विदेशबाट फर्केर सामुहिक तरकारी खेतीमा
मोरङ - घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए ।
सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि घरखर्चको लागि अब कसैको भर पर्नु परेन । जिल्ला कृषि विकास कार्यालय मोरङले इटहरा–४ मा कृषि क्रान्ति कृषक समूह नै गठन गरेर तरकारी खेतीतर्फ आकर्षित भएका किसानलाई निःशूल्क सौर्य पम्पिङ प्रणाली उपलब्ध गराएको हो ।
समूहमा आवद्ध दुर्गाप्रसादले आफ्नै घर नजिक करेला, लौका, च्याऊ, फर्सी, काँक्रा खेतीलगाएका छन् । विगत एक वर्षयता सब्जीखेती गर्दै आएका दुर्गाप्रसाद अब विदेश जाने कल्पनासमेत गर्न छाडेका छन् । सिँचाइका लागि सौर्य पम्प जडान गरेपछि दुर्गाप्रसाद जस्तै छिमेकी लक्ष्मीप्रसाद घिमिरे, विष्णु भट्टराई, छाँया घिमिरे, तुङ्गप्रसाद आचार्य, केदार घिमिरेलगायतको दैनिकी अहिले सब्जी खेतीमै बित्ने गरेको छ । गाउँको १९ घर परिवारले तरकारी खेती गरेर मासिक ४० देखि ५० हजार रुपयाँसम्म आर्जन गर्न थालेका छन् ।
“पहिले आकासको पानीका भरमा खेती गरिन्थ्यो”, किसान लक्ष्मीप्रसाद घिमिरेले भने, “अहिले समूहका सबैले मौसमी र बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।” पम्पबाट तानेको पानीलाई पाइपमार्फत वितरणको व्यवस्था मिलाइएको बताउँदै उनले अन्य खेतीभन्दा सब्जी खेतीमा कम मेहनत पनि पर्ने गरेका कारण आकर्षित भएको बताए ।
अर्का किसान सिमा घिमिरेको बारीमा अहिले मनग्य करेला र लौँका फलेका छन् । उनले भने “पहिले पहिले विदेशमा रहेका श्रीमान्सँग घरखर्च माग्नुपर्ने बाध्यता थियो तर अहिले सब्जी खेतीबाटै घरखर्च मात्र होईन, छोराछोरीलाई स्कुल पढाउने खर्च पनि उठेको छ”। सब्जी खेती गरेरै घरपरिवार चलाउँदै आएका इटहराका किसानले विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउँदा पनि उत्तिकै आम्दानी हुने बताउँछन् ।
इटहरा किसानले उत्पादन गरेको सब्जी दैनिक उर्लाबारी, पथरीलगायतका शहरसम्म बेच्न लैजाने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण