बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्मचारीको तलब ५० प्रतिशत वृद्धि गर्न माग

सोमबार, ०३ जेठ २०७३, २० : ४०
सोमबार, ०३ जेठ २०७३

काठमाडौँ– नेपाल निजामती कर्मचारी युनियन सङ्घले बढ्दो महँगी र मुद्रास्फीति समेतका आधारमा सबै कर्मचारीको तलब कम्तीमा ५० प्रतिशत वृद्धि गर्न माग गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्यवृद्धि सूचकाङ्कका आधारमा आव २०७३/०७३ को बजेटमा कर्मचारीको तलबभत्ता लगायत सेवासुविधामा वृद्धि गर्न माग गर्दै सङ्घले आज अर्थमन्त्री समक्ष विभिन्न मागसहितको २५ बुँदे ज्ञापनपत्र बुझाउँदै निजामती ऐन, २०४९ तथा नियमावली, २०५० मा व्यवस्था भए बमोजिम निजामती कर्मचारीको वार्षिक ग्रेड रकम एक दिनको तलब बराबरको रकम कायम गरिनुपर्ने जनाएको छ ।

निजामती कर्मचारीलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको पोसाक भत्ता रु सात हजार ५०० अत्यन्तै न्यून रहेकाले त्यसमा शतप्रतिशत वृद्धि गर्न माग गरिएको छ । सङ्घका सचिवालय प्रमुख जितबहादुर मडैका अनुसार सबै सरकारी निकायमा कार्यरत कर्मचारीलाई निश्चित मापदण्डका आधारमा प्रोत्साहन भत्ता व्यवस्था गरिनुपर्ने, सरकारी आवास सुविधा तथा पारवहन भत्ताको व्यवस्था गरिनुपर्ने, कर्मचारी सञ्चय कोषमा जस्तै नागरिक लगानी कोषमा समेत सरकारका तर्फबाट शतप्रतिशत रकम थपिनुपर्ने माग गरिएको छ ।

त्यसैगरी निजामती कर्मचारी अस्पतालमा कर्मचारीको उपचारका लागि छुट्टै व्यवस्था गरिनुपर्ने, अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई पोसाक भत्ता र दसैँ खर्च दिने व्यवस्था गरिनुपर्ने, राष्ट्र सेवकको लगानीबाट जलविद्युत् आयोजनाको निर्माण गरिनुपर्ने लगायत माग ज्ञापनपत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप