आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

थाहा पाउनुहोस् , बुढ्यौलीमा देखापर्ने रोग-अल्जाइमर्स

बुधबार, ०५ असोज २०७३, १५ : ३४
बुधबार, ०५ असोज २०७३
अल्जाइमर्सको औषधीय उपचारसँगै बिरामीको हेरचाह र बिरामीलाई सेवा गर्ने परिवारका सदस्य र आफन्तको सहजतासमेत यस रोगको महत्वपूर्ण पक्ष हो । यस रोगको मध्यम तथा अन्तिम अवस्थातिर दैनिक रूपमा बिरामीको सेवा गर्न दिनरात खटिनुपर्छ, जसले गर्दा उनीहरूमा पनि शरीरिक तथा मानसिक थकान बढ्दै जान्छ । त्यसको समयमै निदान नभएमा आफैँमा प्रत्युत्पादक हुनेसमेत खतरा रहन्छ । आज सेप्टेम्बर २१ ‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनालाई ‘वल्र्ड अल्जाइमर्स मन्थ’का रूपमा विविध चेतनामूलक कार्यक्रम गरी मनाउँदै छ । नेपालको सन्दर्भमा भने यो रोगको बारेमा आमनागरिक मात्रै होइन, स्वास्थ्यकर्मीहरूमा पनि चेतना अत्यन्त न्यून छ । जसका कारण स्मरणशक्तिसँग सम्बन्धित यो समस्यालाई मानसिक रोगको रूपमा मात्र बुझिँदै आएको पाइन्छ । अल्जाइमर्स बुढ्यौलीसँगै स्मरणशक्ति तथा मस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो । स्मरणशक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जँचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक छैन । तर पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यो रोगका बिरामी देखापर्ने क्रम बढ्दो छ । अमेरिकी तथ्यांकअनुसार संसारभर मानिसको मृत्युको कारकका रूपमा रहेका प्रमुख १० रोगमध्ये अल्जाइमर्स छैटौँ स्थानमा पर्छ । अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । हरेक तीनजना स्मरणशक्तिसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ । त्यसैगरी, ६५ वर्षमाथिका ५ दशमलव ४ प्रतिशत जनसंख्यामा यो रोग पाइन्छ । अल्जाइमर्स रोग एउटा दीर्घरोग हो, यसले मस्तिष्कमा बिस्तारै क्षय गराउने गर्दछ । जसका कारण बिरामीमा स्मरणशक्तिका साथसाथै सोच्ने क्षमता, समस्या समाधान गर्ने क्षमता र बिस्तारै बोली र भाषामा पनि समस्या आउने गर्छ । बुढ्यौलीसँगै मस्तिष्कका विभिन्न रसायनमध्ये ‘एसिटाइल कोलिन’ भन्ने रसायनको कमीले स्नायुहरूमा हुने क्षतिका कारण यो रोग लाग्ने गर्छ । अल्जाइमर्स रोगको मुख्य जोखिम मानिसको बढ्दो उमेर नै रहेको छ । ६५ वर्षको उमेरपछि यो रोग लाग्नसक्ने जोखिम हरेक पाँच वर्षको अन्तरालमा दुई गुनाले बढ्दै जान्छ । विभिन्न अध्ययनले देखाएअनुसार आनुवंशिकता (जेनेटिक्स)का साथसाथै धुम्रपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटक–पटक लागेका चोटहरूले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्नसक्ने जोखिम बढाइरहेका हुन्छन् । सुरुवाती अवस्थामा यस रोगमा बिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानका नाम बिर्संदै जाने, चिजबिजका नाम बिर्संदै जाने र तत्काल गरेका कामसमेत बिर्सनेलगायतका लक्षण देखिन्छन् । त्यसपछि क्रमिक रूपमा बोली र भाषाको प्रयोगमा असहजता महसुस हुने, पहिले सहज रूपमा गरिआएका काम गर्ने तरिकासमेत भुल्दै जाने (एप्रेक्सिया) हुन्छ । त्यस्तै, योजना बनाउने र निर्णय लिने क्षमतामा कमजोरी देखिने तथा दैनिक जीवनका सबै पक्षमा असहजता र अस्पष्टता बढ्दै जाने हुन्छ । जब रोग बढेर अन्तिम अवस्थामा पुग्छ, तब अल्जाइमर्सका बिरामीले आफन्त र निकटका मानिसहरूलाई समेत बिस्तारै चिन्न सक्दैन । आफ्नो वरिपरिका गतिविधिसँग समेत मतलब नहुने, विभिन्न मानसिक समस्या जस्तै– चिन्ताको रोग (डिप्रेसन), शंकाको रोग (डिल्युजन र हेलुसिनेसन) देखिने, दिसापिसाबबारेको चेतनासमेत हराउ“दै जाने हुन्छ । जसका कारण कपडामै दिसापिसाब छुट्ने समस्या उत्पन्न हुन्छ । साबिकको खाने शैलीमा अस्वाभाविक बदलाव आउने हुन्छ । समय बित्दै जाँदा बिरामीले खाना खाने तरिकासमेत बिर्सने गर्दछन् । जसका कारण बिरामी मात्र नभएर बिरामीको हेरचाह गर्ने निकटका व्यक्ति पनि समस्यामा पर्ने गर्दछन् । सबैभन्दा महत्वपूर्ण र बुझ्नैपर्ने कुरा के छ भने स्मरणशक्ति तथा क्षमतामा ह्रास आउने मस्तिष्कका विभिन्न सर्ने र नसर्ने प्रकृतिका अन्य रोगमा पनि यस्तै लक्षण देखिन सक्छ । त्यसैले यस्तो भएमा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ । अल्जाइमर्स यकिनका साथ पत्ता लगाउन विभिन्न किसिमका परीक्षण विधि अझै अनुसन्धानका क्रममा नै रहेका छन् । बिरामीको रगत र शरीरका अन्य पदार्थमा विभिन्न किसिमका प्रोटिनजन्य रसायनहरूको विश्लेषण गर्ने एमआरआई, स्पेक्टलगायतका विभिन्न प्रविधिको प्रयोगबाट यो रोग निरूपण गर्नका लागि थप अनुसन्धान जारी रहे पनि रोग निरूपणबारे स्पष्ट निर्देशिका बन्न भने अझै सकेको छैन । अल्जाइमर्स रोग पूर्ण रूपमा विकसित भएपछि यसको पूर्ण उपचार सम्भव नहुने हुँदा सुरुवातकै अवस्थामा यसको निरूपण गर्न सकेमा केही औषधिको सहायताले यस रोगको विकासको गतिलाई केही मात्रामा कम गर्न सकिने तथ्य अनुसन्धानहरूले देखाएका छन् । यसका साथसाथै बिरामीको जीवनयापन सहज बनाउने उद्देश्यले यो रोगसँगै देखिने अन्य समस्यालाई लक्षित गरी विभिन्न औषधिको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप