल्यन भएको बताए । राप्रपा नेपालका केन्द्रीय सदस्य दमन बस्नेतले राप्रपा एकता अभियानलाई पाँचै विकास क्षेत्र हुँदै राष्ट्रिय स्वरुप दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप