शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बच्चैदेखि सिकाउनुहोस् पैसा जोगाउने यी तरिका

बिहीबार, १६ मङ्सिर २०७३, १४ : ५९
बिहीबार, १६ मङ्सिर २०७३

हिमलाल पौडेल प्रवक्ता, कृषि विकास बैंक

घरमा साना केटाकेटी छन् ? घरमा आउने पाहुना, कुनै विशेष चाड या परिस्थितिमा उनीहरूको हातमा पैसा परिरहेको हुन्छ । त्यो पैसा बच्चाले खर्च गर्छ या तपाईं नै मासिदिनुहुन्छ ? यो दुवैभन्दा फरक बाटो रोज्नुहोस् । सानो उमेरको बच्चा हो भने खुत्रुकेमा पैसा जम्मा गर्ने गराउनुहोस् ।

बजारमा खेलौनाजस्ता देखिने खुत्रुके पाइन्छन् । बच्चालाई उसको नाममा जम्मा भएको पैसा त्यही खुत्रुकेमा जम्मा गर्ने बानी बसाल्नुहोस् ।

केटाकेटीमा पैसा पाएपछि खर्च गरिहाल्ने बानी विकास गराउँदा पैसाप्रतिको महत्व बुझ्नै पाउँदैनन् । हातमा पैसा परेपछि खर्च गरिहाल्ने बानीको विकास हुन्छ । र, केही ठूलो भएपछि उनीहरूले पैसाको दुरुपयोग गर्न सक्छन् ।

उनीहरूको नामको पैसा अभिभावकले खर्च गरिदिँदा पनि मानसिक समस्या पैदा हुन सक्छ ।

अभिभावकले पैसा मासिदिएपछि उनीहरूमा पनि पैसा मास्ने नै चिज रहेछ भन्ने पर्न जान्छ । त्यसैले सानैदेखि खुत्रुकेमा जम्मा गरिदिएर पैसाको महत्व सिकाउनुपर्छ ।

वेला–वेला खुत्रुके खोलेर उनीहरूलाई पैसा देखाइदिँदा अझ प्रफुल्लित हुन्छन् ।

पैसा जोगाउने तथा पैसाको महत्व बुझाउने पाठ सिकाउँदा बच्चाको जम्मा भएको पैसामा वेला–वेला केही पैसा थपिदिने पनि गर्नुपर्छ । ‘तिम्रो पैसा यति भएपछि, हामी यति थपेर धेरै बनाइदिन्छौँ’ भन्दै बचतप्रति उत्साहित बनाउनुपर्छ ।

बच्चा केही ठूलो भएपछि उसको नाममा बैंक खाता खोलेर पैसा जम्मा गरिदिन सकिन्छ । केही रकम जम्मा भएपछि बिमा गराइदिन सकिन्छ ।

पैसाको मूल्य केही बुझ्ने भएपछि उनीहरूलाई बचत गर्दा भोलि हुने फाइदाबारे जानकारी दिनुपर्छ ।

भोलिका दिनमा पढ्न तथा अगाडि बढ्न पैसाले खेल्ने भूमिकाबारे दर्शाउनुपर्छ । यसो गर्दा उनीहरूले कुनै पनि मोडमा पैसाको दुरुपयोग गर्ने सम्भावना कम हुन्छ ।

पैसा बचत गर्ने बानीले केटाकेटीमा स्वभावतः पैसाप्रति सकारात्मक धारणा तय हुन्छ । पैसा थप जम्मा हुँदै जाँदा उनीहरूलाई पैसा जथाभावी मास्न हुँदैन भन्ने ज्ञान पैदा हुन्छ ।

पैसा दुरुपयोग गरेर विभिन्न कुलतमा फस्ने सम्भावना पैसाको महत्व बुझ्ने केटाकेटीमा कमै हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप