बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ठेकेदार कम्पनीको लापरबाहीले अधिकांश हेल्थपोष्ट भवन निर्माण पुरा हुन सकेन

सोमबार, ०३ जेठ २०७३, १४ : ४४
सोमबार, ०३ जेठ २०७३

राजविराज– ठेकेदार कम्पनीहरुको लापर्वाहीका कारण सप्तरी र सिरहाका ९ वटा हेल्थपोष्ट भवनको काम सम्पन्न गर्ने अवधि समाप्त हुदाँ पनि अझै अधुरै रहेका छन् । निर्माण कार्यको लागि टेण्डर स्विकृत भई काम सुरु गरेपनि विचमै अधिकांश ठेकेदार कम्पनीले काम वन्द गरेपछि भवन अधुरा रहेका हुन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजवाट टेण्डर स्विकृत भई निर्माण कार्य सुरु भएको सप्तरीको फत्तेपुर स्थित उपस्वास्थ्य चौकीको हेल्पोष्ट भवनको निर्माण सम्पन्न गर्ने म्याद २०६८ साल वैशाखसम्म रहेको थियो । समयमा काम सम्पन्न नभएपछि २०७१ असार २५ सम्म म्याद वढाईएपनि काम अझै अधुरो रहेको डिभिजन कार्यालयका प्रमुख मिलन आचार्यले वताए । रामजानकी निर्माण सेवा जनकपुरका नाममा २०६६ पुष २४ गते उक्त कामको ठेक्का स्विकृत भई सोहि वर्ष चैत्र १२ गते सम्झौता भएको हो । १ करोड १२ लाख ८६ हजार ४ सय १६ रुपैया लागत अनुमान रहेको उक्त काम ७१ लाख ९३ हजार ६ सय ४२ रुपैयामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माण सम्पन्न नभएको विषयमा ठेकेदार कम्पनीलाई पटक पटक तागेदा गर्दा वरु कारवाही भोग्न तयार भएको तर काम नगरेको आचार्यको भनाई छ । निजवाट १० प्रतिशत हर्जना रकम समेत असुल गरिएको उनले वताए । यसैगरी सोहि कम्पनीले ठेक्का लिएको पिप्रा पश्चिम उपस्वास्थ्य चौकीको हेल्थपोष्ट भवन निर्माणको म्याद २०६८ वैशाख मसान्तसम्म रहेकोमा पछि म्याद थपेर २०७० कार्तिक २८ गते कायम गरिएको भएपनि अझै काम पुरा नभएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीले जनाएको छ । उक्त निर्माण कामको लागत अनुमान १ करोड २६ लाख ४७ हजार २ सय २४ रहेकोमा ८९ लाख ३१ हजार १३ रुपैयामा ठेक्का सदर भएको थियो । यस्तै २०७० कार्तिक २० गते नै सम्पन्न गरिसक्नु पर्ने सप्तरीको जनस्वास्थ्य स्टोर भवन निर्माण कार्य पनि अहिलेसम्म अधुरै छ । उक्त निर्माण कार्यको ठेक्का गहिल सन्स कम्पनी प्रालि राजविराज ५ का नाममा स्विकृत भएको हो । ४७ लाख ८८ हजार १ सय २५ रुपैया लागत अनुमान रहेको सो कार्य २८ लाख २६ हजार ५ सय ४६ रुपैयामा ठेक्का सदर भएको कार्यालयले जनाएको छ । डिभिजन कार्यालय सप्तरीले नै ठेक्का लगायतको सिरहा गोलवजार स्थित हेल्पोष्टको प्रसुति कोठा निर्माण कार्य २०६६ चैत मसान्तसम्म सम्पन्न हुनुपर्नेमा अझै काम पुरा नभएको डिभिजन कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन् । उनका अनुसार अमित निर्माण सेवा पडरिया १ सिरहाका नाममा उक्त कामको ठेक्का स्विकृत भएको थियो । यस्तै सिरहाकै औरही प्राथमिक स्वास्थ्य केन्द्र भवन, सन्हैठा स्वास्थ्य चौकी भवन, सिरहा अस्पतालको ४ परीवार डा. आवस भवन निर्माण कार्य समेत म्याद पुरा हुँदा पनि अझै अधुरो रहेको डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप