बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपाली सेनाको ध्यानाकर्षण

सोमबार, ०३ जेठ २०७३, २० : ३३
सोमबार, ०३ जेठ २०७३

काठमाडौँ– नेपाली सेनाले सङ्गठन व्यावसायिक मर्यादा, संस्थागत हित र विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनसायसहित आएका समाचारप्रति आभार व्यक्त गरेको छ ।

सैनिक श्रीमती सङ्घद्वारा आयोजित ‘अमरपक्षी’ सम्बन्धमा जोडेर आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली सेनाले आमन्त्रित व्यक्तिको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरेर अरु सुरक्षा निकायसँग समन्वयमा विमानस्थलको सुरक्षा चासोमा असर नगर्ने गरी त्यहाँ तैनाथ अधिकृतबाट अवलोकन र उपस्थित हुने प्रचलन रहिआएको आज जनाएको छ ।

सैनिक श्रीमती सङ्घद्वारा आयोजना गरिएको ‘अमरपक्षी’ कार्यक्रममा भाग लिन आएका भारतीय कलाकार सोनक्षी सिन्हा र मलाइका अरोरालाई स्वागतका लागि सेनाको उच्च तहको अधिकृत किन भन्ने समाचार प्रकाशित भएपछि त्यस विषयमा टीकाटिप्पणी हुँदै आएको थियो ।

सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज जारी गरिएको ध्यानाकर्षणसम्बन्धी विज्ञप्तिमा भनिएको छ– आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था अनुगमनका लागि जाने सैनिक व्यक्तिले सैनिक पोसाक प्रयोग गर्नु स्वभाविक नै हो ।

भूपू सैनिक, बहालवाल, आश्रित परिवार एवम् दैवी विपद्मा परेको सर्वसाधारणको हितको खातिर टुँडिखेलमा आयोजना गरिएको ‘अमरपक्षी’ मा सहभागी कलाकार, दर्शकको सुविधा, सहजता र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत अरु सुरक्षा निकायको समन्वयमा सेनाले सहयोग प्रदान गरेको स्पष्ट पारेको छ ।

सेनाले भनेको छ– ‘अमरपक्षी’ कार्यक्रममा सहभागी हुन आएका कलाकारको स्वागतका लागि भने सैनिक श्रीमती सङ्घका पदाधिकारी, व्यवस्थापकका प्रतिनिधि नै उपस्थित भएको स्पष्ट पार्न चाहन्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप